आँवुखैरेनीमा एमाले भन्छ : विद्युत रोयल्टी र ढुंगा वालुवा ठेक्काको पारदर्शी गरी आयआर्जन वृद्धि गर्ने (प्रतिवद्धतापत्र सहित)
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँको आँवुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुले गाउँपालिकाका बासिन्दाको आधारभूत आवश्यकतालाई सहज बनाउने र आर्थिक अवस्थालाई माथि उकास्ने प्रतिवद्धता जनाएका छन् ।
नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार ऋषि केसी, उपाध्यक्षका उम्मेदवार मिना अधिकारी र गाउँपालिकाका छ वटै वडाका अध्यक्ष एवं सदस्यहरुले पालिकाका बासिन्दाको आधारभूत आवश्यकता परिपूर्तिका साथै आर्थिक, सामाजिक हैसियत वृद्धि गर्ने विषयलाई प्राथमिकताका साथ प्रतिवद्धता जनाउँदा मतदाताको घरदैलोमा पुगेका छन् ।
गाउँपालिकाको आयआर्जन वृद्धिको लागि एमालेका उम्मेदवारहरुले विद्युत रोयल्टीको रकम पालिकाले आफ्नो आवश्यकताका आधारमा वितरण गर्ने र मर्स्याङ्दीका साथै अन्य खोला नालाको ढुङ्गा वालुवाको ठेक्का पारदर्शी रुपमा व्यापक जनसहभागीहरुको उपस्थितीबाट गर्ने प्रतिवद्धता जनाएका छन् ।
गण्डकी प्रदेशकै नाका वा प्रवेशद्वार रहेको आँबुखैरेनी गाउँपालिका भएकाले जुनसुकै विकासको पूर्वाधारलाई यस पालिकाबाट नाघेर अन्यत्र जान नदिने र जिल्ला, प्रदेश वा केन्द्रीय निकायबाट बजेट व्यवस्थापन गरी आँबुखैरेनीलाई नमुना पालिकाको रुपमा विकास गर्ने अध्यक्षका उम्मेदवार केसीले मतदातासंग प्रतिवद्धता जनाएका छन् ।
प्रदेश भित्रै रहेको तर छिमेकी जिल्लामा बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योगलाई नयाँ व्यवस्थपनका साथ सञ्चालन गर्न आवश्यक पहल र समन्वयमा सहयोग गर्ने, पालिका भित्र आय आर्जन वृद्धिगर्न तथा जनतालाई सेवा सुविधा प्रवाह गर्ने क्रममा आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन पनि आफैले गरेर कार्य सञ्चालन गर्ने, मर्स्याङ्दी जलविद्युतगृहलाई पर्यटन विकासका लागि जलकृडा स्थलका रुपमा विकास गरी माछापालन गर्दै आय आर्जन समेत गर्ने, गाँउपालिकाभित्र रहेको ढुङ्गा तथा बालुवा खानीहरुको उत्खनन गरी पालिकाको आयस्रोतमा वृद्धि गर्ने योजनाका साथ मतदाताको घरदैलोमा पुगि आफुलाई विजयी गराउन मत मागेको अध्यक्षका उम्मेदवार केसीले बताए ।
यस्तै, युवा उद्यमीहरुलाई आवश्यक मेशिन, औजार जस्ता सामाग्री खरिदमा अनुदान दिने व्यवस्था गर्दै यस्ता उद्यमीलाई प्रोत्साहन गर्ने योजना बनाएका उम्मेदवारहरुले गाउँपालिका भित्र रहेका व्यक्तिगत तथा संस्थागत क्षेत्रमा उद्योग व्यवसाय सञ्चाल गर्नेलाई दर्ता प्रकृयामा सहजिकरण गर्दै यसमा लाग्ने सम्पूर्ण रकम छुट दिने, घरेलु तथा साना उद्योग, लघु उद्यम जस्ता व्यवसायलाई ग्रामीण समुदायमा आधारित बनाउँदै उक्त उत्पादन बजारमा भन्ने नाराका साथ सम्पूर्ण उत्पादित सामानहरुलाई बजार व्यवस्थापनमा सहजिकरण प्रतिवद्धता जनाएका छन् ।

नेकपा एमाले नेतृत्वको सरकारद्वारा भूमिहिन तथा सुकुम्बासीका लागि सञ्चालन गरिएको, हाल अवरुद्ध भूमि वितरण कार्यक्रम अभिलम्ब सञ्चालन गरी लालपूर्जा वितरण गर्ने, अव्यवस्थित ढङ्गबाट उपयोग हुँदै आइरहेको जमिनलाई खेतीयोग्य क्षेत्र, आवास क्षेत्र, चरिचरण क्षेत्र, औद्योगिक क्षेत्र पहिचान गरी उपभोगको किसिम तोकी सोहिअनुरुप राजश्व निर्धारण गरी व्यावस्थित गर्ने योजना बनाएको उपाध्यक्षकी उम्मेदवार मिना अधिकारीले बताइन् ।
नेकपा एमाले देशको समग्र क्षेत्रको महत्वपूर्ण समय र परिस्थितीमा पञ्चायती व्यवस्था, वहुदलीय व्यवस्था र गणतन्त्र आएपछिको प्रतिपक्ष हुँदा होस वा सत्तापक्ष हुँदा होस जुन जुन जनमुखी कामहरु भएका छन ती सबै एकल एमालेको विरासत भएको भन्दै अधिकारीले २०५४ सालको स्थानीय निर्वाचन मार्फत छोटो समयमा र २०५१ सालको एमालेको अल्पमतको सरकारले गरेका जनपक्षीय कामहरु जनमानसमा यद्दपी छदैछ त्यसैले आँवुखैरेनी गाँउपालिकाको समग्र विकासको लागि हामीले ११ वटा क्षेत्रलाई आधारमानी काम गर्ने प्रतिवद्धता जनाएको बताइन् ।
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, कृषि तथा पशुपंक्षी (माछा मौरी सहित) र सहकारी क्षेत्र, वन तथा वातावरण, सडक र यातायात, धार्मिक पर्यटकीय तथा पुरातात्विक संरक्षक, सामाजिक सुरक्षा, खेलकुद तथा युवा परिचालन, आय आर्जन, उद्योग व्यापारी, भूमि व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतमा राखेर चुनावी मैदानमा उत्रिएका छन् ।










