भानुका प्रधानाध्यापकहरुको बैठक, शैक्षिक गुणस्तर सुधारमा जोड

भानु : तनहुँको भानु नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठक विभिन्न शैक्षिक विषयमा छलफल गर्दै सोमबार सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको बैठकमा विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेशागत क्षमता विकास, विद्यालय व्यवस्थापन तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका विषयमा छलफल गरिएको शिक्षा अधिकारी सरस्वती गुरुङले जानकारी गराइन् ।
बैठकमा नगर उपप्रमुख उमा गोतामेले नगरपालिकाको समग्र शैक्षिक विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा शिक्षक तथा विद्यालयको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकको सक्रियता, विद्यालयको प्रभावकारी व्यवस्थापन, जिम्मेवारीबोध र सरोकारवाला पक्षबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।
बैठकमा विद्यालयहरूमा अभ्यास भइरहेका असल अभ्यास तथा अनुभव आदानप्रदान गरिएको थियो। यसैगरी दोस्रो त्रैमासिक परीक्षाको सञ्चालन तथा तालिका निर्धारण, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी र व्यवस्थापन तथा निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।
शिक्षक पेशागत सहयोग कार्यविधि, २०८३ को प्रभावकारी कार्यान्वयन तथा शिक्षकहरूको पेशागत क्षमता विकासका विषयले पनि बैठकमा प्राथमिकता पाएको थियो । विद्यालयमा शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षकलाई आवश्यक पेशागत सहयोग र अवसर उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो ।
त्यस्तै, नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ र त्यससँग सम्बन्धित पाठ्यपुस्तकलाई समयसापेक्ष, व्यावहारिक र प्रभावकारी बनाउन आवश्यक परिमार्जनका लागि प्रधानाध्यापकहरूसँग रचनात्मक सुझाव माग गरिएको थियो ।
बैठकले विद्यालयबीच असल अभ्यासको आदानप्रदान, शैक्षिक गतिविधिमा समन्वय, शिक्षकको क्षमता विकास र स्थानीय पाठ्यक्रमको सान्दर्भिकता अभिवृद्धिमार्फत विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्य लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker