ज्येष्ठ वामपन्थीहरूको पुनर्मिलन : सम्झना, संघर्ष र एकताको सन्देश

विश्वबन्धु भण्डारी

लामो समयको अन्तरालपछि २०८३ कात्तिक ८ गते म परिवारका सदस्यसहित तनहुँको भिमादस्थित बाघटार घरबाट काठमाडौँका लागि प्रस्थान गरेँ । साथमा छोरी सुनिता, नातिनी कृतिशा र नाति कृषल लम्साल थिए । यात्राका क्रममा मनमा अनेकौँ कुरा खेलिरहेका थिए । तर मुग्लिनदेखि धादिङको गल्छीसम्म त्रिशूली नदीको किनारमा देखिएको दृश्यले भने मनलाई निकै भावुक बनायो ।
सामाजिक सञ्जालमा मोबाइलमार्फत देखेको २०८३ भदौ १० गतेको भोटेकोशी बाढीले निम्त्याएको विनाशको झल्को त्रिशूली नदीको किनारमा पनि स्पष्ट देख्न सकिन्थ्यो। बाढीले नदीको बहाव क्षेत्रमा छाडेका बालुवा र ढुङ्गाका थुप्रा, कटानका डोब तथा उजाड बनेका किनारले प्राकृतिक विपत्तिको भयावह स्वरूप सम्झाइरहेका थिए । बाढी आएको झन्डै दुई महिना बितिसकेको थियो । नदीको सतह निकै तल झरिसकेको भए पनि त्यसले छाडेका विनाशका चिह्न मेटिएका थिएनन्। प्रकृतिको एउटा प्रकोपले कति ठूलो क्षति पु¥याउन सक्छ भन्ने कुरा यात्राका क्रममा देखिएका दृश्यले फेरि अनुभूत गराए ।
काठमाडौँ पुगिसकेपछि अर्को चिन्ता पनि मनमा थियो । सञ्चारमाध्यममा व्यापक चर्चा भइरहेको कात्तिक ११ गतेदेखि तीन दिनसम्म हुने भनिएको आँधी, तुफान र मुसलधारे वर्षाको सम्भावित जोखिमले मानिसहरूमा सन्त्रास फैलाएको थियो । यही परिवेशबीच कात्तिक ९ गतेदेखि मैले पुराना सहपाठी र राजनीतिक सहयात्रीहरूसँग टेलिफोन सम्पर्क गर्न थालेँ ।
सम्पर्कको सुरुआत गोपीरमण उपाध्यायबाट भयो । त्यसपछि रामबहादुर भण्डारी (आर.बी.) लगायत पुराना साथीहरूसँग कुराकानी भयो । लामो समयपछि सम्पर्क हुँदा सबैमा भेट्ने तीव्र इच्छा देखिनु स्वाभाविक थियो। गाउँफर्कोदय माध्यमिक विद्यालय, ढोरफिर्दीका तत्कालीन प्रधानाध्यापक तथा वामपन्थी आन्दोलनका गुरु एम.एस. थापा, त्यही विद्यालयमा सँगै अध्ययन गरेका सहपाठी ज्ञानप्रसाद भट्टराई तथा वामपन्थी आन्दोलनका सहयात्री वाचस्पति देवकोटा र शरणविक्रम मल्ललगायतसँग पनि सम्पर्क भयो। सबैको एउटै आग्रह थियो– पुराना साथीहरू एकै ठाउँमा बसेर भेटौँ, विगतका दिन सम्झौँ र आपसी सम्बन्धलाई पुनः ताजा बनाऔँ ।
काठमाडौँको व्यस्त र कोलाहलपूर्ण सहरमा साथीहरूको बसोबास फरकफरक ठाउँमा थियो । यहाँका सडकहरू पनि जेरीझैँ घुमेका र फेदटुप्पो छुट्याउन कठिन हुने खालका छन्। एउटा कुनाबाट अर्को कुनामा पुग्नुपर्ने, साथीहरूको घर र आवतजावतको व्यवस्थापन मिलाउनुपर्ने। यस्तो अवस्थामा सामूहिक भेटघाट कसरी सम्भव होला भन्ने द्विविधा मनमा थियो। तर सबै साथीहरूको उत्साह र सहमतिले त्यो अन्योल हट्दै गयो ।
दुई वर्षअघि पोखरामा आयोजित भेटघाटका संयोजक कृष्ण आचार्य, झलक सुवेदीलगायत मित्रहरूसँग पनि परामर्श भयो । सबैको सामूहिक सहमतिमा काठमाडौँमा ज्येष्ठ वामपन्थी साथीहरूको भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरियो । अन्ततः २०८३ कात्तिक १५ गते काठमाडौँको भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसको सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भयो ।
यो भेटघाट सामान्य जमघट मात्र थिएन । साविक गण्डकी अञ्चलका विभिन्न जिल्लामा स्थायी बसोबास भएका र हाल काठमाडौँमा उपलब्ध ज्येष्ठ वामपन्थी मित्रहरूबीच लामो समयपछि भएको आत्मीय पुनर्मिलन थियो । विशेषगरी ७० वर्षभन्दा माथिका उमेर समूहका साथीहरूको उल्लेख्य सहभागिता रहेको यस भेलामा विगतमा आ–आफ्नो ठाउँबाट कम्युनिस्ट आन्दोलनलाई नेतृत्व र योगदान गरेका स्थापित व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो ।
भेलामा सहभागी साथीहरूले पुराना दिनका अनुभव, राजनीतिक संघर्ष, संगठन निर्माण र सामाजिक परिवर्तनका प्रसङ्गहरू स्मरण गरे । सबैको अनुहारमा लामो समयपछि भेट्न पाएको खुसी झल्किन्थ्यो। कतिपय साथीहरू वर्षौपछि आमनेसामने भएका थिए। पुराना सम्झना र आत्मीयताले सभाकक्षको वातावरण नै भावनात्मक बनेको थियो ।
भेलामा सहभागी अधिकांश साथीहरूले कम्युनिस्ट आन्दोलनप्रति आफ्नो आस्था र विश्वास व्यक्त गरे । गरिबी, विभेद र पछौटेपन अन्त्यका लागि विद्यमान वर्गीय समाजमा कम्युनिस्ट आन्दोलनको औचित्य अझै कायम रहेको धारणा उनीहरूको थियो । वामपन्थी नामका विभिन्न समूह तथा उपसमूहमा आबद्ध र स्वतन्त्र रूपमा रहेका साथीहरूबीच पनि साझा अभियानको आवश्यकता रहेको विषयमा समान धारणा देखियो । सबै वामपन्थी शक्ति र विचार राख्नेहरू आपसी मतभेदभन्दा माथि उठेर साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने निष्कर्षमा सहभागीहरू पुगेका थिए ।
भेलामा सहभागी साथीहरूमध्ये वाचस्पति देवकोटा (८३ वर्ष, गोरखा), ऋषि कट्टेल (७६, गोरखा), सोमनाथ घिमिरे (७७, लमजुङ), ठाकुर शर्मा (६९, स्याङ्जा), रवि खनाल (६८, तनहुँ), तारानाथ सुवेदी (८३, कास्की), ज्ञानप्रसाद भट्टराई (७२, तनहुँ), झलक सुवेदी (६५, कास्की), पवित्रा थैव (६४, स्याङ्जा), अम्बिकाप्रसाद थैव (७५, स्याङ्जा), अशोकसिंह पाण्डे (७०, स्याङ्जा), पुण्यप्रसाद पाण्डे (६८, पर्वत), सीताराम उपाध्याय (७३, पर्वत), भोजराज ओझा (७४, तनहुँ), किरण भण्डारी (६४, तनहुँ), देवबहादुर पौडेल क्षेत्री (७३, पर्वत), शरणविक्रम मल्ल (७४, पर्वत), मोहनबहादुर केसी (८०, स्याङ्जा), गोपीरमण उपाध्याय (८१, स्याङ्जा), खेमनारायण ढुङ्गाना (७८, स्याङ्जा), विश्वबन्धु भण्डारी (७८, तनहुँ), खड्कबहादुर गुरुङ (८८, पर्वत), एम.एस. थापा (८४, स्याङ्जा), डा. देवीप्रसाद सुवेदी (८१, लमजुङ), ईश्वरीप्रसाद न्यौपाने (७६, लमजुङ), डी.बी. कार्की (६४, लमजुङ), शान्तिदेवी खनाल (तनहुँ), ऋषिराम खनाल (गोरखा), अर्जुन कार्की (काठमाडौँ), राजु खनाल (तनहुँ) र घनश्याम सिग्देल (काठमाडौँ) लगायत ३५ जनाभन्दा बढीको सहभागिता थियो ।
दुई वर्षअघि पोखरामा भएको भेलाका संयोजक कृष्ण आचार्य स्वास्थ्य समस्याका कारण यसपटक सहभागी हुन सक्नुभएन। त्यसैगरी राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँबाहिर रहनुभएको तथा पूर्वमन्त्री एवं उद्योग व्यवसायी हरि पाण्डे र पूर्वशिक्षामन्त्री विद्या भट्टराईलगायतलाई निमन्त्रणा गरिए पनि व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन । लेखनाथका पूर्वनगरप्रमुख शालिग्राम पौडेल, शेषमणि आचार्यलगायत साथीहरूले टेलिफोनमार्फत सहभागी जुटाउन सहयोग गर्नुभएको थियो । स्वास्थ्य समस्याका कारण उहाँहरू पनि कार्यक्रममा सहभागी हुन सक्नुभएन । त्यस्तै, धनञ्जय खनालले कार्यक्रमको ब्यानरलगायत तयारीमा सहयोग गर्नुभएको भए पनि कार्यव्यस्तताका कारण समयमा उपस्थित हुन सक्नुभएन ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबै साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। विशेषगरी लामो समयपछि पनि पुरानो सम्बन्ध, मित्रता र वैचारिक आत्मीयतालाई जीवित राख्दै कार्यक्रममा सहभागी हुनुभएका सबै मित्रहरूको उपस्थितिले यो भेटघाट अविस्मरणीय बनेको छ ।
समयको अन्तरालसँगै उमेर बढ्दै जान्छ, जिम्मेवारी र स्वास्थ्यका कारण भेटघाटका अवसर पनि कम हुँदै जान्छन्। तर पुराना सहपाठी, राजनीतिक सहयात्री र संघर्षका साथीहरूसँगको सम्बन्ध समयले मेटाउन सक्दैन । जीवनका उत्तरार्धमा यस्ता भेटघाटले विगतका सम्झना ताजा बनाउनुका साथै आपसी सद्भाव, आत्मीयता र वैचारिक सम्बन्धलाई पुनर्जीवित गर्छन्। यसपटकको भेटघाटले पनि हामीबीचको सम्बन्ध अझ प्रगाढ बनाएको अनुभूति भएको छ ।
समयले साथ दिएमा साथीहरूकै सहमति र सल्लाहमा यस्ता भेटघाट तथा पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिने प्रयास हुनेछ। हामीबीचको आत्मीयता, मित्रता र साझा वैचारिक यात्रालाई जीवन्त राख्न यस्ता अवसर फेरि जुट्नेछन् भन्ने विश्वास लिएको छु ।
   भिमाद, तनहुँ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker