दमौलीका खेमराजद्वारा एक सय दुई पटक रक्तदान

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गर्नुभएको छ । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो ।

जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताउनुभयो । पैँतालीस वर्षीय उहाँले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गर्नुभयो । जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताउनुभयो । “थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो”, उहाँले भन्नुभयो, “तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु ।”

उहाँले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिनुभयो । उहाँले नेपालका करिब २३ जिल्लामा रक्तदान गर्नुभएको छ । “कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ”, अधिकारीले भन्नुभयो, “यसै खेर जाने रगतले अरुको जीवन बच्छ ।”

रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उहाँले बताउनुभयो । अधिकारीले एक सय आठ पटकसम्म रक्तदान गर्ने सङ्कल्प गर्नुभएको छ । “एक सय आठ पटक पु¥याउने सङ्कल्प गरे पनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिनँ”, अधिकारीले भन्नुभयो ।

सोह्र वर्षको हुँदा उहाँको अचानक नाकबाट धेरै रगत बग्यो । चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईंको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झनुहुन्छ । “अब के गर्ने त डाक्टर साब ?”, उहाँले प्रश्न गर्नुभयो । त्यसपछि डाक्टरले ‘तपाईंले बेलाबेलामा रक्तदान गर्नुस्’ भनेको उहाँलाई अझै याद छ ।

त्यसको १५–२० दिनपछि उहाँले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गर्नुभयो । “सुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ”, उहाँले भन्नुभयो, “त्यसैदिन मैले एक सय आठ पटक रक्तदान गर्छु भनेर भगवान्सँग सङ्कल्प गरेँ ।” रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारी सुनाउनुहुन्छ । अधिकारीले १६ वर्षको उमेर हुँदा रक्तदान सुरु गर्नुभएको थियो ।

२२ पिन्ट रगत सङ्कलन

आठौँ राष्ट्रिय योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको योग गुरु अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्राडा कृष्णप्रसाद गौतमले दमौलीमा रगतको मागलाई पूरा गर्न आयोजित कार्यक्रम सकारात्मक रहेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker