तनहुँको मिर्लुङ्कोट र भयेंर थान मन्दिर (फोटोफिचर)
नारायण खड्का/तनहुँ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोट क्षेत्र धार्मिक, साँस्कृतिक, प्राकृतिक हिसावले निकै महत्वपूर्ण छ । समुन्द्रि सतहबाट करिब १६५६ मिटर उचाइ रहेको मिर्लुङकोट तनहुँको दोश्रो अग्लो पहाडी चुचुरो हो ।

बाइस्से चौबिस्से राज्यका पालाको दरबारसंगै ऐतिहासिक महत्व बोकेका भग्नाशेसहरु अझै देख्न सकिन्छ । योसंगै यस क्षेत्रको धार्मिक आस्था र विश्वासले भरिपूर्ण भयेर थान मन्दिर मिर्लुङकोटको काँखमै अवस्थित रहेको छ ।

सातसय मिर्लुङबासिले पुज्ने यो मन्दिरलाई स्थानीय कुवापानी भयेर, भयेर ठाकुर, मिर्लुङ भयेर लगायतका नाम दिएका छन् । यस मन्दिरसंग पनि ऐतिहासिक महत्व र किंवदन्तिहरु रहेको भेटिन्छन् ।

मिर्लुङकोटको पश्चिम तर्फो खोचमा सातसय मिर्लुङले शक्तिदेवको रुपमा पुज्दै आएको भयेर थानको मन्दिर शक्ति, आस्था र विश्वाससंग जोडिएको छ ।

साउन महिना, औंसी र एकादशी तिथि बाहेक हरेक मंगलबारका दिन यस मन्दिरमा पूजाअर्चन गर्ने गरिन्छ ।




विशेष गरी यस क्षेत्रका बासिन्दाले आफु समस्यामा पर्दा, वस्तुभाउ विरामी पर्दा, देश विदेशमा गएकाहरु सकुशल घर फर्किउन तथा कुनै कार्यको शुभारम्भ गर्दा वा चाहेको, आँटेको पुरा गरिदिन भन्दै भाकल गर्ने तथा सम्झने गर्दछन् ।

यसरी भाकल तथा सम्झेको पुरा भएपछि पञ्चावली तथा आफूले भाकल गरेको अन्य पूजाका सामाग्रि सहित भक्तजनहरु मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने गर्दछन् ।

जंगलको बीचमा यो मन्दिर रहेको छ । गाउँमा बाघ तथा अन्य वन्यजन्तुले दुःख दिएमा, समयमा पानी नपरी खडेरी परेमा, खेतबारीमा खेती गर्नुपूर्व, नयाँ अन्ना घरमा भित्र्याउँदा लगायतका शुभकार्यमा स्थानीयले भयेर देवतालाई सम्झने र पुज्ने गर्दछन् ।

ऐतिहासिक महत्व

यस्तै, मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नावशेष देख्न पाइन्छ । राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा पानी रहिरहन्छ ।



यो पोखरी सामुद्रिक सतहबाट १५३९ मिटर अग्लो स्थानमा छ । मिर्लुङको ठुलोढुंगामा ऐतिहासिक सिद्ध गुफा छ ।

ठूलो ढूङ्गाको ओडारमा रहेको यो गुफा पर्यटकीय हिसावले निकै आकर्ष छ।

मिर्लुङको पश्चिम तर्फशक्तिदेवको रुपमा पुजिने भयेर ठाकुरको मन्दिर छ । यसको ठीक उत्तरतर्फनेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद गाउँ तथा पार्क रहेको छ ।


व्यास-८ रिस्तीमा रहेको यो शहिद स्मारक ११५० मिटरको उचाइमा छ । भानु-१३ को बाँकेपसल स्थित ऐतिहासिक दर्गा जामे मस्जिद बिक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन् । यो पनि आकर्षाको केन्द्र हो ।
