बन्दिपुर गाउँपालिकाद्वारा गणित विषय शिक्षकलाई अतिरिक्त शिक्षक पेशागत विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाका कक्षा ३ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि अतिरिक्त शिक्षक पेशागत विकास तालिम प्रदान गरिएको छ । गाउँपालिको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा पाँच दिने तालिम सञ्चालन गरिएको हो ।
एकीकृत पाठ्यक्रम अनुरुप कक्षा ३ मा गणित विषय शिक्षण गर्ने शिक्षकको गणित शिक्षण सम्बन्धी ज्ञान तथा सिप विकास गर्ने र विद्यालयमा आधारित शिक्षक पेसागत तालिमको एउटा अङ्गको रुपमा शिक्षण सिकाइ सुधारका लागि सहकार्यात्मक उपागम ‘पाठ अध्ययन’को सुरुवात गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।
तालिम समापन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले तालिम मुख्यतः गणित विषयको शिक्षणसँग सम्बन्धित रहेकाले यसबाट शिक्षकहरुलाई गणित शिक्षण सहजिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सिकेका ज्ञान तथा सिपलाई कक्षाकोठामा उतार्न अनुरोध गर्दै यस प्रकारका तालिमले सामुदायिक विद्यालयका शिक्षकका लागि शैक्षिक गुणस्तर बृद्धि गर्न सघाउ पुग्ने र शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले गणित विषयको शिक्षण सिकाइलाइ प्रभावकारी बनाउन परियोजनासँगको सहकार्यमा एक महिना गणित प्रबर्द्धन महिना घोषणा गर्न लागिएको र उक्त समयमा विद्यालय तहमा धेरै भन्दा धेरै गणित सम्बन्धी कार्यक्रमहरू गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले तालिममा सिकेका विषयबस्तु कक्षाकोठामा प्रयोग भए नभएको गाउँपालिकाबाट निरन्तर अनुगमन हुने र अवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्ने बताए ।
जाइका आइमिन परियोजनाका टिम लिडर केन्जी ओहोराले तालिम विद्यार्थीको दौनिक शिक्षण सिकाईसंग जोडिएको विषयबस्तु भएकाले कक्षाकोठामा शिक्षण सहजिकरण गर्दा उपयुक्त विधिको छनोट गर्नुपर्ने, सिकाइ क्रियाकलापमा शिक्षक केन्द्रित वा विद्यार्थी केन्द्रित कुन विधिबाट उच्चतम सिकाइ उपलब्धी हासिल गर्न सकिन्छ सो पत्ता लगाउँदै शिक्षण गर्न अनुरोध गरे ।
शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने साथै यसबाट प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुने उनले बताए ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले पाँच दिनको तालिमबाट ३ दिन कक्षाकोठामा प्रयोग गर्न सकिने सिकाइ सहजिकरणका प्राविधिक सत्र र २ दिन विद्यालय स्तरीय शिक्षक पेसागत विकासलाई जोड दिएको बताए ।
विद्यालय स्तरीय शिक्षक पेसागत विकास अन्तर्गत शिक्षक शिक्षकविचको सहयोगलाई सहकार्यात्मक उपागम जसलाई पाठ अध्ययन भनिन्छ, लाई जोड दिएकाले विद्यार्थीको सिकाईमा शिक्षकहरु विचको अन्तक्रिया, प्राविधिक गोष्ठी, विज्ञ शिक्षकको सहयोगको माध्ययमबाट विद्यार्थीमा देखिएका शैक्षिक समस्यालाई छलफलका माध्ययमबाट सुधार गर्न सकिनेमा जोड दिए ।
कार्यक्रम बन्दिपुर गाउँपालिका अन्तर्गतका ३१ वटा सामुदायिक विद्यालय मध्ये पहिलो चरणमा १५ विद्यालयका कक्षा ३ मा अध्यापन गर्ने शिक्षकहरुलाई पवित्रा मा.वि र दोश्रो चरणमा १६ विद्यालयका शिक्षकको लागि भानु मा.विमा संचालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीले बताए ।










