तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा मंगलबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घिरिङ गाउँपालिका-१ का उत्तम अधिकारीलाई परिचयपत्र वितरण गरेका हुन । अधिकारीको राष्ट्रिय परिचयपत्र सन् २०२२ मार्च १८ मा जारी भएको छ । राष्ट्रिय परिचयपत्रमा नामथर, ठेगाना, फोटो, नागरिकता नम्बर उल्लेख छ ।
तनहुँमा विसं २०७६ सालबाट राष्ट्रिय परिचयत्र दर्ता संकलन सुरु भएको थियो । सुरुआती चरणमा दर्ता गरेका नौ हजार जनाको परिचयपत्र जिल्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उनका अनुसार जिल्लामा आइपुगेका परिचयपत्र क्रमशः वितरण गरिनेछ ।
दैनिक २५० का दरले परिचयपत्र वितरण गरिने सहायक प्रजिअ गैह्रेले बताए । उनले भने, ‘दैनिक २५० जनालाई म्यासेज गरी परिचयपत्र लिन आउन आग्रह गरिनेछ ।’ कार्यालयमा हाल दैनिक एक सय जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने गरेका छन् । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । जिल्लामा हालसम्म एक लाख भन्दा बढीले विवरण दर्ता गरिसकेका छन् ।
प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । यसअघि तनहुँका दशवटै पालिकाका वडास्तरमा पुगेर पनि विवरण संकलन गरिएको थियो ।