महिला बास्केटबल तनहुँमा गर्न माग

भञ्ज्याङ समाचारदाता/तनहुँ

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् । प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।

खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा पनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गरे ।

व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्रांगणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पूर्वाधार थप गरी खेल सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनका लागि आवश्यक प्रबन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिबद्दता जनाए । ‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ,’ न्यौपानेले भने ।

नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भएको र यो विषयमा नमिलेका कुरा केही नरहेको उनले दाबी गरे । ‘नमिलेको कुरा केही छैन, मिलेको छ, आज छलफल भयो अब प्रक्रियाअगाडि बढ्छ,’ उनले थपे । ‘स्टमेट’बाट आउने खर्च गर्न नगरपालिका तयार भएको यसमा शंका नगर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफूलाई अचम्म लागेको सुनाए । तनहुँले कम्तीमा एक खेल पाउनेमा आफूहरु विश्वस्त रहेको भए पनि खेल तालिका प्रकाशित हुदा तनहुँ नपर्दा दुःख लागेको उनको भनाइ छ । अब महिला बास्केटबल जुनसुकै हालतमा तनहुँमा हुनुपर्नेमा उनको जोड थियो । ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय होइन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेक गर्छु,’ चुमानले भने ।

खेल मैदान व्यवस्थापन उपसमिति संयोजक गुरुङले तनहुँले राखेको इच्छाको बारेमा राखेप सदस्य सचिवसँग कुरा गर्ने बताए । ‘महिला बास्केटबल पृथ्वीनारायाण क्याम्पसमा हुने भनेर तालिका प्रकाशित भइसकेको छ, तनहुँले व्यवस्थापन गर्छ भने सदस्य सचिवसँग कुरा गर्छु, ठाउँमा कुरा पुर्‍याउछु,’ उनले भने ।

एक हप्ताभित्र बास्केटबलकोर्ट तयार भए खेल सञ्चालन गर्न सम्भव हुनसक्ने उनको भनाइ थियो । ‘निर्मल माविमा रहेको बास्केटबल कोर्ट एक हप्ताभित्र तयार पार्ने काम भयो भने त्यो सम्भव हुन सक्छ । त्यसैले आजबाटै ग्राउन्ड मर्मत र खेलाडीको व्यवस्थापन गर्नका लागि काम थाल्नुहोस’, गुरुङले भने । नगरपालिकाका मेयरले गरेको प्रतिवद्धताले आफूलाई ऊर्जा थपेको भन्दै उनले प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाउन आग्रह गरे ।

इन्जिनियर अनिल अधिकारीले महिला बास्केटबलका लागि निर्मल माविको कोर्ट उपयुक्त रहेको बताए । ‘बास्केटबलका लागि कोर्ट उपयुक्त छ, केही मर्मत तथा अस्थायी संरचना यहीँ भएको स्रोत साधन प्रयोग गरेर बनाउन सकिन्छ,’ उनले भने ।

जिल्ला खेलकुद विकास समिति तनहुँ अध्यक्ष अनिल पाण्डेले स्थानीय सरकार लगायतको सहयोगमा तनहुँ खेल सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीं असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker