तनहुँलाई नमुना जिल्ला बनाउँछु : कांग्रेस नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले तनहुँलाई मुलुककै नमुना जिल्ला बनाउने दाबी गरेका छन् । चुनावी प्रचार प्रसारका क्रममा व्यास-११ तनहुँसुरमा मंगलबार आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उहाँले तनहुँलाई मुलुककै नमुना क्षेत्रको रुपमा विकास गर्न विकासका कार्य अघि बढाएको दाबी गरेका हुन् ।
उनले जिल्लालाई पर्यटकीय नमुना बनाउनका लागि धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष बढावा दिइएको बताए । ‘यस निर्वाचन क्षेत्रमा रहेका ठुला धार्मिक स्थलहरु, भानु साहित्य उद्यान, गिरिजाप्रसाद स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न हुँदैछन्’, उनले भने, ‘वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो व्यास मुर्ती ठड्याएर यस ठाउँलाई करोडौं हिन्दुहरुको आकर्षक तिर्थस्थलको रुपका विकास गर्ने मेरो प्रतिवद्धता छ ।’ १४४ मेघावाटको तनहुँ हाइड्रो पावर निर्माणाधिन अवस्थामा रहेको र १२६ मेघावाटको तल्लो सेती जलविद्युत आयोजना पनि निर्माण कार्य अगाडि बढ्दै गरेको पौडेलले बताए ।
यस्तै, तनहुँमा कृषि, पर्यटन र उर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराइ, लगानी भित्राएर गाउँ-गाउँमा साना-ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराइ स्वदेशमै रोजगारी, गाउँ-गाउँमै आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको पौडेलले मतदातालाई बताएका छन् ।
‘ठुला परियोजना सम्पन्न भएपछि यस क्षेत्रका विकासमा कायापलट हुनेछ”, नेता पौडेलले भने, ‘श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयास अघि बढाउन कम्मर कसेर म लाग्ने छु ।’ नेता पौडेलले बुद्धसिंह मार्ग, भानु मार्ग, व्यास मार्ग लगायतका सडकहरुमा कालोपत्रे गर्न बाँकी भागमा कालोपत्रे गरिने बताउँदै उनले भने, ‘आवश्यक ठाउँमा मोटर गुड्ने पुलहरु पनि सम्पन्न गरिनेछ ।’ उनले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपुर्जा प्रदान गरिने पनि बताएका छन् ।
शिक्षा क्षेत्रका विकासका लागि सबै विद्यालयमा पूरा दरबन्दी कायम गर्न र पर्याप्त भौतिक संरचनाका लागि आफूले सक्दो पहल गर्ने बताउँदै पौडेलले भने, ‘गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको हो । प्रतिगामीहरुलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धनको सरकार आवश्यक छ ।’ यस्तै, तनहुँ-१ को प्रदेससभा १ का उम्मेदवार अशोककुमार श्रेष्ठले तनहुँको समृद्धि र विकासका लागि गठबन्धनलाई विजयी गराउनु पर्ने बताए ।










