बन्दीपुरको नीति तथा कार्यक्रम : ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद

नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन, सेवा प्रवाह र विकास निर्माणका अधिकांश जिम्मेवारी स्थानीय तहले नै वहन गर्नुपर्ने व्यवस्था छ । यही सन्दर्भमा स्थानीय तहले सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रमले आगामी वर्षको विकासको दिशा, प्राथमिकता र सोचलाई प्रतिबिम्बित गर्दछ ।
तनहुँको बन्दीपुर गाउँपालिकाले पनि यही मान्यतालाई आत्मसाथ गर्दै हेल्लो अध्यक्ष कार्यक्रममार्फत् जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम अगाडि ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सुशासन, जनउत्तरदायी सेवा प्रवाह र नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको हो ।
गाउँपालिकाले जनताका गुनासा, सुझाव र समस्यालाई सहज रूपमा सम्बोधन गर्न ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सरकारलाई नागरिकमैत्री, जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए । उनले गाउँपालिकाको विकास यात्रामा नागरिकको प्रत्यक्ष सहभागिता र सुझावलाई महत्वपूर्ण आधारका रूपमा लिइएको बताए ।
अध्यक्ष थापाका अनुसार ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत गाउँपालिकावासीले आफ्ना गुनासा, समस्या, सुझाव तथा जिज्ञासा प्रत्यक्ष रूपमा गाउँपालिका अध्यक्षसम्म पु¥याउन सक्नेछन् । सेवा प्रवाहमा देखिएका समस्या, विकास निर्माणका काम, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारसँग सम्बन्धित विषयमा नागरिकले सहज रूपमा आफ्नो धारणा राख्न सक्ने व्यवस्था गरिने उनले बताए ।
उनले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै जनताको आवाजलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियासँग जोड्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘स्थानीय सरकार जनताकै घरदैलोको सरकार हो’, थापाले भने, ‘जनताका गुनासा र सुझाव सुन्ने तथा समाधान गर्ने दायित्व हाम्रो हो । त्यसैले नागरिकसँग प्रत्यक्ष संवाद बढाउन ‘हेल्लो अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’
नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा प्रविधिमैत्री प्रशासनलाई पनि प्राथमिकता दिइएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नागरिकले प्राप्त गर्ने सेवामा सहजता ल्याउन डिजिटल प्रविधिको प्रयोग बढाइने तथा प्रशासनिक प्रक्रियालाई थप व्यवस्थित बनाइने जनाइएको छ ।
गाउँपालिकाले आगामी वर्ष कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकासको आधार तयार गर्ने नीति अवलम्बन गरिएको अध्यक्ष थापाले बताए ।
पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पर्यटन पूर्वाधार विस्तार, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पर्यटन क्षेत्रको विकासबाट स्थानीय रोजगारी र आयआर्जन बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
अध्यक्ष थापाले गाउँपालिकाको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको साझा सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker