तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित

तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा अहिले त्यसलाई व्यावसायिक बनाउनुभएको छ । हाल उहाँले दुई रोपनी क्षेत्रफलमा खेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “ रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।”
घिरिङ –२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि सुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गर्नुभएकामा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको छ । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैँले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ । तर स्थानीय सरकारले व्यावसायिकरूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उहाँले चार रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहनुभएको छ ।
घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति रु पाँच हजारका दरले रु सात लाख २० हजार वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गर्नुभयो । प्याज पाँच सय किलो, लसुन दुई सय ५० किलो र बेसार पाँच सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत रु पाँच हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको हो ।”
सबैभन्दा बढी वडा नं ५ का कृषकले सो अनुदान प्राप्त गरेका छन् । वडा नं ५ मा ८९ जना, वडा नं ४ मा दुई, वडा नं ३ मा ४७ र वडा नं २ का छ जना कृषकले उक्त रकम प्राप्त गरेको कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाको व्यास नगरपालिका–८ रिस्तीका कृषक बेसारखेतीमा आकर्षित भएका छन् । अन्य खेती बाँदरले खाएर हैरान भएपछि त्यसको विकल्पमा कृषकले बेसारखेती सुरु गरेका छन् ।
बीस जना कृषकले दुई सय रोपनी जग्गामा बेसारखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । जग्गा बाँझो नराख्न र आयआर्जनमा जोड्ने उद्देश्यले कृषकलाई बेसारखेतीका लागि प्रोत्साहन गरिएको तिवारीको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker