बसन्तपुर थानीमाई मन्दिरबाट भगवतीले सुरु गरिन चुनावी अभियान

दमौली : तनहुँ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेनवारी दिइएकी भगवती न्यौपानेले भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरबाट आफ्नो चुनावी अभियान सुरु गरेकी छन्। न्यौपानेले बुधबार थानीमाईको दर्शन गरी चुनावी अभियान सुरु गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य हुँदा न्यौपानेको पहलमा चालु आर्थिक वर्षमा थानीमाईको मन्दिर जाने सडकको लागि तिन करोड रुपैयाँ बजेट बिनियोजन भएको बताइएको छ । बर्षाै अघि निर्माण भएको उक्त सडक हालसम्म स्तरोन्नती नभएको अवस्थामा न्यौपानेले उक्त सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा उक्त बजेट विनियोजनका लागि पहल गरेकी थिइन् ।
थानीमाई तनहुँको धार्मिक आस्थाको प्रतिक र प्रसिद्ध पर्यटकीय स्थल भएको हुँदा यस क्षेत्रको विकास गरी धार्मिक पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार तयार गर्न आफु लागि पर्ने उनले प्रतिबद्धता जनाएकी छन् । ‘म थानीमाईलाई साक्षी राखेर भन्छु, यस क्षेत्रको विकासमा म रातदिन लागिपर्छु’ न्यौपानेले भनिन्, ‘राष्ट्र बचाउने अभियान थानीमाईको मन्दिरबाट सुरु गरेकोछु, सबैले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।’
यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेले बुधबार दमौलीमा पत्रकार भेटघाट गर्दै जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । आफ्नो जीवन जनताको सेवाका लागि समर्पित रहेको बताउँदै उनले राष्ट्रप्रति अगाध माया भएको उल्लेख गर्दै स्वाधीनता र राष्ट्रियताको सवालमा एमाले सधैं दृढ रूपमा उभिँदै आएको स्पष्ट पारिन् ।

‘राष्ट्रियता र स्वाधीनताको रक्षा एमालेको मूल एजेन्डा हो’, उनले भनिन्, ‘यस क्षेत्रको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको छु । मन्त्री बनेको छोटो अवधिमै कर्मचारी प्रशासन सुधारमा उल्लेखनीय कामको थालनी गरेको थिए ।’
मन्त्री पद सम्हालेपछि ५३ दिनभित्रै कर्मचारी प्रशासन सुधारका लागि महत्वपूर्ण निर्णय र पहल अघि बढाइएको उनको भनाइ थियो । उनले कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ सुधारको प्रक्रिया सुरु गरिएको बताइन् ।
तनहुँका बस्ती–बस्तीबारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै उनले तनहुँ–१ को समग्र विकास र मुहार फेर्न स्पष्ट र दीर्घकालीन विकास खाका आवश्यक रहेको बताउँदै भनिन्, ‘यस क्षेत्रको आवश्यकता बुझेर योजनाबद्ध ढंगले विकास अघि बढाउनुपर्छ ।’
उनले हाल सरकारमा एमाले सहभागी नभए पनि एमालेमाथि लागेका आरोपहरूबारे निष्पक्ष छानबिन गर्न आग्रह गरिन् । साथै, जेनजीले उठाएका सुशासनका सवालमा एमाले सधैं समर्थनमा रहेको उनले बताइन् ।
यस्तै, तनहुँ–१ मा न्यौपानेसहित १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत विष्णुकुमार उपाध्यायले बताए । उपाध्यायका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा नेकपा (माओवादी) का ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, नेपाली कांग्रेसका गोविन्द भट्टराई, आम जनता पार्टीका चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मङ्गोल अर्गनाइजेशन पार्टीका प्रेमबहादुर थापा, नेकपा (एमाले)का भगवती न्यौपाने, उज्यालो नेपालका मन्जिल राना, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपलब्कि नेपालका सुमन थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, तनहुँमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।










