तनहुँको पर्यटकीय नगरी बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै

तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ ।

बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ । बन्दीपुरको सुन्दरता कायम गर्नका लागि बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ ।

बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

“सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौँ, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो”, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भन्नुभयो । देश तथा विदेशबाट बन्दीपुर आउने पर्यटकलाई बन्दीपुरको सुन्दरता देखाउने अभियानमा लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाको सो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन् ।

बन्दीपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताउनुभयो ।

गाउँपालिकाले सम्बन्धित होटल व्यवसायीले पसल बाहिर सामग्री राखी बिक्री वितरण गर्न रोक लगाएको छ । सडक र सडक पेटीमा व्यवसायीले गाउँपालिकाले तोकेको मापदण्ड र स्थानमा मात्र सामान राखी बेच्न पाउने निर्णय भएको छ ।

त्यस्तै गाउँपालिकाले तोकेको स्थानीय मापदण्डबमोजिम बढीमा दुई वटा टेबल र प्रतिटेबल तीन वटा कुर्चीसम्म राखी मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्चीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरी प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रत्येक होटल व्यवसायीले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बन्दीपुर आउने पर्यटकलाई ताजा र सफा खानाको मात्र व्यवस्था गर्न, बजारमा रङरोगनलगायत स्वरुप परिवर्तन गर्न परेमा गाउँपालिकासँग समन्वय गर्न र बन्दीपुर बजार संरक्षित क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चाप बढी हुन्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने व्यवसायी वसन्त पौडेलले बताउनुभयो ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । अठाऔँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker