चार वर्षमै नमुना अस्पताल बन्दै आँबुखैरेनी अस्पताल

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले सञ्चालनको चार वर्ष पूरा गरेको छ । छोटो अवधिमै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पतालले स्थानीय तहमै गुणस्तरीय उपचार उपलब्ध गराउने नमुना स्वास्थ्य संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ ।
अस्पतालबाट हाल इमर्जेन्सी, बहिरङ्ग (ओपीडी), वार्ड, डेन्टल, डायलाइसिस, शल्यक्रिया, प्रयोगशाला, फिजियोथेरापी, भिडियो एक्स–रे, फार्मेसी तथा रक्तसञ्चारलगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
स्थानीय तहमै यति धेरै स्वास्थ्य सुविधा उपलब्ध गराउन सकिन्छ भन्ने उदाहरण अस्पतालले प्रस्तुत गरेको छ । सेवा विस्तारसँगै सामान्य उपचारदेखि विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने स्थानीयवासीको बाध्यता पनि कम हुँदै गएको अस्पतालले जनाएको छ ।
अस्पतालको स्थापना, विकास र सेवा विस्तारमा गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित सम्पूर्ण जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ । अस्पतालले स्थापनादेखि हालसम्मको यात्रामा सहयोग गर्ने विभिन्न संघसंस्था, सहयोगी हात तथा समन्वयकर्ताप्रति आभार व्यक्त गरेको छ ।
चार वर्षको अवधिमा प्राप्त उपलब्धिलाई थप सुदृढ गर्दै आगामी दिनमा स्वास्थ्य सेवा विस्तार गर्ने अस्पतालको लक्ष्य छ । नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै अस्पतालको सेवा प्रभावकारिता बढाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको अस्पतालले जनाएको छ ।










