भोटेकोशी बाढी : विपत्तिको घाउ, मानवीय संवेदना र पुनर्निर्माणको आशा
राजकुमार श्रेष्ठ 'फुच्चे'

प्रकृति मानव जीवनको आधार हो । यसले हामीलाई जीवन, सुन्दरता र समृद्धिको अवसर प्रदान गरेको छ । तर कहिलेकाहीँ प्रकृतिले रौद्र रूप धारण गर्दा मानव सभ्यताले कल्पनै नगरेको विनाशको सामना गर्नुपर्छ । यस्तै पीडादायी प्राकृतिक विपत्तिको साक्षी बन्न पुग्यो २०८३ साल भदौ १० गतेको रसुवा–भोटेकोशी बाढी ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो विनाश निम्त्यायो। नदीको उर्लंदो भेलले घर, सडक, पुल, बजार, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनालाई तहसनहस बनायो। बाढीको प्रभाव रसुवामा मात्र सीमित रहेन, नुवाकोट र धादिङलगायतका तल्लो तटीय क्षेत्रमा समेत फैलियो। केही क्षणमै वर्षौको मेहनतले निर्माण भएका संरचना ध्वस्त भए भने धेरै परिवारको जीवनबाट खुसी, सुरक्षा र सहजताको अनुभूति खोसियो ।
बाढीले भौतिक संरचना मात्र बगाएन, कैयौँ परिवारका सपना, सम्भावना र भविष्यका योजनासमेत उजाड बनायो । कसैले घर गुमाए, कसैले व्यवसाय र रोजगारी त कसैले आफ्ना प्रियजन । हिजोसम्म हाँसो र चहलपहलले भरिएका बस्तीमा आज पीडा, अनिश्चितता र अभावका कथा सुनिन थालेका छन् । बाढीले छाडेको भग्नावशेषभन्दा पनि पीडितको मनमा परेको चोट अझ गहिरो छ ।
विशेषगरी विपत्तिका बेला बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा कमजोर परिवार बढी प्रभावित हुन्छन् । घरबारविहीन बनेका परिवारका लागि सुरक्षित आवास, खाद्यान्न, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षालाई निरन्तरता दिनु ठूलो चुनौती बनेको छ । प्राकृतिक विपत्तिपछि देखिने यस्ता समस्याले विपद् तत्कालीन संकट मात्र नभई लामो समयसम्म समाजलाई प्रभावित पार्ने सामाजिक तथा आर्थिक चुनौती पनि हो भन्ने स्पष्ट पार्छन् ।
यद्यपि विपत्तिको अँध्यारोबीच पनि आशाका दीपहरू बलिरहेका हुन्छन् । संकटका बेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, सामाजिक संस्था र सर्वसाधारणले देखाएको सहयोग, साहस र मानवीय सेवाभाव प्रशंसनीय छ । कसैले उद्धारमा साथ दिए, कसैले राहत सामग्री जुटाए, कसैले आर्थिक सहयोग गरे त कसैले पीडितको मनोबल बढाए । यस्ता सहयोगी हातहरूले नेपाली समाजको एकता, सहकार्य र मानवीय संवेदनालाई पुनः प्रमाणित गरेका छन् ।
तर उद्धार र राहत वितरणले मात्र विपत्तिको घाउ निको हुँदैन । प्रभावित परिवारको दीर्घकालीन पुनस्र्थापना उत्तिकै आवश्यक छ । घर गुमाएकाहरूलाई सुरक्षित आवास, रोजगारी गुमाएकाहरूलाई जीविकोपार्जनका अवसर, क्षतिग्रस्त विद्यालयहरूको पुनः सञ्चालन तथा भत्किएका सडक र पुलको दिगो पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्छ । राहत वितरण गर्दा पारदर्शिता र निष्पक्षता कायम गर्दै वास्तविक पीडितको पहिचान सुनिश्चित गरिनुपर्छ ।
यस विपत्तिले हामीलाई विकासको अवधारणाबारे पनि गम्भीर भएर सोच्न बाध्य बनाएको छ । विकास भनेको सडक, पुल, भवन र ठूला आयोजना निर्माण गर्नु मात्र होइन, ती संरचनालाई प्राकृतिक जोखिमको सामना गर्न सक्ने गरी सुरक्षित बनाउनु पनि हो । नदी किनारमा अव्यवस्थित बस्ती विस्तार, वातावरणीय सन्तुलनको बेवास्ता र जोखिमको पर्याप्त मूल्याङ्कन नगरी गरिने निर्माणले विपत्तिको असर अझ गम्भीर बनाउन सक्छ। त्यसैले वैज्ञानिक अध्ययन, वातावरण संरक्षण, पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन, जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण तथा समुदायस्तरमा विपद् तयारीलाई प्राथमिकता दिन आवश्यक छ ।
सरकारले विपद्पछिको पुनर्निर्माणलाई भौतिक संरचनाको निर्माणमा मात्र सीमित गर्नु हुँदैन । प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, रोजगारी, मनोसामाजिक सहयोग र सामाजिक सुरक्षाका कार्यक्रमसमेत समेटिनुपर्छ । स्थानीय समुदायको आवश्यकता र सहभागितालाई केन्द्रमा राखेर पुनर्निर्माणका योजना बनाउनुपर्छ । आज प्रदान गरिने सहयोग भोलिको आत्मनिर्भरता निर्माण गर्ने आधार बन्न सक्नुपर्छ ।
अन्ततः रसुवा–भोटेकोशी बाढी एउटा जिल्लाको मात्र पीडा होइन, यो सम्पूर्ण राष्ट्रको साझा दुःख र जिम्मेवारी हो। विपत्तिले भौगोलिक सीमा चिन्दैन भने सहयोग र मानवीय संवेदनाका पनि सीमा हुनु हुँदैन। पीडितको आँसु पुछ्नु, उनीहरूलाई सम्मानपूर्वक बाँच्ने आधार तयार गर्नु र भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्नु हामी सबैको साझा दायित्व हो ।
आज भोटेकोशी किनारमा भग्नावशेष बाँकी होलान्, कतिपय बस्तीमा अझै सन्नाटा छाएको होला र कतिपय परिवारले आफ्ना प्रियजनको अभाव महसुस गरिरहेका होलान्। तर हामीले आशा गुमाउनु हुँदैन । भत्किएका संरचना पुनः निर्माण गर्न सकिन्छ, उजाडिएका बस्तीमा फेरि जीवन फर्काउन सकिन्छ र रोकिएका सपनालाई नयाँ गति दिन सकिन्छ । त्यसका लागि राज्यको प्रभावकारी पहल, समुदायको सक्रिय सहभागिता र सबैको साझा प्रतिबद्धता आवश्यक छ ।
बाढीले बगाएका घर फेरि बनाउन सकिएला, उजाडिएका बस्तीमा पुनः चहलपहल फर्काउन सकिएला, तर गुमेका अमूल्य जीवन कहिल्यै फर्काउन सकिँदैन। त्यसैले विपत्तिप्रति संवेदनशील बनौँ, प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम गरौँ र प्रभावित परिवारको पुनस्र्थापनामा हातेमालो गरौँ । विपत्तिले छाडेको पीडालाई साझा जिम्मेवारीमा बदल्दै सुरक्षित भविष्य निर्माण गर्नु आजको आवश्यकता हो। किनकि विपत्तिका बेला प्रकट हुने हाम्रो एकता, सहयोग र मानवीय संवेदना नै मानवताको वास्तविक पहिचान हो ।
मध्यनेपाल–३, सूर्यपाल, लमजुङ (हाल : श्री सर्वोदय माध्यमिक विद्यालय, दुराडाँडा, लमजुङ)










