असार १३ गते जिसस तनहुँको निर्वाचन हुने
भञ्ज्याङ समाचारदाता/दमौली

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य गरिने भएको छ ।
असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ हुने, अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।
यस्तै, असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने, मनोनयपनत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य गरिने भएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० जना मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा माओवादी केन्द्रको चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने देखिएको छ । कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुने भएको छ ।
नेपाली कांग्रेसले पाँच पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुख जितेको छ। नेकपा एमालेले चार पालिकाको प्रमुख र दुइ पालिकाको उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकाको प्रमुख र तीन पालिकाको उपप्रमुख जितेको छ ।










