मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै, हामीले कति बेला हेर्ने ?

आज मंगल ग्रह पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ। अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

हामीले देख्न सक्छौं ?

पृथ्वी र मंगल ग्रह नजिक हुँदा जहिले पनि एउटा अफवाह फैलिन्छ । मानिसहरु मंगल ग्रह मध्यराति चन्द्रमा जस्तै ठूलो देखिन्छ भन्ने हल्ला फैलाउँछन् । तर यो सत्य होइन । तर सत्य के हो भने राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो र रातो वस्तु अवश्य देखिन्छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराई भन्छन्, ‘मंगल ग्रह रातो हुन्छ भनेर हामीले पढ्दै र सुन्दै आएको, हामी जाने भनेर सोचिरहेको, मानव सभ्यताको नयाँ घरलाई नजिकबाट अवलोकन गर्ने यो उपयुक्त अवसर हो ।’ उनले सूर्यास्त हुनासाथ आकाशमा मंगल ग्रह रातो र चम्किलो स्पष्टसँग देखिने बताए ।

नासोका अध्यक्ष भट्टराईका अनुसार यसअघि यही असोज २० गते नेपाली समयअनुसार करिब ८ बजेको हाराहारीमा मंगल ग्रह पृथ्वीसँग सबैभन्दा नजिक थियो । तर आज भने पृथ्वी, मंगल र सूर्य एउटै सीधा रेखामा रहने भएकाले यो दृष्यलाई खास मानिएको छ । साथै यसको अवस्थितिको उचाइ फोटो खिच्न उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन पिचले बीबीसीसँग बताएका छन् ।

मंगल मिसन सक्रिय

ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् ।

हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने हुँदा मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाइन्छ । किनभने अन्तरीक्ष यात्राको दुरी कम हुन्छ, थोरै इन्धन र थोरै समयमै मंगल ग्रहमा पुग्न सकिन्छ ।
अहिले मंगल ग्रहका तीन वटा मिसन सक्रिय छन्– युएईको होप ओर्बाइटर, चीनको तियानमेन अर्बाइटर एण्ड रोबर र अमेरिकाको पर्सिवियरेन्स रोबर । यी तीनवटै मिसन गत जुलाई महिनामा मंगल ग्रहमा पठाइएको थियो । युएई, चीन र अमेरिकाको यो मिसन सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने छ ।

गत सन् २०१८ को जुलाई ३१ मा पनि मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।

मंगल ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यसको सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिन्छ ।

पृथ्वीको जस्तै मंगल ग्रहमा उत्तर र दक्षिणी ध्रुव छ, जुन बरफले ढाकिएको छ । यहाँको न्यूनतम तापक्रम माइनस १४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन् । मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker