सम्पादकीय : पूर्वतयारी भए विपद्को क्षति घट्छ

नेपालमा यस वर्षको मनसुन सुरु हुँदै छ । मनसुनसँगै वर्षा, बाढी, पहिरो, डुबान र चट्याङजस्ता प्राकृतिक विपद्का जोखिम पनि बढेका छन् । हरेक वर्ष वर्षायाममा सयौं परिवार विस्थापित हुने, सडक अवरुद्ध हुने, पुल बग्ने, खेतीयोग्य जमिन नष्ट हुने र कैयौं नागरिकले ज्यान गुमाउने दुःखद अवस्था दोहोरिने गरेको छ । यो केवल प्राकृतिक प्रक्रिया मात्र होइन, कमजोर पूर्वतयारी, अव्यवस्थित विकास र लापरबाहीको परिणाम पनि हो । त्यसैले मनसुनलाई भाग्यको खेल ठानेर बस्ने होइन, सम्भावित जोखिमलाई समयमै पहिचान गरी क्षति न्यूनीकरणतर्फ सबै तहले सक्रिय हुनुपर्ने बेला आएको छ । प्राकृतिक विपद्लाई पूर्ण रूपमा रोक्न सकिँदैन । तर, त्यसबाट हुने जनधनको क्षति भने प्रभावकारी योजना, सचेतना र समन्वयका माध्यमबाट उल्लेखनीय रूपमा घटाउन सकिन्छ । विडम्बना के छ भने हरेक वर्ष विपद् व्यवस्थापनका योजना, बैठक, अभ्यास र तयारीका समाचार सार्वजनिक हुन्छन्, तर वास्तविक विपत्तिको समयमा ती योजना कागजमै सीमित भएको अनुभूति नागरिकले गर्ने गरेका छन् । उद्धार सामग्री अभाव, राहत वितरणमा ढिलाइ, समन्वयको कमी र कमजोर व्यवस्थापनका कारण पीडितले थप दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन ।

संघीय शासन व्यवस्थापछि संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार क्रियाशील छन् । यी सबै तहले विपद् जोखिम न्यूनीकरणका लागि कानुन, नीति र कार्ययोजना बनाएका छन् । तर योजना बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण हुन्छ । विपद् आउनुअघि जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्था, उद्धार सामग्रीको भण्डारण, आवश्यक उपकरणको तयारी र जनशक्तिको परिचालन योजना स्पष्ट हुनुपर्छ । विपद् सुरु भएपछि हतारमा गरिने प्रयासले अपेक्षित परिणाम दिन सक्दैन । नेपालमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस तथा विभिन्न स्वयंसेवी संस्थासँग विपद् व्यवस्थापनको अनुभव र क्षमता छ । उनीहरूको दक्षता र समर्पणको प्रशंसा गरिनुपर्छ । तर यस्ता निकायबीच समयमै समन्वय नहुँदा उद्धार र राहतमा ढिलाइ हुने समस्या देखिने गरेको छ । त्यसैले मनसुनको समयमा सबै निकायबीच पूर्वअभ्यास, सूचना आदानप्रदान र जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक छ । स्थानीय सरकार र समुदायबीच पनि निरन्तर सहकार्य हुनुपर्छ ।

विपद्को अर्को महत्त्वपूर्ण कारण मानव सिर्जित गतिविधि पनि हो । वातावरणीय प्रभावको उचित अध्ययन नगरी जथाभावी सडक खन्ने, नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार गर्ने, वन विनाश गर्ने र प्राकृतिक बहाव अवरुद्ध गर्ने प्रवृत्तिले विपद्लाई झन् भयावह बनाएको छ । पछिल्ला वर्षमा देखिएको डोजरमुखी विकास मोडलले पहाडका भिरालो भूभागलाई अस्थिर बनाएको छ । वर्षा हुनेबित्तिकै सडक भत्किने, पहिरो खस्ने र गाउँ जोखिममा पर्ने अवस्था यसैको परिणाम हो। विकास आवश्यक छ, तर दिगोपन र वातावरणीय सन्तुलनलाई बेवास्ता गरेर गरिने विकासले अन्ततः विनाश निम्त्याउँछ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रको भू–उपयोग योजना, बस्ती विकास र निर्माण गतिविधिमा कडाइ गर्नुपर्ने आवश्यकता अझ बढेको छ । जोखिमयुक्त स्थानमा नयाँ बस्ती बस्न नदिने, नदी उकासिएका क्षेत्रमा अनियन्त्रित निर्माण रोक्ने र वातावरणीय मापदण्ड पालना गराउने दायित्व स्थानीय सरकारकै हो । यसमा लापरबाही हुँदा त्यसको मूल्य नागरिकले ज्यान र सम्पत्तिको क्षतिबाट चुकाउनुपर्छ।

विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी होइन । नागरिक पनि उत्तिकै सचेत र जिम्मेवार बन्नुपर्छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा सुन्ने, जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्ने, आपत्कालीन सामग्री तयारी अवस्थामा राख्ने र स्थानीय प्रशासनका निर्देशन पालना गर्ने बानीले ठूलो क्षति टार्न सक्छ । समुदायस्तरमा गठन गरिएका विपद् व्यवस्थापन समिति, युवा समूह र स्वयंसेवकलाई सक्रिय बनाउँदै टोलटोलमा उद्धार अभ्यास र जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । मनसुनको समयमा बाढीपहिरो मात्र चुनौती होइन, पानीजन्य तथा मौसमजन्य रोगको जोखिम पनि बढ्छ । दूषित पानी, सरसफाइको कमी र अस्वस्थ खानपानका कारण झाडापखाला, हैजा, डेंगु तथा अन्य संक्रामक रोग फैलिन सक्छन् । त्यसैले स्वच्छ पानीको प्रयोग, व्यक्तिगत सरसफाइ, फोहोर व्यवस्थापन र सुरक्षित खानपानबारे व्यापक जनचेतना फैलाउन स्थानीय सरकार र स्वास्थ्य निकायले विशेष अभियान सञ्चालन गर्नुपर्छ ।

विपद्को सामना गर्ने सबैभन्दा प्रभावकारी उपाय पूर्वतयारी नै हो । समयमै सचेत भए ठूलो दुर्घटनालाई सामान्य घटनामा सीमित गर्न सकिन्छ । त्यसैले मनसुन सुरु भइसकेको यस अवस्थामा सरकारले कागजी योजनाभन्दा व्यवहारिक तयारीमा जोड दिनुपर्छ, स्थानीय तहले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनुपर्छ र नागरिकले पनि आत्मसुरक्षालाई प्राथमिकता दिनुपर्छ । विपद् आएपछि पछुताउनुभन्दा पहिले नै तयारी गर्नु बुद्धिमानी हो । यही सोच र व्यवहारले मात्रै बर्सेनि दोहोरिने जनधनको क्षतिलाई कम गर्दै सुरक्षित र जिम्मेवार समाज निर्माण गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker