बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

जानकी (बाँके) : सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन् ।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाउनुभएको छ । उहाँले दसैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो ।

यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ” उहाँले भन्नुभयो, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको बताउनुभयो । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौदेखि एकआपसमा मिलेर दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुभएको छ ।

सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहनु भएको छ । पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उहाँको भनाइ छ । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताउनुभयो ।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंँमा टीका र जमरा लगाएर आशीर्वाद लिनुभएको छ । रहमान मियाँले दुबै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताउनुभयो

बडादसैँका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैँको शुभकामना दिनुभएको छ । एकताका र सद्भावका लागि दुबै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker