तनहुँको १० वटै स्थानीय तहमा उत्साहपूर्ण रुपमा मतदान कार्यमा सुरु
भञ्ज्याङ न्यूज

तनहुँको १० वटै स्थानीय पालिकामा आज बिहान ७ बजेबाटै उत्सापूर्ण रुपमा मतदान कार्य शुरु भएको छ । बिहान ५ बजेदेखि मतदाताहरु आ-आफ्नो मतदान केन्द्रमा मतदानका लागि सहभागि भएका छन् ।
तनहुँको ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा पालिकाका ८५ वटा वडासम्मका ४४५ जना जनप्रतिनिधि चयनका लागि १३६ मतदान स्थलका २९७ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान कार्य भएको छ ।

तनहुँमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी १ हजार ६३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला गरी २ लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । २०७४ को स्थानीय निर्वाचन भन्दा अहिले ४९ हजार ८६९ जना मतदाता थपिएका छन् ।
यस्तै, व्यास नगरपालिका वडा नं. २ को सत्यवती मतदान स्थलका ख केन्द्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो मतअधिकार प्रयोग गरेका छन् ।

मतदान पश्चात सगरामाथ टेलिभिजनसंग कुरा गर्दै वरिष्ठ नेता पौडेलले संघीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताउनु भएको छ । उहाँले अहिलेको स्थानीय तह निर्वाचन संघीयता विकासका लागि फलदायी भएको प्रतिक्रिया दिनु भएको छ ।
स्थानीय तहले संघीयता सफल भएको प्रमाण दिएको भन्दै वरिष्ठ नेता पौडेलले स्थानीय तहले विकासको खाका कोरेको र संघीयता सफल हुँदै गएको हुँदा संघीयताबाट देशको विकास र उन्नति सम्भव भएको बताउनु भएको छ ।

नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राख्दै उहाँले स्थानीय तहका कारण अहिले सबै गाउँमा बजेट पुगेको बताउँनु भयो । स्थानीय तहमा बजेटको दुरुपयोग भइरहेकाले त्यसलाई निराकरण गर्न वित्तीय आयोग गठन गरिएपनि वित्तीय आयोगको सक्रियता नदेखिएको उहाँको गुनासो छ ।
स्थानीय तहमा आर्थिक अनुशासन आवश्यक पर्ने बताउँदै वरिष्ठ नेता पौडेलले वित्तीय आयोग सक्रिय हुनुपर्ने र वित्तीय आयोगले आवश्यक कानून, नीति बनाएर त्यसलाई लागु गरी अनुगमन गर्नुपर्ने भन्दै स्थानीय तहमा बजेटको दुरुपयोग रोक्न वित्तीय आयोगले कर्डाई गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै, व्यास नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवार बन्नु भएका दिपकराज जोशीले समाजलाई केही गर्न सकिन्छ कि भन्ने लक्ष्य र उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताउनु भएको छ ।
यस्तै, मतदानका लागि लाइनमा उभिनु भएका मतदाहरुले हाम्रा आधारभूत आवश्यकातालाई सहज रुपमा प्रवाह गर्ने नेतृत्वका खाँचो रहेको प्रतिक्रिया दिनु भएको छ । मतदाहरुले विकास निर्माणका साथै भ्रष्टचारमुक्त समाज निर्माण गर्ने सक्ने उम्मदेवार चयन गर्न मतदान गर्नुपर्ने समेत बताउनु भएको छ ।

तनहुँमा स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरी करिब २ हजार ३७६ जनशक्ति परिचालन गरिएको छ । मतदान अधिकृतहरुले आ-आफ्नो मतदान केन्द्रमा सहज र व्यवस्थित रुपमा मतदान कार्य सम्पन्न गर्न खट्टएिका छन् ।

यस्तै, तनहुँमा मतदान स्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा एकीकृत सुरक्षा व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासनले निर्वाचनलाई लक्षित गरी निर्वाचन पूर्व, निर्वाचनका दिन, मतगणना सम्पन्न र परिणाम प्राप्त भइसकेपछि हुने विजय र्यालीलाई समेत मध्यनजर गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।











