सम्पादकीय : पूर्वतयारी भए विपद्को क्षति घट्छ

नेपालमा यस वर्षको मनसुन सुरु हुँदै छ । मनसुनसँगै वर्षा, बाढी, पहिरो, डुबान र चट्याङजस्ता प्राकृतिक विपद्का जोखिम पनि बढेका छन् । हरेक वर्ष वर्षायाममा सयौं परिवार विस्थापित हुने, सडक अवरुद्ध हुने, पुल बग्ने, खेतीयोग्य जमिन नष्ट हुने र कैयौं नागरिकले ज्यान गुमाउने दुःखद अवस्था दोहोरिने गरेको छ । यो केवल प्राकृतिक प्रक्रिया मात्र होइन, कमजोर पूर्वतयारी, अव्यवस्थित विकास र लापरबाहीको परिणाम पनि हो । त्यसैले मनसुनलाई भाग्यको खेल ठानेर बस्ने होइन, सम्भावित जोखिमलाई समयमै पहिचान गरी क्षति न्यूनीकरणतर्फ सबै तहले सक्रिय हुनुपर्ने बेला आएको छ । प्राकृतिक विपद्लाई पूर्ण रूपमा रोक्न सकिँदैन । तर, त्यसबाट हुने जनधनको क्षति भने प्रभावकारी योजना, सचेतना र समन्वयका माध्यमबाट उल्लेखनीय रूपमा घटाउन सकिन्छ । विडम्बना के छ भने हरेक वर्ष विपद् व्यवस्थापनका योजना, बैठक, अभ्यास र तयारीका समाचार सार्वजनिक हुन्छन्, तर वास्तविक विपत्तिको समयमा ती योजना कागजमै सीमित भएको अनुभूति नागरिकले गर्ने गरेका छन् । उद्धार सामग्री अभाव, राहत वितरणमा ढिलाइ, समन्वयको कमी र कमजोर व्यवस्थापनका कारण पीडितले थप दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन ।
संघीय शासन व्यवस्थापछि संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार क्रियाशील छन् । यी सबै तहले विपद् जोखिम न्यूनीकरणका लागि कानुन, नीति र कार्ययोजना बनाएका छन् । तर योजना बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण हुन्छ । विपद् आउनुअघि जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्था, उद्धार सामग्रीको भण्डारण, आवश्यक उपकरणको तयारी र जनशक्तिको परिचालन योजना स्पष्ट हुनुपर्छ । विपद् सुरु भएपछि हतारमा गरिने प्रयासले अपेक्षित परिणाम दिन सक्दैन । नेपालमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस तथा विभिन्न स्वयंसेवी संस्थासँग विपद् व्यवस्थापनको अनुभव र क्षमता छ । उनीहरूको दक्षता र समर्पणको प्रशंसा गरिनुपर्छ । तर यस्ता निकायबीच समयमै समन्वय नहुँदा उद्धार र राहतमा ढिलाइ हुने समस्या देखिने गरेको छ । त्यसैले मनसुनको समयमा सबै निकायबीच पूर्वअभ्यास, सूचना आदानप्रदान र जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक छ । स्थानीय सरकार र समुदायबीच पनि निरन्तर सहकार्य हुनुपर्छ ।
विपद्को अर्को महत्त्वपूर्ण कारण मानव सिर्जित गतिविधि पनि हो । वातावरणीय प्रभावको उचित अध्ययन नगरी जथाभावी सडक खन्ने, नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार गर्ने, वन विनाश गर्ने र प्राकृतिक बहाव अवरुद्ध गर्ने प्रवृत्तिले विपद्लाई झन् भयावह बनाएको छ । पछिल्ला वर्षमा देखिएको डोजरमुखी विकास मोडलले पहाडका भिरालो भूभागलाई अस्थिर बनाएको छ । वर्षा हुनेबित्तिकै सडक भत्किने, पहिरो खस्ने र गाउँ जोखिममा पर्ने अवस्था यसैको परिणाम हो। विकास आवश्यक छ, तर दिगोपन र वातावरणीय सन्तुलनलाई बेवास्ता गरेर गरिने विकासले अन्ततः विनाश निम्त्याउँछ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रको भू–उपयोग योजना, बस्ती विकास र निर्माण गतिविधिमा कडाइ गर्नुपर्ने आवश्यकता अझ बढेको छ । जोखिमयुक्त स्थानमा नयाँ बस्ती बस्न नदिने, नदी उकासिएका क्षेत्रमा अनियन्त्रित निर्माण रोक्ने र वातावरणीय मापदण्ड पालना गराउने दायित्व स्थानीय सरकारकै हो । यसमा लापरबाही हुँदा त्यसको मूल्य नागरिकले ज्यान र सम्पत्तिको क्षतिबाट चुकाउनुपर्छ।
विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी होइन । नागरिक पनि उत्तिकै सचेत र जिम्मेवार बन्नुपर्छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा सुन्ने, जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्ने, आपत्कालीन सामग्री तयारी अवस्थामा राख्ने र स्थानीय प्रशासनका निर्देशन पालना गर्ने बानीले ठूलो क्षति टार्न सक्छ । समुदायस्तरमा गठन गरिएका विपद् व्यवस्थापन समिति, युवा समूह र स्वयंसेवकलाई सक्रिय बनाउँदै टोलटोलमा उद्धार अभ्यास र जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । मनसुनको समयमा बाढीपहिरो मात्र चुनौती होइन, पानीजन्य तथा मौसमजन्य रोगको जोखिम पनि बढ्छ । दूषित पानी, सरसफाइको कमी र अस्वस्थ खानपानका कारण झाडापखाला, हैजा, डेंगु तथा अन्य संक्रामक रोग फैलिन सक्छन् । त्यसैले स्वच्छ पानीको प्रयोग, व्यक्तिगत सरसफाइ, फोहोर व्यवस्थापन र सुरक्षित खानपानबारे व्यापक जनचेतना फैलाउन स्थानीय सरकार र स्वास्थ्य निकायले विशेष अभियान सञ्चालन गर्नुपर्छ ।
विपद्को सामना गर्ने सबैभन्दा प्रभावकारी उपाय पूर्वतयारी नै हो । समयमै सचेत भए ठूलो दुर्घटनालाई सामान्य घटनामा सीमित गर्न सकिन्छ । त्यसैले मनसुन सुरु भइसकेको यस अवस्थामा सरकारले कागजी योजनाभन्दा व्यवहारिक तयारीमा जोड दिनुपर्छ, स्थानीय तहले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनुपर्छ र नागरिकले पनि आत्मसुरक्षालाई प्राथमिकता दिनुपर्छ । विपद् आएपछि पछुताउनुभन्दा पहिले नै तयारी गर्नु बुद्धिमानी हो । यही सोच र व्यवहारले मात्रै बर्सेनि दोहोरिने जनधनको क्षतिलाई कम गर्दै सुरक्षित र जिम्मेवार समाज निर्माण गर्न सकिन्छ ।










