रामज्योति कपको उपाधि सत्यवतीलाई

दमौली : रामज्योति बोर्डिङ स्कुलद्वारा आयोजित तेस्रो रामज्योति कप फुटबल प्रतियोगिताको उपाधि सत्यवती विद्यालयले जितेको छ । फाइनलमा राधा माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै सत्यवतीले उपाधि उचालेको हो । १६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा फाइनल पुगेका दुवै टोलीबीचको प्रतिस्पर्धामा सत्यवतीले सुरुदेखि नै प्रभावशाली खेल प्रदर्शन गरेको थियो। तीन गोल गरेको सत्यवतीले राधा माविलाई गोल गर्नबाट रोक्दै सहज जित निकालेको हो ।
उपाधिसँगै सत्यवती विद्यालयले नगद ५२ हजार ८३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता राधा माध्यमिक विद्यालयले नगद २६ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सत्यवती विद्यालयका सोनम थापा उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, राधा माध्यमिक विद्यालयका सुमन परियार उत्कृष्ट गोलरक्षक र सत्यवतीका रसिक श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भए ।
पुरस्कार वितरण एनप्याब्सन तनहुँका अध्यक्ष विशेश्वर खनाल र रामज्योति बोर्डिङ स्कुलका अध्यक्ष बसुन्धरा घर्तीले गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा एनप्याब्सन तनहुँका अध्यक्ष खनालले विद्यालयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र खेलकुदप्रतिको रुचि अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उनको भनाइ थियो ।
विद्यालयका अध्यक्ष घर्तीले विद्यार्थीको खेलकुद प्रतिभा उजागर गर्ने र विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रामज्योति कपलाई निरन्तरता दिइएको बताइन् । पढाइसँगै खेलकुदमा पनि विद्यार्थीलाई सक्रिय बनाउन प्रतियोगिताले सहयोग पु¥याउने उनको भनाइ थियो ।










