तनहुँको दमौली स्थित भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्राप्त

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरेपश्चात् क्याम्पसले क्युएए प्राप्त गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । क्याम्पसले यसअघि छ वर्ष अगाडि पनि क्युएए प्राप्त गरेको थियो । “क्याम्पसलाई क्युएए प्रदान गर्ने आयोगको निर्णयले हामीलाई खुसी तुल्याएको छ”, उहाँले भन्नुभयो ।

क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक हबको रुपमा विकास हुँदै गइरहेको छ । व्यास नगरपालिका, ऋषिङ, म्याग्दे , बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने गरेका छन् ।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । तत्कालीन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लवको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाई हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ ।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै सहिद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिकरुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष ०७८/७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker