कला र संस्कृति हाम्रा गहना हुन : अध्यक्ष श्रेष्ठ
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति देशको अमुल्य गहना भएको बताएका छन् । उनले नेपाली संस्कृति बिर्सदै जाने तर विदेशी संस्कृति अंगाल्दै जाने प्रवृत्तिले हामीमा परनिर्भरता बढेको चर्चा गरे ।
वाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा आयोजित ‘समाज परिवर्तनमा महिलाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले शिक्षामा आमुल सुधारका नाममा अनुपयोगी शिक्षा पढ्दै जाँदा देशमा दक्ष र सीपयुक्त जनशक्तिको अभाव भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘एकाध धर्म र संस्कृति बाहेक नेपालको कला र सम्पदा विश्वका नै उत्कृष्ट संस्कृति हो’, अध्यक्ष श्रेष्ठले भने, ‘हामी अनुशासित र मर्यादित हुनका लागि हिजोको हाम्रा शिक्षा, संस्कृति र पुर्वव्यवसायिक शिक्षा अपरिहार्य छ । देखासिकीको नाममा सबैजना डाक्टार, इन्जिनियर, नर्स पढ्दा त्यसले समस्या ल्याएको छ ।’
बिगतमा विद्यालयस्तरमा नै व्यवसायिक शिक्षा दिइने गरिन्थ्यो, जसले गर्दा उत्पादन र अनुभवमा पूर्णता थियो, तर अहिले त्यो हराएर गएको बताउँदै अध्यक्ष श्रेष्ठले महिलाहरु समाज रुपान्तरणको मुख्य माध्याम भएको हुँदा महिलाको उपस्थितिले नै समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्नेहुँदा गाउँपालिका सधै महिलाको क्षमता अभिवृद्धिमा साथ रहेको बताए ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संस्कृतिको जगेर्नाका लागि गरिएको तीज गीत प्रतियोगिताले परम्परागत संस्कृतिको संरक्षण तथा महिलाहरुलाई नेतृत्वदायि तहमा आउन समेत मद्दत पुग्ने बताए ।
तीज गीत प्रतियोगितामा गाईएको गीतले वास्तविक समाजको चित्रण गरेको हुनाले समाजमा महिलाको भुमिका स्थापित गर्नका लागि सबै लाग्नुपर्ने उपाधयक्ष घिमिरेले बताए ।
६ वटा समुहले भाग लिएको तीज गीत प्रतियोगिताम आदर्श युवा क्लाव महेन्द्र मावी प्रथम भएको छ । कार्यक्रममा सयपत्री आमा समुह, गणेश आमा समुह, महिला जागरण आमा समुह, नौ धरे आम समुह, एकता मगर समाज लगायतको सहभागिता रहेको थियो ।










