भिमादको सिम्ले र शुक्लागण्डकीको किमलडाँडालाई जोड्न क्याङ्दी खोलमा पक्की पुल निर्माण शुरु

तनहुँको भिमाद नगरपालिकाको वडा नं. ८ स्थित सिम्ले र शुक्लागण्डकी नगरपालिका नगरपालिकाको वडा नं. ८ स्थित किमलडाँडा जोड्न क्याङ्दी खोलामा पक्की पुल निर्माण शुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री करिण गुरुङले शिलान्यास गरेका छन् ।
पुलको शिलान्यास गर्दै मन्त्री गुरुङले नाम लेखाउने रहरले नभई जानकारी र सार्वजनिकीकरणका लागि शिलान्यास कार्यक्रम गर्ने गरेको बताएका छन् ।
‘कतिपयलाई लाग्न सक्छ, पुल शिलान्यास गर्ने त्यो नाम लेखाउनका निम्ति हो । नाम लेखाउनका निम्ति होइन । शिलान्यास कार्यक्रम गरेपछि सबैलाई थाहा हुन्छ’, उनले भने, ‘बरु उद्घाटन नगर्दा पनि हुन्छ । कुनै पनि आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारको समन्वय हुनुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दछु ।’

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अबको दुइ वर्षमा यहाँका स्थानीयवासीले भोग्नुपरेको समस्याबाट मुक्ति मिल्ने बताइन् ।
भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीय बासिन्दाले अनेकौं बखेडा झिक्दा समयमै काम नहुने भएकाले सकारात्मक सहयोग गर्न आग्रह गरेका छन् ।
आठ करोड ३२ लाख ४८ हजार १७४ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणको ठेक्का एमएस रसुवा वाइएसएस जेभी सुर्खेतले पाएको कार्यालयका प्रमुख ओमराज ढुंगनाले बताए ।
२०७९ मंसिर १७ गतेभित्र पुल सम्पन्न गर्नुपर्ने म्याद छ । पायल फाउण्डेसनमा बन्ने पुल ७० मिटर लामो र ८.४ मिटर चौडाइको हुने प्रमुख ढुंगानाले बताए । पुल बनेपछि वर्षाको समयमा वारपार गर्न सजिलो हुने भिमाद नगरपालिका-८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।

पृथ्वी राजमार्गबाट नजिकै रहेको भिमाद र शुक्लागण्डकीका क्याङ्दी पारीका बस्ती वषर्ामा यातायात सञ्जालबाट सम्पर्क टुट्छ । हिउँदमा क्याङ्दी सुकेपछि बल्ल सवारी वारपार हुन्छन् । दुइ पांग्रे सवारी दोभानको झोलुङ्गे पुल हुँदै वारपार गर्छन् ।
शुक्लागण्डकी नगरपालिका-७ दोभान र भिमाद नगरपालिका-८ भागरलाई जोड्ने गरी छ वर्ष पहिले सेती नदीमाथि निर्माण थालिएको पुल अलपत्र छ । अझै केही वर्ष बन्ने छाँटकाट देखिँदैन । क्याङ्दीमा पुले बनेपछि वर्षाको बेला घुमाउरो बाटो भए पनि सवारी आउजाउ हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।










