हरिबोधिनी एकादशी
सनातन हिन्दू धर्म र संस्कृतिमा प्रकृतिलाई देवत्वसँग जोडेर सम्मान गर्ने परम्परा निकै पुरानो छ । नदी, वन, पहाड, वृक्ष र वनस्पतिलाई केवल प्राकृतिक स्रोतका रूपमा मात्र नभई जीवनका आधार र आस्थाका प्रतीकका रूपमा स्वीकार गरिएको छ । यही परम्पराको एउटा सुन्दर उदाहरण हो– तुलसी । धार्मिक आस्था, सांस्कृतिक परम्परा, प्राकृतिक महत्त्व र मानव स्वास्थ्यसँग जोडिएको तुलसी हिन्दू धर्मावलम्बीका घरआँगनमा मात्र सीमित छैन, यो प्रकृति र मानवबीचको गहिरो सम्बन्धको प्रतीक पनि हो । आज हरिबोधिनी एकादशी । वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये विशेष महत्त्व राख्ने यस दिनलाई ठूलो एकादशी पनि भनिन्छ। धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि अर्थात् कार्तिक शुक्ल एकादशीका दिन जागा हुनुहुन्छ । यही विश्वासका आधारमा चतुर्मास समाप्त भई पुनः विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत माङ्गलिक कार्यको सुरुआत हुने मान्यता छ ।
भगवान् विष्णुको आराधना, व्रत, दान र स्नानका साथै तुलसीको विशेष पूजा यस पर्वका प्रमुख धार्मिक पक्ष हुन्। हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज विशेष पूजा गरी विवाह गराउने परम्परा छ । तुलसीलाई भगवान् विष्णुको प्रिय वनस्पति र धार्मिक रूपमा लक्ष्मीस्वरूपा मानिन्छ । तुलसी र पीपलको विवाह गराउने चलनले प्रकृति र संस्कृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ । यस दिन तुलसीको मठ सजाउने, दीप प्रज्वलन गर्ने र विधिपूर्वक पूजा गर्ने चलनले घरपरिवारमा धार्मिक तथा सांस्कृतिक वातावरण निर्माण गर्छ । हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्मपञ्चकका रूपमा मनाउने र यस अवधिमा नारायणको आराधना गर्ने परम्परा पनि छ । हरिबोधिनी एकादशी केवल व्रत र पूजाआजाको पर्व होइन, यो चतुर्मासभरि स्थगित रहेका धार्मिक अनुष्ठानको समापन र नयाँ धार्मिक तथा सामाजिक गतिविधिको सुरुआतको अवसर पनि हो । यस अवसरमा वराहक्षेत्र, बुढानीलकण्ठ र उपत्यकाका चार नारायणलगायत देशका विभिन्न धार्मिक स्थलमा, नदी, तलाउँमा भक्तजनको घुइँचो लाग्छ । कतिपय श्रद्धालुले चार नारायणको परिक्रमा गर्ने र नसक्नेले कम्तीमा एक नारायणको दर्शन गर्ने परम्परा पालना गर्छन् । सक्खरखण्ड, पिँडालु तथा मौसमी फलफूल भगवान्लाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने चलनले स्थानीय उत्पादन र मौसमी खानपानको महत्त्वसमेत सम्झाउँछ ।
यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष तुलसी हो । तुलसीलाई धार्मिक दृष्टिले पवित्र वनस्पति मानिए पनि यसको उपयोगिता आस्थामा मात्र सीमित छैन । आयुर्वेदमा तुलसीका पात, फूल, बीउ र जराको विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको छ। तुलसीमा पाइने प्राकृतिक तत्त्वका कारण यसलाई परम्परागत उपचार पद्धतिमा रुघाखोकी, पाचन समस्या तथा सामान्य स्वास्थ्य समस्यामा उपयोगी वनस्पतिका रूपमा लिइन्छ । आधुनिक अध्ययनहरूले पनि तुलसीमा केही औषधीय तथा प्रतिअक्सिडेन्ट गुण रहेको देखाएका छन् । यद्यपि तुलसीलाई सबै रोगको उपचार वा चिकित्सकीय औषधिको विकल्पका रूपमा बुझ्नु उचित हुँदैन । यसको औषधीय प्रयोग गर्दा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । तुलसीको महत्त्व स्वास्थ्यसँगै वातावरणीय पक्षमा पनि जोडिएको छ । घरआँगनमा तुलसी रोप्ने परम्पराले हरियाली संरक्षण, वनस्पतिप्रतिको सम्मान र घरवरपरको जैविक विविधता कायम राख्न प्रेरित गर्छ । वनस्पतिले वातावरणीय सन्तुलन, कीरा तथा चराचुरुङ्गीको वासस्थान र प्राकृतिक प्रणालीलाई सहयोग पु¥याउँछन्। त्यसैले तुलसी रोप्नु र संरक्षण गर्नु धार्मिक कर्म मात्र नभई प्रकृतिप्रतिको जिम्मेवारी पनि हो ।
हाम्रो परम्पराले तुलसीलाई घरमा रोप्ने, नियमित जल अर्पण गर्ने, पूजा गर्ने र धार्मिक अनुष्ठानमा प्रयोग गर्ने अभ्यास स्थापित गरेको छ । यसले नयाँ पुस्तालाई वनस्पति चिनाउने, त्यसको संरक्षण गर्न सिकाउने र प्रकृतिसँग नजिक बनाउने अवसर प्रदान गर्छ । तर पछिल्लो समय आधुनिक जीवनशैली र सहरीकरणका कारण घरआँगनमा तुलसी रोप्ने तथा परम्परागत संस्कारलाई निरन्तरता दिने चलन केही कमजोर हुँदै गएको छ । धार्मिक पर्वमा पूजा गर्ने तर दैनिक जीवनमा प्रकृति संरक्षणप्रति बेवास्ता गर्ने प्रवृत्तिले हाम्रो परम्पराको मूल मर्मलाई नै कमजोर बनाउँछ । धर्म र विज्ञानलाई परस्पर विरोधी ठान्नु आवश्यक छैन । धार्मिक आस्थाले तुलसीलाई संरक्षण गर्न प्रेरित गरेको छ भने यसको प्राकृतिक र औषधीय उपयोगिताले त्यसको महत्त्वलाई थप पुष्टि गरेको छ ।
हाम्रा पुर्खाले प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई धार्मिक संस्कारमार्फत पुस्तान्तरण गरेका थिए। त्यसको संरक्षण गर्नु आजको पुस्ताको दायित्व हो। हरिबोधिनी एकादशीले भगवान् विष्णुको जागरण र चतुर्मासको समाप्तिको धार्मिक सन्देश दिन्छ । यससँगै तुलसीको पूजा र संरक्षणमार्फत प्रकृतिप्रतिको सम्मान गर्ने प्रेरणा पनि दिन्छ । पर्वलाई कर्मकाण्डमा मात्र सीमित नराखी यसको सांस्कृतिक, प्राकृतिक र जीवनोपयोगी पक्षलाई आत्मसात् गर्न सके यसको सार्थकता बढ्नेछ । तुलसीको मठमा दीप बाल्नुका साथै घरआँगन, वनजङ्गल र जलस्रोतको संरक्षणमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । आखिर प्रकृतिको संरक्षण नै जीवनको संरक्षण हो । आस्थाले तुलसीलाई देवत्व दिएको छ, यसको उपयोगिताले जीवनसँग जोडेको छ । त्यसैले तुलसीको पूजा गर्ने संस्कारसँगै प्रकृतिलाई जोगाउने संस्कार पनि हाम्रो जीवनको अभिन्न हिस्सा बन्नुपर्छ ।










