बन्दिपुरको मौलिकतालाई थप प्रवर्द्धन गर्न गाउँपालिका र स्थानीयको सक्रियता
भञ्ज्याङ समाचारदाता/तनहुँ
गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा रहेको तनहुँको पर्यटकीय नगरी बन्दिपुरको मौलिकतालाई जोगाइ राख्न स्थानीय पर्यटन व्यवसायीहरु लागि परेका छन् ।
आन्तरिक र वाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भएको बन्दिपुरलाई पर्यटकीय हिसाबले थप सुन्दर बनाउन व्यवसायीहरु लागि परेका हुन् । बन्दिपुरको सुन्दरता कायम गर्नका लागि बन्दिपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाइ मौलिकता झल्किने किसिमका काठका होर्डिङबोर्ड राख्ने तयारी गरिएको छ ।
बन्दिपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको छ । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाइ व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए ।
‘सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौं, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो’, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भने, ‘देश तथा विदेशबाट बन्दिपुर आउने पर्यटकलाई बन्दिपुरको सुन्दरता देखाउने अभियानमा लागिएका छौ । गाउँपालिकाको यो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन् ।’
बन्दिपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ । बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दिपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताए । गाउँपालिकाले सम्बन्धित होटल व्यवसायीले पसल बाहिर सामग्री राखी बिक्री वितरण गर्न रोक लगाएको छ । सडक र सडक पेटीमा व्यवसायीले गाउँपालिकाले तोकेको मापदण्ड र स्थानमा मात्र सामान राखी बेच्न पाउने निर्णय भएको छ ।
त्यस्तै गाउँपालिकाले तोकेको स्थानीय मापदण्डबमोजिम बढीमा दुइ वटा टेबल र प्रतिटेबल तीन वटा कुर्चीसम्म राखी मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्चीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरी प्रयोग गर्ने निर्णय गरेको छ ।
प्रत्येक होटल व्यवसायीले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बन्दिपुर आउने पर्यटकलाई ताजा र सफा खानाको मात्र व्यवस्था गर्न, बजारमा रङरोगनलगायत स्वरुप परिवर्तन गर्न परेमा गाउँपालिकासँग समन्वय गर्न र बन्दिपुर बजार संरक्षित क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
क्यूआर कोड र १० भाषामा १० गन्तव्य
‘जाँदाजाँदै बन्दिपुर पुग्यो….’ भन्ने गीत अहिले युट्युब र टिकटकमा चर्चित छ । ६८ वर्षीया नन्दा पन्तले गाएको यो गीतमा तनहुँको पर्यटकीय गन्तव्य बन्दिपुरबारे जानकारी दिने धेरै विवरण त छैन तर बन्दिपुरलाई फेरि एकपटक चर्चामा भने ल्याइदिएको छ । बन्दिपुरलाई प्रवर्द्धन गर्न सक्रिय भइरहेको बेला सार्वजनिक भएको गीतले बन्दिपुरलाई थप चर्चामा ल्याइदिएको भन्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा दंग छन् । ‘यसले बन्दिपुर नसुनेका मान्छेहरूले पनि सुने, नचिन्ने मान्छेहरुले पनि बन्दिपुर भनेको कहाँ रहेछ, के रहेछ भनेर चासो राखे,’ गाउँपालिका अध्यक्ष थापा भन्छन्, ‘एकै शब्द भए पनि बन्दिपुरका लागि काफी भयो ।’ पर्यटकीय गन्तव्य बन्दिपुरको प्रचारमा थप टेवा पुगेको महसुस गरेका उनले यो गीत तयार पार्ने दंगाली कलाकार भूपू पाण्डे लगायतलाई धन्यवादसमेत दिए ।
बन्दिपुरबारे गीत बनेको यो पहिलो भने होइन । थुप्रै गीतले बन्दिपुरको चर्चा गरेका छन् । तर टिकटक लगायत सामाजिक सन्जालमा झुम्मिएको पछिल्लो पुस्तालाई भने ‘लेलै बरै’ गीतको बन्दिपुरको टुक्काले तानेको छ । यसबाट हौसिएका बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा अब सूचना प्रविधिको उपयोग गर्दै बन्दिपुरका १० प्रमुख गन्तव्य १० भाषामा क्यूआर कोडमार्फत् जानकारी पाउन सकिने व्यवस्था गर्न लागिएको बताउँछन् ।
पृथ्वी राजमार्गको डुम्रे बजारबाट ८ किलोमिटरको उकालो हिँडेपछि सजिलै पुगिन्छ, बन्दिपुर । ‘पहाडकी रानी’ उपमा पाएको बन्दिपुर प्राकृतिक मनोरम दृष्य, पुराना सांस्कृतिक वस्ती र रहनसहनका कारण पर्यटकहरुमाझ चर्चित छ । यहाँका पर्यटकीय गन्तव्यबारे प्रचार गर्ने र अझै बढी पर्यटक भित्राउने उपायअनुसार क्यूआर कोडको योजना अघि सारिएको छ ।

बन्दिपुर बजारसँगै खड्गदेवी, थानीमाई, विन्ध्यवासिनी मन्दिर, शहीदपार्क, टुँडिखेल, तीन धारा, सिद्ध गुफा, ‘मिनी ग्रेटवाल’, चन्द्रकोटगढीका बारेमा जानकारीसहितका क्यूआर कोड विभिन्न ठाउँहरुमा राख्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘पर्यटकहरू जहाँ पुग्नुहुन्छ त्यही नै क्यूआर कोड राखिन्छ, त्यसलाई स्क्यान गरेपछि पर्यटकहरूले सबै जानकारीसहितको विवरण मोबाइलमा पाउनुहुन्छ’ गाउँपालिका अध्यक्ष थापा भन्छन्, ‘अब पर्यटकहरुले सहजै ती ठाउँहरुको इतिहास, महत्व, गरिमा लगायतका विषयमा जानकारी पाउनुहुन्छ ।’
ती १० वटा ठाउँको माष्टर बोर्ड भने मुख्य बजार क्षेत्रमा राख्ने योजना छ । बन्दिपुरको ४ सय वर्ष पुरानो इतिहास, कला संस्कृति, यहाँका प्राकृतिक सुन्दरता र स्वछन्दता पर्यटकहरुले हेर्न र बुझन पाउने गाउँपालिका अध्यक्ष थापाले बताए । समुद्र सतहबाट १०२० मिटर अग्लो ठाउँमा रहेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लमजुङ्ग, धौलागिरी, डा. हर्क पिक, गणेश लगायतका हिमालहरू देख्न पाइने गाउँपालिका अध्यक्ष थापाले बताए ।
‘मिनी ग्रेटवाल’को चर्चा
पछिल्लो समयमा बन्दिपुरमा बनाइएको ढुंगाको पर्खालप्रति पनि पर्यटकहरु आकर्षित भइरहेका छन् । यो ‘मिनी ग्रेटवाल’ भनेर चर्चित छ । चीनको ग्रेटवालको झल्को दिलाउने भनिएको यो ढुंगे पर्खाल बन्दिपुर-२ को थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । झण्डै १० करोड लागत अनुमान गरिएको यो पर्खाल हालसम्म डेढ किलोमिटर लामो बनिसकेको छ । बन्दिपुर गाउँपालिका समग्रमा मगरहरुको बाहुल्यता भएको ठाउँ भए पनि बन्दिपुरको मुख्य पुरानो बजारमा भने नेवार समुदायको संख्या बाक्लो छ । खास बन्दिपुरको पहिचान बनाएको बजार क्षेत्रमा आकर्षक ढुंगा छापिएको छ भने यातायातका सवारी साधन जान निषेध गरिएको छ । पुराना कलात्मक घरहरु हेर्न पर्यटकहरू लोभिने गरेका छन् । गाउँपालिकाले यसलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।
बजार र यसको वरपर बन्ने सबै संरचनाहरू प्राचिन र ऐतिहासिक देखिउन् भनेर घरको नक्सा पास गर्दा नै अगाडिको अघिल्लो भागमा कलात्मक इँटा र काठ प्रयोग गर्न गाउँपालिकाले अनिवार्य गरेको छ । ‘यहाँको मौलिक संस्कृति र संरचना नमासियोस् बरु बढोस् भन्ने चाहनाले हामीले भित्र आरसीसी ढलान गरे पनि बाहिरी आउटलुक्स भने इँटा र काठको अनिवार्य प्रयोग गर्न भनेका छौं, त्यो नभई निर्माण सम्पन्न दिँदैनौं, कलर कोड पनि तोकेका छौं,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘बजार क्षेत्र वरपर सटर हाल्न प्रतिबन्ध लगाएका छौं, सटर हालेकालाई भत्काएर काठ राख्न भनेका छौं।’
गाउँपालिकाले स्थानीय पर्यटन विकास समिति, रेवान तथा होटल व्यवसायीहरूसँग मिलेर पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बन्दिपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सांस्कृतिक पहिचानसहित मनोरञ्जनात्मक कार्यक्रम गरेर पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक घरसहितको समूह तयार गर्ने काम अगाडि बढेको बताए ।
पर्यटक आगमनको अवस्था
कोरोना महामारी र भूकम्प अगाडिको जस्तो पर्यटक भने बन्दिपुरमा नआएको होटल व्यवसायीहरु बताउँछन् । बन्दिपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैस गुरूङ भूकम्प र कोरोना पछि अपेक्षाकृत पर्यटक नआएको बताउँछन् । गाउँपालिकाका अनुसार भूकम्प र कोरोना भन्दा अगाडि दैनिक ५ सय पर्यटक बन्दिपुर आउने गरेको अहिले दैनिक ३ सयदेखि ३५० जनासम्म आउने गरेका छन् । भूकम्प अगाडिसम्म ६० प्रतिशत विदेशी ४० प्रतिशत नेपाली पर्यटक आउने गरेकोमा अहिले ७० प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी पर्यटक आउने गरेका छन् ।
आन्तरिक पर्यटकमा सबैभन्दा बढी काठमाडौंबाट ४० प्रतिशत, पोखराबाट २० प्रतिशत, बुटवल र चितवनबाट आउने गरेका छन् । बन्दिपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन् । तीमध्ये ५ वटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दिपुर, विन्दवासिनी, तीनधारा र बन्दिपुर पाहुना घर होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा होमस्टे छन् । बन्दिपुर घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे प्रवर्द्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार एउटा होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ ।
होमस्टेमा बसेको र खाएको एक रातको जम्मा ८ सय रुपैयाँ तिरे पुग्ने अध्यक्ष थापाले जानकारी दिए । ‘राति लोकल कुखुराको मासुसहितको खाना खाएर, एट्याच ट्वाइलेट बाथरुमसहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाएर जम्मा ८ सय दिए पुग्छ,’ अध्यक्ष थापाले भने, ‘जाने बेलामा स्थानीय महिला दिदी-बहिनीहरुले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।’ बन्दीपुरमा ३० वटा होटल, ४० वटा रेष्टुरेन्टहरू पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ ।
सुत्न मिल्ने केबलकार सन्चालनको तयारी
गाउँपालिकाले पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियान अन्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्षक सडक वत्तीहरू राख्ने अभियान चलाएको छ । बजारका विभिन्न ठाउँमा बन्दिपुरे ढुंगा छाप्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आकर्षणको केन्द्र बन्ने देखिएको छ ।

गाउँपालिकाको ५० लाख लगानी रहेको केबलकार आगामी वैशाखबाट सञ्चालनमा आउने लक्ष्य लिइएको छ । बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तीन अर्ब रूपैयाँ लगानीमा केबलकार, रेष्ट्रो-कार र तारे होटल बनाइरहेको छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित साँझ ६ बजेबाट राति ९ बजेसम्म केबलकार चल्ने छ भने साधारण रुपमा बिहान ६ बजेबाट साँझ ६ बजेसम्म चल्ने छ । बन्दिपुर जाने सडकलाई विस्तार गरेर कालोपत्रे गर्ने तयारी पनि भैरहेको छ।
विभिन्न निकायसँग बजेट माग
गाउँपालिकाले विभिन्न सरकारी निकायसँग बजेट माग गरेको छ । गाउँपालिकाले नेपाल पर्यटन बोर्डसँग उज्यालो बन्दिपुर कार्यक्रमका लागि ३० लाख, ढुंगा छाप्ने लगायतका कामका लागि ५० लाख, घुम्न जाउँ है बन्दिपुर भन्ने कार्यक्रम प्रवर्द्धन गर्न २० लाख, शहरी विकास मन्त्रालयसँग बन्दिपुर रिङ्ग रोडका लागि ८ करोड, मुकुन्देश्वरी पदमार्गका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग १९ करोड बजेट माग गरेको छ ।
बन्दिपुरको टुँडिखेलमा पार्क बनाउन ५० लाख, थानीमाई डाँडामा रक गार्डेनका लागि १ करोड, तीनधारा क्षेत्रमा बोटानिकल गार्डेन बनाउन १ करोड रकम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत इष्टिमेटसहित बजेट माग गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘सम्वन्धित मन्त्रीलाई नै भेटेर बन्दिपुरको विकासमा टेवा पुग्ने गरेर बजेट माग गरिएको छ’, थापाले भने ।










