सम्पादकीय : सयपत्री फूलमा आत्मनिर्भरता उद्यमशीलताको सम्भावना

दसैँ–तिहार नजिकिएसँगै गाउँघरदेखि सहरबजारसम्म सयपत्री फूलको माग बढ्छ । घरआँगन सजाउन, पूजाआजा गर्न र टीकाको दिन माला लगाउन प्रयोग हुने सयपत्री नेपाली चाडपर्वको अभिन्न हिस्सा हो । तर, चाडपर्वमा आवश्यक पर्ने फूलको ठूलो हिस्सा बाहिरबाट ल्याउनुपर्ने अवस्था अझै पनि छ । यस्तो अवस्थामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका महिलाले सामूहिक रूपमा सुरु गरेको व्यावसायिक सयपत्री खेती आशालाग्दो उदाहरण बनेको छ। यसले स्थानीय उत्पादनको सम्भावना देखाउनुका साथै महिला उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोसमेत खोलेको छ । तीन वर्षअघि सुरु भएको सयपत्री खेती अहिले ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ४५ जना महिला सामूहिक उद्यममा आबद्ध भएर उत्पादन र बिक्रीमा जुटेका छन् । दसैँको चहलपहल बढेसँगै बारीमा फुलेका सयपत्रीले गाउँ पहेँलपुर बनेको छ भने महिलालाई फूल टिप्ने र बजार पुर्याउने चटारो थपिएको छ । अहिले प्रतिकिलो चार सय रुपैयाँसम्म बिक्री हुने फूलले महिलाका लागि आम्दानीको नयाँ आधार तयार गरेको छ । यो उपलब्धि फूलखेतीमा सीमित छैन ।
स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै रोजगारी र आयआर्जन सिर्जना गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ । लामो समयसम्म कृषि क्षेत्रमा महिलाको श्रमलाई परिवारको कामका रूपमा मात्र हेरियो । उत्पादनमा महिलाको ठूलो योगदान भए पनि त्यसको आर्थिक मूल्य र निर्णय प्रक्रियामा उनीहरूको भूमिका सधैँ समान हुन सकेन। तर, सामूहिक उद्यममार्फत उत्पादन गर्ने, बजार खोज्ने र आम्दानी गर्ने अभ्यासले महिलालाई आर्थिक रूपमा सबल बन्न सहयोग पु¥याउँछ । आफ्नो श्रमबाट कमाएको आम्दानीमा पहुँच बढ्दा परिवारको निर्णय प्रक्रियामा समेत उनीहरूको भूमिका बलियो हुन सक्छ । आँधीमूल यानचोकको अनुभवले सामूहिक खेतीको महत्त्व पनि उजागर गरेको छ । व्यक्तिगत रूपमा खेती गर्दा जग्गा, लगानी, श्रम र बजार व्यवस्थापनमा समस्या आउन सक्छ । समूहमा आबद्ध भएर काम गर्दा श्रमको बाँडफाँट, सीपको आदानप्रदान र उत्पादनको व्यवस्थापन सहज हुन्छ। बजारको मागअनुसार उत्पादन गर्न र सामूहिक रूपमा बिक्री गर्न पनि मद्दत पुग्छ। स्थानीय महिलाले यही अभ्यासबाट व्यावसायिक खेतीतर्फ पाइला अघि बढाएका छन्। यसलाई अन्य गाउँका महिला समूहले पनि आफ्नो स्थानीय अवस्था र बजारको सम्भावनाअनुसार अनुकरण गर्न सक्छन् ।
यद्यपि, एउटा मौसममा राम्रो माग आउनु मात्र व्यावसायिक सफलताको आधार होइन। चाडपर्वमा सयपत्रीको माग बढे पनि अन्य समयमा बिक्रीको अवस्था कस्तो हुन्छ भन्ने विषय महत्त्वपूर्ण छ । उत्पादन बढाउने योजनासँगै बजारको स्थायित्व सुनिश्चित गर्न नसकिए किसानले फूल खेर जाने जोखिम बेहोर्नुपर्छ। त्यसैले खेती विस्तार गर्नुअघि बजारको माग, उत्पादन लागत, बिक्री मूल्य र सम्भावित जोखिमको अध्ययन आवश्यक छ । फूलको गुणस्तर कायम राख्ने, टिपाइको उचित समय मिलाउने, सुरक्षित ढुवानी गर्ने र बिक्रीका लागि नियमित सम्पर्क स्थापित गर्ने काममा पनि ध्यान दिनुपर्छ । यसका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । आँबुखैरेनी गाउँपालिकाले कृषि शाखामार्फत महिलालाई प्राविधिक सहयोग, खेती व्यवस्थापनसम्बन्धी तालिम र आवश्यक परामर्श दिनुपर्छ । माटोको अवस्था, रोगकीरा नियन्त्रण, मलखादको उचित प्रयोग तथा उत्पादनको गुणस्तर सुधारमा सहयोग गर्न सके खेतीको उत्पादकत्व बढाउन सकिन्छ। त्यस्तै, बजारसँग किसानलाई जोड्ने, फूल व्यवसायी तथा स्थानीय व्यापारीसँग समन्वय गराउने र आवश्यकताअनुसार सिँचाइ तथा भण्डारणजस्ता पूर्वाधारमा सहयोग गर्ने व्यवस्था मिलाउनुपर्छ। अनुदान वितरणमा मात्र सीमित नभई उत्पादनदेखि बिक्रीसम्म किसानलाई साथ दिने नीति आवश्यक छ ।
स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नु अर्को प्राथमिकता हो । स्थानीय तथा आसपासका बजारमा फूलको माग र आपूर्तिबीच समन्वय गर्न सके बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन सकिन्छ । स्थानीय होटल, कोसेली घर, फूल व्यवसायी, मन्दिर तथा विभिन्न आयोजकसँग नियमित आपूर्ति सम्झौता गर्ने अभ्यासले बजारलाई स्थिर बनाउन सक्छ । उत्पादनको परिमाण र बिक्रीको विवरण राख्ने तथा लागत र आम्दानीको हिसाब व्यवस्थित गर्ने बानीले महिलालाई आफ्नो उद्यमको वास्तविक अवस्था बुझ्नसमेत मद्दत गर्छ । सयपत्री खेतीले गाउँको सौन्दर्य बढाएको छ, महिलालाई काम दिएको छ र स्थानीय उत्पादनको सम्भावना उजागर गरेको छ ।
अब यसलाई चाडपर्वमा मात्र सीमित मौसमी व्यवसायबाट दिगो उद्यममा रूपान्तरण गर्न आवश्यक छ । यसका लागि महिलाको सक्रियता, स्थानीय सरकारको सहयोग र बजारको सुनिश्चितता एकसाथ अघि बढ्नुपर्छ । उत्पादन बढाउने मात्र होइन, उत्पादित फूल उचित मूल्यमा बिक्री हुने वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । आँधीमूल यानचोकका महिलाले देखाएको बाटोले एउटा स्पष्ट सन्देश दिएको छ– अवसर खोज्न सहर वा विदेश नै जानुपर्छ भन्ने छैन । आफ्नै गाउँको जमिन, श्रम र सीपलाई सही ढङ्गले उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । अब यो प्रयासलाई सफल उदाहरणमा सीमित नराखी अन्य गाउँमा पनि विस्तार गर्ने वातावरण बनाउनुपर्छ । स्थानीय उत्पादनलाई बजार, सीपलाई अवसर र महिलाको श्रमलाई उचित मूल्य दिन सके सयपत्री फूलले चाडपर्वको शोभा मात्र बढाउने छैन, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै महिला आर्थिक सशक्तीकरणको आधारसमेत तयार गर्नेछ ।










