राजमार्ग विस्तार : घरटहरा हटाउँदा साघुरिदै तनहुँको डुम्रे बजार

भञ्ज्याङ न्यूज

डुम्रे । तनहुँ, लमजुङ, मनाङ र गोरखाको ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा स्थापित तनहुँको पुरानो व्यापारिक बजार डुम्रे साँघुरो हुने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडक विस्तार गर्नेक्रममा सडक सिमा भित्रका घर टहरा लगायतका संरचना हटाउँदा डुम्रेबाट बजार क्षेत्र साघुरे बन्ने भएको छ ।

राजमार्गको तनहुँको आँवुखैरेनीदेखि पोखरासम्मको सडक खण्डलाई दुइ भागमा विभाजित गरी अहिले धमाधम विस्तारको काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउने क्रममा डुम्रे बजारको सडकका दायावायाँ रहेका घरटहरा हटाउँदा यहाँका बस्ति समेत विस्थापित हुने अवस्थामा रहेको छ ।

राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सुचना जारी गरेपछि बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारकी ७५ वर्षीया वृद्धाले सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्था आएको बताएकी छन् ।

‘आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन । परान यहीँ जाओस् भन्ने थियो । र्सनुपर्ने भएको छ तर, जाने ठाउँ छैन । रोगी छु कसरी घर बनाउने ? गाँसबास उठीबास भएको छ’, उनिले भनिन्, ‘हामीजस्ता घर बनाउन नसक्नेलाई सरकारले नै व्यवस्था गरे हुने हो । त्यस्तो गर्दैन ।’

आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भएपनि उनको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन । उनले भनिन्, ‘बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्नेलाई त उठीबास लगायो । पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन । खै अर्को ठाउँमा घर बनाउने जन पनि छैन धन पनि छैन । हामी जस्ताको घर कसले बनाइ दिने हो ?’

सडक विस्तारका क्रममा डुम्रे बजारको पुरानो संरचना नासिने अवस्थामा पुगेको भन्दै स्थानीय ६३ वर्षीया जीवनकुमार श्रेष्ठ चिन्ता व्यक्त गर्छन । राजमार्ग विस्तारले घरबारविहीन बनाएको उनले गुनासो गरे । योजनाले दिएको रकमले घर बनाउन पनि र जग्गा पनि नभएका व्यक्तिलाई राज्यले नै व्यवस्थापन गर्नसके सहज हुने उनि बताउँछन् ।

एकल ज्येष्ठ नागरिकका समस्या समाधान गर्न सरकारले घर भत्काएपछि घर नै उपलब्ध गराउनुपर्ने स्थानीय ४८ वर्षीया बट्टै श्रेष्ठ बताउँछिन् । उनले भनिन्, ‘घर भत्काएर हामी कहाँ जाने ? घर बनाउन पुग्ने रकम आउँदैन। हामीजस्ता विपन्न र एकललाई समस्या निम्त्याएको छ।’

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी व्यवसायी समिति पूर्वसभापति सरिता श्रेष्ठ पियाले तनहुँ, लमजुङ, मनाङ र गोर्खाको ऐतिहासिक व्यापारिक केन्द्रको संरक्षण राज्यले गर्नुपर्ने बताउँछिन्। पहाडकी रानी बन्दिपुरको ऐतिहासिक व्यापारिक महत्वपूर्ण क्षेत्रको संरक्षणमा सरकारको दायित्व हुनुपर्नेमा त्यो हुन नसकेको उनको गुनासो छ ।

‘साँगुरिएको क्षेत्रमा बसेको बजारलाई मासिने गरी राजमार्ग विस्तार गर्नुहुँदैन । ऐतिहासिक बजारको संरक्षणका लागि राजमार्ग विस्तारका क्रममा बजार क्षेत्रमा केही कम दूरी बनाएर संरक्षण गर्नुपर्ने हो’, उनले भनिन्, ‘कुनामा पहाड र छेउमा खोला रहेकाले डुम्रेको बस्ती हटेपछि सडकको महत्व रहदैन । बजारको संरक्षण गरेरै राजमार्ग निर्माण गरिदिनुपर्ने हो तर, त्यो हुन सकेन ।’

यहाँको बजार विस्थापनले व्यापारिक क्षेत्रको औचित्यको अन्त्य गर्ने उनको बुझाई छ । प्रधानमन्त्रीले डुम्रे बजारको संरक्षण गर्ने आश्वासन दिनुभएको थियो । हामी विश्वस्त छौँ । सरकारमार्फ नै संरक्षण हुन्छ भन्ने आशावादी रहेको पियाँले बताइन् ।

उद्योग वाणिज्य संघ डुम्रे बजार एकाइका सभापति हेमलाल विकले राजमार्ग विस्तारले डुम्रे बजारको ऐतिहासिक व्यावसायिक क्षेत्रको अस्तित्व हराउने अवस्थामा पुर्‍याएको बताए । राजमार्गले डुम्रे बजारमा २५ मिटर विस्तार गर्दा २० देखि २५ घर मात्रै बाँकी रहने उनि बताउँछन् । उनले भने, ‘हामी विकास विरोधी होइनौं, ऐतिहासिक क्षेत्रको संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो । घरबारविहीन हुने अवस्थामा पुगेका व्यक्तिको संरक्षण सरकारले जिम्मा लिनुपर्छ ।’

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार योजना पूर्वी खण्डका सामाजिक विज्ञ चिन्तामणि शर्माले योजनाले जमिनरहित व्यवस्थापन गर्न लागेको बताए । एकल तथा ज्येष्ठ नागरिकलाई एकदेखि तीन महिनासम्मको घरभाडा व्यवस्थापन गरिएको उनले बताए ।

‘राजमार्ग विस्तारका क्रममा वडा तथा स्थानीय तहसँगको सहकार्य एवं समन्वयमा ज्येष्ठ नागरिक तथा एकल व्यक्तिको व्यवस्थापन गर्ने योजना बनाएका छौ’, शर्माले भने, ‘त्यस्ता व्यक्तिको हकमा स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन र विकास निर्माणका कार्य अगाडि बढाउनेछौं ।’

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले घर भत्काउँदा लाग्ने खर्च व्यक्तिले नै व्यवस्थापन गर्नुपर्ने बताए । राजमार्ग घरटहरा भत्काउँदा लाग्ने खर्च बाहेक स्थानान्तरणका लागि सोही व्यक्तिले नै गर्नुपर्ने प्रावधान रहेको उनले जानकारी गराए ।

‘ज्येष्ठ नागरिक तथा एकल भएको खण्डमा उहाँहरुलाई थप रु २१ हजार व्यवस्था गरिएको छ । प्रशासन तथा सरकारले बनाइदिने अहिलेसम्म प्रावधान छैन।

मुग्लिन-पोखरा सडक विस्तारअर्न्तर्गत तनहुँ खण्डलाई दुइ भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याबिन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा राजमार्ग विस्तार गरेर चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको राजमार्ग बनाउँदा सडक सीमा दुइतर्फी २५-२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker