विश्व वातावरण दिवस : २०२५ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार विद्या राईलाई

काठमाडौँ : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत चार दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल न्यूज डट कमका पत्रकार वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत राईलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा÷शैली र समावेशिताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहले प्रकाशित गरेको सूचना अनुसार पत्रकारहरुले आवेदन दिनुभएको थियो ।
समूहका पूर्व अध्यक्ष श्री कसमस विश्वकर्माको संयोजकत्वमा समूहका पूर्व महासचिव श्री संगीता लामा र विज्ञसदस्य श्री बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ पाउने उहाँ ३९ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।
साथै, बाँकी ३५ (पैँतीस) वटा अवेदनहरु मध्येबाट सन् २०२५ मा उत्कृष्ठ रिपोर्टिङ, प्रशंसनीय, र उल्लेखनिय रुपमा गरेको देखिएकाले देहायका पाँचजना पत्रकारहरुलाई ‘उत्कृष्ठ रिपोर्टिङ–२०२५’ भनी प्रशंसा पत्र प्रदान गर्ने घोषणा गरिएको छ ।
१) महेश के.सी.कान्तिपुर टिभी, रुकुम पूर्व, २) सविता बुढा, रातोापाटी, धनगढी, ३) हरि बहादुर लम्जेल, अन्नपूर्ण पोष्ट, धनकुटा ४) सिर्जना बुढाथोकी, नेपाल समाचार पत्र, सुर्खेत र ५) घनश्याम खड्का, उकालो डट कम, बेनी, म्याग्दी रहेका छन ।










