तनहुँका पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

तनहुँ : तनहुँका पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आँवुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकासंगै मंगलबार बन्दीपुर र ऋषिङ गाउँपालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो ।
ऋषिङ गाउँपालिकामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले परिचयपत्र वितरण गरेका थिए ।
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण र सेवालाई नजिक पु¥याउँने लक्ष्यका साथ गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
उनले भने, ‘परम्परागत अभ्यासलाई तोड्दै, नागरिकलाई टाढा रहेका सरकारी कार्यालयहरूमा धाउनुपर्ने झन्झट हटाएको छ । हामी नागरिकहरूले आफ्नो स्थानीय सरकार र वडा कार्यालयहरूबाटै सेवा प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध छौं। यसलाई व्यवहारमा उतार्न आवश्यक सम्पूर्ण स्रोत र साधन उपलब्ध गराउनेछौं, ताकि अन्य कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य होस् ।’

यस्तै, बन्दीपुरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाइएको बताए ।
उनले भने, ‘परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको हो । पञ्जीकरण विभागबाट सहयोग पायौ। कर्मचारीलाई पालिकामै खटाएर परिचयपत्र वितरण गरिएको छ ।” घरदैलोमै गएर सेवा दिन सकिए जनताको मन जित्न सकिने प्रजिअ थापाको भनाइ छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबाटै परिचयपत्र वितरण गरिँदा सर्वसाधारणलाई सहज भएको बताए ।
यस्तै, ऋषिङ्ग गाउँपालिकाले आफ्नो डिजिटल परिवर्तन यात्रामा एउटा महत्त्वपूर्ण कदम चालेको छ। गाउँपालिकाले सिसिआईयमयस एक्सट्रनल मोडल सम्बन्धी तालिममा वडा सचिव र सहायक कर्मचारीहरूलाई सहभागिता गराई नागरिकता सम्बन्धी सिफारिस प्रक्रिया अनलाइनमार्फत गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले बताए ।
जिल्ला प्रशासन कार्यालय, तनहुँले यही पुस १६ बाट जिल्ला प्रशासन कार्यालयमा सिफारिस हुने सम्पुर्ण नागरिकताका सिफारिस गर्ने निर्णय गरेपश्चात् तनहुँ जिल्ला यो प्रणालीलाई आधिकारिक रूपमा लागू गर्ने नेपालको २०औं जिल्ला बन्नेछ । कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाले पुष ७ गतेदेखि यो मोड्युल पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
यो अभियानले नागरिक सेवा सुधार गर्दै प्रशासनिक झन्झट कम गर्ने, पहुँच र पारदर्शिता बढाउने लक्ष्य लिएको छ । तालिमले वडा तहका कर्मचारीहरूलाई अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक सीप प्रदान गरेको थियो ।










