अबको युग प्रविधिमैत्री बन्न सक्नुपर्छ : उपप्रमुख बिक
भञ्ज्याङ समाचारदाता/दमौली

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले अबको युगको प्रविधमैत्री रहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको दुइ दिने डिजिटल मिडिया सम्बन्धी तालिमको शनिबार समापन गर्दै उपप्रमुख विकले सो कुरा बताएका हुन् ।
शुक्रबार र शनिबार सञ्चालित डिजिटल सम्बन्धी तालिममा बोल्दै उपप्रमुख बिकले सूचना शक्तिशाली अस्त्र भएको र अबको लडाइ प्रविधिको भएको बताए । सूचना र सञ्चारलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए ।
न्यू मिडिया टेनरका बिजय कुमाल र पत्रकार बसन्त कँडेलले सहभागिलाई प्रशिक्षण दिएका थिए । संघका जिल्ला अध्यक्ष एस.बि. नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की, प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि, नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता खनाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यस्तै, राष्ट्रिय दलित पत्रकार संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुलाई सम्मान गरेको छ । नगरपालिकाको उपप्रमुखमा दलित समुदायबाट निर्वाचित बन्नु भएको खुशीयालीमा बिकलाई सम्मान गरिएको हो ।










