तनहुँका ८५ वटा वडा सहित गण्डकीका ७५९ वडामा सुरु भयो माओवादीको रुपान्तरण अभियान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ ।

देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताउनुभयो ।

अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका र प्रदेश कमिटीका सदस्यहरूलाई वडामा जिम्मेवारी दिएर पठाइएको छ । इन्चार्ज पौडेलले अभियान गण्डकी प्रदेशमा उत्साहपूर्ण तवरले सुरु भएको बताउनुभयो । उद्घाटन समारोहमा विभिन्न गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम उल्लासमय बनाइएको थियो । अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता–कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए ।

इन्चार्ज पौडेलले भन्नुभयो, “प्रदेशका सम्पूर्ण वडामा आज एकैसाथ अभियानको शुभारम्भ भएको छ । पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ ।”

जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ । सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहनुभएका सचिव पौडेलले पोखरा महानगरपालिका–२० भलाममा अभियानको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, आलोचना सहौँ भनेर अभियान सुरु गरेका छौँ । पार्टी बनाउनका लागि हामी सबै अब सच्चिर अघि बढ्नु पर्दछ ।”

नेता पौडेलले अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको बताउनुभयो । अभियानले पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासहित जनतामा समेत उत्साह छाएको उहाँले बताउनुभयो ।

“सरकारले सुशासनको पक्षमा काम गर्दा जनताले सम्मान गरेका छन् । कहीँकतै आलोचना पनि गरे होलान् । तर आलोचनाबाट डराउन हुँदैन । विरोध र असहमति ग्रहण गर्दै अघि बढ्नु आवश्यक छ”, पौडेलले भन्नुभयो । उहाँले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker