तनहुँमा घुमफिर गर्नु हुन्छ ?

के.बि. मसाल

गण्डकी प्रदेशको तनहुँ प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका लागि अत्यन्त महत्वपूर्ण जिल्ला हो । तनहुँको मौलिक कला, संस्कति, प्राकृतिक एव ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले पर्यटकहरु लोभिन्छन । पर्यटकीय दृष्टिकोणले तनहुँका ग्रामीण क्षेत्र अत्यन्त सुन्दर अमूल्य कला, संस्कृति र प्राकृतिक, ऐतिहासिक सम्पदा र प्रचुरताका हिसाबले धनि छ ।

तनहुँ हिमाली जिल्ला होइन तर महाभारत पर्वत श्रृंखलाको उच्च भागबाट दर्जनौ हिमश्रृंखला देखिन्छ । पर्यटनका लागि तनहुँमा रहेका ऐतिहासिक, धार्मिक, सास्कृतिक, पर्यटकीय र साहित्यिक स्थलहरु अध्ययन अनुसन्धानको लागि महत्वपूर्ण मानिन्छ । भानुभक्तको जन्मस्थल चुँदी रम्घा, राइपुर, खोलाखेत, घाँसीकुवा जस्ता अनेकौ साहित्यिक पर्यटकीय स्थल पनि तनहुँमा पर्दछ । ऐतिहासिक पुरातात्विक तथा सामरिक महत्वका तनहुँसुर, मिर्लुङकोट, क्यामिनकोट, भुजिकोट, रिसिङ, घिरिङ गलेखामकोट, कोटाथाम, पुलिमराङ, दमौलीको मानुङडाडा, चोक चिसापानी जस्ता ऐतिहासिक सम्पदाहरु पनि तनहुँमा पर्दछ । पौराणिक कथन अनुसार भिमले सेती नदी थुनेर बाध बाधेको भिम बाध अर्थात भिमाद मात्र होइन तनहुँमा पर्यटकहरुका लागि ऐतिहासिक कोट, धार्मीक स्थल र ग्रामीण जनजीवनको बारेमा अध्ययन गर्न सकिने धेरै स्थलहरु छन ।

तनहुँ जिल्लाको देवघाट कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल हो । स्वर्गबाट देवी देबता आई यहाँ स्नान गर्ने हुँदा यस स्थललाई देवघाट भनिएको हो । यो ठाउमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्दछ । जीवनको उत्तरार्धमा कैबल्य प्राप्तिको लागि, कल्पबासमा जानेहरुको लागि अत्यन्तै उपयोगी देवघाटमा पाल्पाका राजा मुणि मुकुन्द सेनको प्रतिक स्वरुप चक्र शिला, गलेश्वर बाबा, अघोरी बाबाका मठ, लक्ष्मीनारायण मन्दिरका साथै कयौ मठ मन्दिर, देवालय, आश्रम र मुर्तीहरु स्थापित छन । शंख र घण्टाको मधुर ध्वनी, भजन कीर्तनको सांगीतिक लय आदिले देवघाट आध्यात्मिक दृष्टीले तीर्थाटनका पर्यटकहरु पुग्नै पर्दछ । तीर्थाटन पर्यटकहरुका लागि तनहुँको छिम्केश्वरी, आधिमुल, थानीको थान, बन्दीपुरको खडकदेवी, बिन्दबासीनी, छाव्दी वराह, ढोरबराही र पृथ्वी राजमार्गमा पर्ने म्यादे गाउँपालिकाको अकलामाई तनहुँ पुगेपछि पुग्न सके राम्रो हुन्छ ।

पौराणिक शास्त्र अनुसार छाव्दी वराहको इतिहास शिवजी र परासर ऋषिसंग जोडिएको छ । छाव्दी वराहको उत्पत्तीको किम्वदन्ती अनुसार परापूर्वकालमा शिवजीको विर्य नदीमा पतन भयो । त्यो विर्य माच्छाले खान पुग्यो । केही महिनापछि एकजना माझी मादी र सेती नदीको संगमस्थल व्यासगुफा नजिकैको नदीको किनारमा माच्छा मार्ने क्रममा विर्य खाइ गर्भधारण गरेको माच्छा जालमा पर्‍यो। माच्छाको पेट चिरेर हेर्दा अत्यन्त सुन्दर वालिका फेला परिन । माझी निसन्तान थियो । त्यो वालिकालाई लालन पालन गर्दै आफ्नो काम समेत सिकाउदै गयो । एकदिन वालिकाले डुङ्गा चलाउने वेला परासर ऋषि भेटिए । अति सुन्दरी वालिकाले डुङा चलाएको देख्दा परासर ऋषिलाई यौन उन्मात चढयो। उनले यौन प्रस्ताव राखे, वालिकाले दिउँसो उज्यालो भएको बेला आफु माच्छाबाट जन्मिएको र शरिरमा समेत माच्छाको गन्ध आउने सबै कुरा बताइन । तर ऋषिले यौन तृष्णा मेटाउन उतिखेरै कुहिरो उत्पन्न गराए । माच्छाको गन्ध मेटाउन अत्तर समेत श्रृजना गरे । यसरी डुङ्गामा गर्भवती मत्स्यकन्याले व्यासऋषिको जन्म दिइन ।

व्यासऋषिलाई पछि मत्स्यकन्याले सबै कुरा बताइन । आफु कुमारीमा नै हेपिएर आमा बन्न परेको कुरा सुनाइन । आमाको कुरा सुनेपछि व्यासऋषिले १०३ तीर्थस्थलको जल ल्याएर अहिलेको छाव्दी वराहको कुण्डमा मिसाएर आमालाई मत्स्यागन्धा र सत्यवती नामाकरण गरी राखिदिएको जनविस्वास छ। छाव्दी वराह जाँदा बाटोमा व्यासगुफा, परासरगुफा, रहेको पवित्रस्थल सेती, मादी, सागे, बुल्दी, छाव्दी र गुनादी नामका पन्च नदी र खोलाको पवित्र संगमस्थल दमौली समेतको अवलोकन गर्न सकिन्छ । पौराणिक मान्यता अनुसार दमौलीको व्यास गुफावाट नै व्यासऋषिले १८ पुराण १८ उप-पुराण ब्रम्हासुत्र लेख्नुको साथै श्रुति परमपरामा आधारित वेदलाई लिपिवद्ध गरी ४ भागमा विभाजन गरेका थिए । तनहुँमा छाव्दी वराह बाहेक अर्को प्रख्यात वराह ढोरवराह हो । ढोरवराहिको मन्दिरमा जान खैरेनीटार भएर जान पर्दछ । ढोरबराहि मन्दिर शुक्लागण्डकी नगरपालिका-९ मा पर्दछ । पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने ढोरबराहिमा वर्षैभरी तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । ढोरवाराहि मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ। मन्दिर सम्म पुग्नका लागि सहज सडक निर्माण भएको छ ।

पर्यटकहरुका लागि तनहुँमा घुमफिर गर्न धेरै ठाउँहरु छन । घुमफिरको लागि तपाईसंग समय कति छ ? अनि तपाईको रुचि के मा छ ? समय आवस्यक पैसा र रुचि मिल्यो भने तपाई तनहुँमा घुमफिर गर्नको लागि प्याकेज कार्यक्रम बनाउन सक्नुहुन्छ ।

तनहुँ जिल्ला प्रवेश गर्ने आजभोली धेरै सडकहरु पृथ्वी राजमार्गमा जोडिएका छन्। तपाईलाई कुन सडकदेखि तनहुँ प्रवेश गर्न अनकुल हुन्ब्छ । त्यहि सडकबाट तनहुँको घुमफिर गर्न सक्नुहुन्छ। तपाई तनहुँ मुग्लिनबाट प्रवेश गर्नु भएको छ भने पहिला छिम्केश्वरी पुग्नु होस । छिम्केश्वरी तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा पर्दछ । जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो छिम्केश्वरी । जहाँ पुग्दा आत्मिक शान्ति र मनमा उर्जा मिल्छ । छिम्केश्वरी महाभारत पर्वतको २ हजार १५० मिटरको उचाइमा पर्दछ । प्रकृति प्रेमिका लागि त छिम्केश्वरी भुर्स्वर्ग झै मानिन्छ । डाँडामा उभिँदा भुइँकुहिरो माथि सर्लकक्क खुलेका हिमाल आँखैमा टाँसिएको अनुभूती हुन्छ । छिम्केश्वरीको काखमा भोटेस्वाँरा, हिलेखर्क, लाब्दी र घलेडाँडा पर्दछन । गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन । गाउँमा बस्न खान कुनै समस्या छैन । पर्यटकहरुलाई ढुँगा र माटोले बनेका र खरले छाएका घरमा बसाइन्छ । पृथ्वीराजमार्गको आँबुखैरेनी देखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रे भएको छ । लाब्दीदेखि करिब २५ मिनेटको पैदल यात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । अहिले आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माईको मन्दिरको पुनःनिर्माण गरेको छ । लाब्दीदेखि छिम्केश्वरी मन्दिर पुग्नका लागि पैदलमार्ग र रेलिङ निर्माण गरी पर्यटकहरुलाई सुबिधा दिलाइएको छ । आँबुखैरेनी बजारदेखि छिम्केश्वरीसम्म २१ किलो मीटर दुरि पर्दछ । अहिले आँबुखैरेनी बजारदेखि लाब्दीसम्म बस चल्दछ ।

मानहुँकोटबाट देखिएको दमौली बजार क्षेत्र । तस्विर : भञ्ज्याङ

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने तीर्थाटन पर्यटकहरुको विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी डाँडामा छन भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई छिम्केश्वरी मन्दिर परिशरबाट दृश्यावलोकन गर्न सकिन्छ । छिम्केश्वरीमा पर्यटकहरु कार्तिकदेखि माघसम्म हिमालय श्रृखला राम्रोसँग खुल्ने भएकोले पर्यटकहरु बढछन । छिम्केश्वरीबाट सफा मौसममा सम्भवत सबैभन्दा लामो हिमश्रृखला धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र हिमचुली लमजुङ, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमालको लामो श्रृखला देखिन सकिन्छ । यस्तै काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, गैडाकोट साथै गोरखा, आँबुखैरेनी, डुम्रेबजार, बन्दिपुर अनि मुग्लिन बजारको साथमा त्रिशुली, नारायणी, मर्स्याङदी, मादी, दरौदी अनि चेपे नदी बहेको स्थान पनि अवलोकन गर्न सकिन्छ ।

तनहुँको महाभारत पर्वत श्रृंखालामा पर्ने छिम्केश्वरी पहाड वरपर ग्रामीण परिवेशको सुन्दर स्वच्छ प्राकृतिक एवं सांस्कृतिक स्थल पर्दछ । छिम्केश्वरीमा यातायातको सुबिधा, खाना बस्नको लागि होमस्टे, प्राकृतिक मनोरम दृष्य मात्र होइन पर्यटनको लागि प्राकृतिक र सास्कृतिक संगम पनि बनेको छ । छिम्केश्वरी क्षेत्रमा रामकोट, झारगाउँ, धरम्पानी, हिलर्ेखर्क, लाब्दी, आक्लाङ भाँगे गाउँहरु पर्दछन । छिम्केश्वरीमा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राम्हण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ । पर्यटकीय गाउँ हिलेखर्कमा पनि स्थानीयवासीले केही वर्ष अगाडिदेखि होमस्टे सञ्चालन गर्दै आएका छन । गुरुङ समुदायको बाहुल्य रहेको हिलेखर्क होमस्टेमा पुग्ने पर्यटकहरुलाई कोदो तथा फापरको ढिडो, रोटी, सेल रोटी, मकैको आँटो, लोकल मासु, गुन्द्रुक, भुटेको मकै र भटमास, इच्छा हुनेले कोदोको रक्सी, मह एवं स्थानीय कफी तथा निउरो, गिठा, भ्याकुर, तरुल, सिप्लीगान लगायतलाई तरकारीको रुपमा खान पाइन्छ ।

छिम्केश्वरी जान पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनीसम्म काठमाडौं, पोखरा, चितवन, गोरखा लगायतका ठाउँबाट सार्वजनिक यातायात बस, माइक्रो, जीप कार तथा मोटरसाइकलमा पुग्न सकिन्छ। पदयात्रा गर्न रुचाउनेका लागि नक्सांकन भएको बाटो दमौली-छाब्दी-रामकोट-बन्दीपुर-बाहुनभञ्ज्याङ-जालभञ्ज्याङ-हिलेखर्क-छिम्केश्वरी-लाब्दी-आक्लाङ-भाँगे हुँदै आँबुखैरेनी, साराङघाट-छिम्केश्वरी, मुग्लिन-छिम्केश्वरी, मर्स्याङदी जलविद्युत पावरहाउस-छिम्केश्वरी, अन्नपूर्ण सिमेन्ट कारखाना-छिम्केश्वरी, लाब्दीखोला-छिम्केश्वरी र यसका अलावा अन्य विभिन्न पदमार्ग समेत रहेका छन । पहाडकी रानीको नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केवलकारको निर्माण अन्तिम चरणमा पुगेको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी नयाँ र फरक विशेषता सहित निर्माण भएको केवलकार बैशाखदेखि सञ्चालन हुन लागेको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा पनि केबलकार निर्माण गर्न लागेको छ ।

छिम्केश्वरी घुमफिरपछि तपाईसंग घुमफिर गर्नको लागि समय छ भने अन्य ठाउँमा पनि पुग्न सक्नुहुन्छ । गण्डकी प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल सहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र मिर्लुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ । यी सबै ठाउमा सडक मार्ग पुगेको छ । आफ्नो सवारी साधन हुने पर्यटकहरुका लागि घुमफिर छिटो र अर्कै आनन्द हुन्छ । तनहुँ जिल्लाको मध्यभाग भएर पृथ्वी राजमार्गको निर्माण भएको छ । मुग्लीन पोखरा ९० किमी पर्दछ भने मुग्लिनदेखि चोरकाटे अर्थात तनहुँ जिल्लाको सिमासम्म ७२ कि.मि. पर्दछ । छिम्केश्वरीदेखि र्फकदा आँधि मूलमा जान सकिन्छ । आँधि मूल पृथ्वी राजमार्गको सत्रसय फाँटबाट २ किमी को दुरीमा पर्दछ । आँधि मूल बराहको मन्दिर हो । आँधि मूलमा प्यागोडाशैलीको मन्दिर, पार्क, दुइवटा पोखरी र माछाको आकृतिका २३ वटा धारा देख्दा पर्यटकहरु रमाउछन । सफा पानीको पोखरीमा ठूलै सख्यामा खेलि रहेका माछाले पर्यटकहरुको ध्यान तान्दछ ।

तनहुँ घुमफिर गर्दा बन्दीपुर पुगेन भने घुमफिरनै अधुरो जस्तो हुन्छ । बन्दीपुर आफैँमा प्राकृतिक सौन्दर्यता भएको स्थल हो । बन्दीपुरमा जान अब केही समयपछि पर्यटकहरु केबलकारबाट पनि पुग्न सक्नेछन् । केबलकारको लागि पृथ्वी राजमार्गमा पर्ने ठूलोढुङ्गामा तल्लो स्टेशन र बरालथोकमा माथिल्लो स्टेशन निर्माण भएको छ । बन्दीपुरको सहरी संरचना साढे दुइ सय वर्ष पुरानो मानिन्छ । नेवार जातीको रहनसहन, साँस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बन्दीपुरको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहुँ, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् । पछिल्लो समय पर्यटकहरुलाई चीनको विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी बन्दीपुरमा पर्यटनको लागि पदमार्ग निर्माण भएको छ। अब बन्दीपुर जाने पर्यटकहरु थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मका पदमार्गबाट हिमाल र सुन्दर गाउँ र बस्तीको अवलोकन गर्न सक्दछन् ।

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी सामुदायिक होमस्टे सञ्चालकहरु होमस्टेमा आएका पाहुनालाई फूलमाला र टिका लगाएर स्वागत गर्ने तयारीमा । फाइल तस्विर : भञ्ज्याङ

पछिल्लो समय तनहुँ जाँदा धेरै पर्यटकहरु मानुङ डाडामा पुग्दछन। मानुङ डाँडा व्यास नगरपालिका दमौली नजिकै पर्दछ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा पर्यटकहरु पुग्ने गर्दछन् । मानुङ प्राकृतिक हिसाबले धनी छ नै यसको पौराणिक र सांस्कृतिक महत्व पनि उत्तिकै छ । आधा दर्जन हिम श्रृखलाको दृश्यावलोकन र दमौली बजार तथा आसपासका साना बजार दृश्यावलोकन गर्न सकिने मानुङ डाडा पराशर ऋषिले माझी पुत्री मत्स्यगन्धासँगको रासलीलालाई गोपनीय बनाउन कुहिरो सिर्जना मानुङ डाडाबाट गरेको किंवदन्ती छ । कुहिरो सिर्जना गराएको मानुङ डाँडालाई पर्यटनको लागि छुट्टै महत्व लिने गरिन्छ । त्यहाँबाट लामो रेन्जको हिमाल, लेक, बेसी, टार, मादी र सेती नदीको मनोरम दृश्यले पर्यटकहरु लोभिने गर्दछन । दमौलीदेखि मानुङ डाडा ९ किलोमिटर दुरीमा पर्दछ । दमौलीदेखि मानुङ डाँडासम्म सडक मार्ग बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker