एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : एमाले अध्यक्ष ओली

लुम्बिनी : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताउनुभएको छ ।

उहाँले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उहाँले भन्नुभयो, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।”

अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनुभयो । उहाँले एमालेका नेता तथा कार्यकर्ता पार्टीभित्र एकताका लागि प्रतिबद्ध हुनुपर्ने र विरोधीसँग लड्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनीजस्तो ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिङ्गो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।

“लुम्बिनीजस्तो यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेता भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस्”, उहाँले भन्नुभयो, “तपाईँहरूले सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिङ्गो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।”

एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न गरिएको नभइ आवधिकरूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको बताउनुभयो ।

एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो कदापि सफल नहुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेताको नेतृत्वमा एमाले रहेको बताउनुभयो । उहाँले पार्टी र गुट फरक विषय भएको जिकिर गर्दै गुट र पार्टी कहिल्यैसँगै चल्न नसक्ने बताउनुभयो । “गुट बनाउनेले पार्टी बनाउँदैन, पार्टी बनाउनेले गुट बनाउँदै हिँड्दैन”, उहाँले भन्नुभयो, “म ४५ वर्षदेखि पूर्णकालीन राजनीति गरेर हिँडेको हुँ, गुटबन्दी गरेर कहिल्यै हिँडेको छैन ।”

पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको बताउनुभयो । उहाँले एमालेभित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै एमालेलाई बलियो बनाउन नेतृत्व एकताबद्ध रहेको बताउनुभयो ।

महासचिव पोखरेलले जनताका बीचमा एमालेलाई स्थापित गर्ने वैचारिक राजनीतिक र सङ्गठानिकरूपमा एमाले एकताबद्ध रहेको बताउनुभयो । उहाँले एमालेमा राष्ट्र निर्माणका निम्ति प्रतिस्पर्धा हुने र कामका माध्यमबाट एमालेलाई जनतामाझ योग्य सावित गर्न कार्यकर्तामा आह्वान गर्नुभयो । राष्ट्र निर्माण, विकास समृद्धि र स्वाधिनताका लागि राष्ट्रिय एकता आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो ।

पार्टी उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन एमालेविरुद्ध विदेशी शक्तिसँग मिलेर मोर्चाबन्दी गरेको बताउनुभयो । उहाँले एमाले सबैखाले अधिनायकवाद, निरंकुशता र एकपक्षीयताविरुद्व लडिरहेको पार्टी भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक अभ्यास पार्टीको आन्तरिक जीवनमा पनि लागू हुँदै आएको स्पष्ट पार्नुभयो ।

सचिव गोकर्ण विष्टले मुलुकमा स्वतन्त्रता र स्वाधिनतासहितको राष्ट्र बनाउन बलियो सवल र योग्य पार्टी आवश्यक रहेको र यसका लागि एमाले बलियो हुनुपर्ने बताउनुभयो । आजदेखि सुरु भएको एमाले प्रदेश अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार चार जना प्रतिनिधि सहभागी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker