देवघाटधाम–गण्डकी परिक्रमा महोत्सव, धार्मिक सम्पदाको प्रचार र पर्यटन प्रवर्द्धनमा जोड

देवघाट : तनहुँ, चितवन र नवलपुरका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै धार्मिक पदमार्गमा जोड्ने उद्देश्यसहित आयोजित देवघाटधाम–गण्डकी परिक्रमा महोत्सव गरिएको छ । सोमबार हजारौं श्रद्धालुको सहभागितामा करिब २५ किलोमिटर लामो पैदल परिक्रमा पूरा गर्दै महोत्सव सञ्चालन गरिएको हो ।
देवघाटधाम क्षेत्रको धार्मिक महत्त्व उजागर गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपाल सन्त समाजको आह्वानमा महोत्सव आयोजना गरिएको हो । देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वय तथा स्थानीय सन्तमहात्माहरूको अगुवाइमा भएको परिक्रमाले तीन जिल्लामा रहेका मठमन्दिर, आश्रम, गुम्बा र धार्मिक सम्पदालाई एकै यात्रामा समेटेको थियो ।
कार्तिक शुक्ल वैकुण्ठ चतुर्दशीका अवसरमा सोमबार बिहान ७ बजे त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल बेणीमा गण्डकी पूजन गरी परिक्रमा सुरु गरिएको थियो । तनहुँको देवघाटस्थित सङ्गमबाट सुरु भएको यात्रा तनहुँ, चितवन र नवलपुरका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै पुनः देवघाटस्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर समापन भएको हो ।
महोत्सवका संयोजक तथा महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले देवघाटधामको धार्मिक महिमा र सनातन धर्मसंस्कृतिको प्रचारप्रसारसँगै धार्मिक सम्पदाको संरक्षण तथा विकासमा महोत्सवले योगदान पुर्याउने बताए । उनका अनुसार परिक्रमामा तीनवटै जिल्लाका ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थल समेटिएका थिए ।
परिक्रमाका क्रममा तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम, दुर्गा पाञ्चायन मन्दिर, मणिमुकुन्देश्वर मन्दिर, महेश सन्यास आश्रम, अभय सन्यास आश्रम, हरिहर सन्यास आश्रम, राम मन्दिर र लक्ष्मीनारायण मन्दिरलगायत धार्मिक स्थलको दर्शन गरिएको थियो । देवघाट पुलको मुखमा रहेका गणेश, केदारेश्वर र बदरीनाथ मन्दिरलाई समेत परिक्रमामा समेटिएको थियो ।
चितवनतर्फ संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, बागेश्वरी मन्दिर, गणेशस्थान, बौद्ध गुम्बा तथा नारायणगढका विभिन्न धार्मिक स्थलको परिक्रमा गरिएको थियो ।
त्यसैगरी नवलपुरतर्फ गैँडाकोटस्थित गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, निम्बार्काचार्य दर्शन केन्द्र, लक्ष्मीनृसिंह दिव्यधामलगायत धार्मिक स्थलको दर्शन गरिएको थियो । केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवघाट फर्किएको टोलीले साँढेबगरस्थित बौद्ध गुम्बा र भुवराह मन्दिरको परिक्रमा गरी यात्रा पूरा गरेको थियो ।
महोत्सवमा सन्तमहात्मा, धार्मिक संघसंस्था, आमा समूह, युवा क्लब, विभिन्न जातजाति, सामाजिक संघसंस्था तथा सामुदायिक वनका प्रतिनिधिहरूले ब्यानरसहित सहभागिता जनाएका थिए । धार्मिक आस्था र सामूहिक सहभागिताको माध्यमबाट देवघाट क्षेत्रका धार्मिक सम्पदाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा यसलाई लिइएको आयोजकले जनाएका छन् ।
गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले देवघाटधाम–गण्डकी परिक्रमाको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताए ।
देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले धार्मिक पर्यटन प्रवर्द्धनका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । देवघाटधामको महिमा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको जनाउँदै उनले गण्डकी सङ्गममा स्नान, जप, तप र ध्यान गर्नाले पुण्य प्राप्त हुने तथा यस क्षेत्रमा अन्तिम संस्कार गरिए मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेको बताए। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले परिक्रमा महोत्सवले देवघाटको धार्मिक पहिचान विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तीन जिल्लाका धार्मिक सम्पदालाई समेटेर गरिएको यस परिक्रमाले देवघाटलाई एउटा तीर्थस्थलमा मात्र सीमित नराखी विस्तृत धार्मिक पर्यटन क्षेत्रका रूपमा चिनाउने सम्भावना देखाएको छ। यस्ता कार्यक्रमलाई नियमितता दिँदै परिक्रमा मार्गका मठमन्दिर, आश्रम, गुम्बा, पदमार्ग र आवश्यक पूर्वाधारको विकास गर्न सके धार्मिक आस्थासँगै स्थानीय अर्थतन्त्र र पर्यटन गतिविधि विस्तारमा समेत टेवा पुग्न सक्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker