पिउने म, पिलाउने साथी
विष्णु पौडेल `निरिश´

पिउनु त एउटा बहाना थियो
साथीको साथ
चौरीको बथान भित्र
रमाइलोको गन्ध
मिसिएको थियो गोठभित्र
निलगीरीको हिउँजस्तै चिसोमा
बाकी छ्न अनगिन्ती याद
सिरेठाे फुल्दा
न्यानो स्पर्स
पल पल सम्झनामा।
साथी, पिलाउने मात्र होइन
भरोसाको एउटा पहाड
हिउँभित्रै लुकिरहेको आगो जस्तो,
देखिँदैन, तर ताप आउँछ।
हामी हिँड्थ्यौं
कहिले थोराङ पासको छाती चिर्दै,
कहिले तिलिचोको छायाँमा सास फेर्दै,
कहिले याक खर्कको गोठमा
सुकुटी र चिसो हात मिलाउँदै
डाँफे र बादलको संवाद सुन्दै।
मार्चे लेकको
उज्यालो बिहान सम्झन्छु
त्यो बिहान, जहाँ
घाम आउनु भन्दा पहिला
साथीको हाँसो आउँथ्यो
चौरीहरूले बगाएको हावामा
हाम्रा सपना उड्थे
हिमालको शिखरसम्म पुग्ने सपना।
भेडिगोठ
त्यो सुनसान ठाउँ,
जहाँ जीवन
पातालबाट उम्रिएको लाग्थ्यो।
जहाँ शिरमा हिउँ, छातीमा आगो,
र हरेक पाइला जोखिम थियो,
तर सँगै थिए, भरोसाका हातहरू ।
मेसोकोन्दो पास,
जहाँ सास फेर्न गाह्रो थियो,
तर हाँसो रोक्न गाह्रो थियो अझै।
किनभने ती साथीसँग,
हिउँ पनि तातो लाग्थ्यो,
र थकाइ पनि गीत बन्थ्यो।
धेरै बाटाहरू छोडिएका छन्
तर एउटा बाटो,
साथीको हृदय हुँदै जाने बाटो
त्यो अझै सँगै हिँडिरहेको छ।
यी शब्दहरू
तिमीले थमाएको
चिसो गिलासजस्तै छन्
भित्र केही जलिरहेको छ,
तर बाहिरबाट देखिन्छ
सिर्फ ! एक साधारण पिउने क्षण।
हामी जान्दछौं
त्यो एक गिलासमा
कति थोराङ,कति तिलिचो,
कति धेरै धौलागिरी आईसफलको साथ बाँकी छ ।










