दुराडाँडा, पर्यटन र दुरा संस्कृति
के.बि. मसाल
पर्यटकहरु गाउँघरमा विभिन्न योजना र प्याकेज बनाएर घुमफिर गर्ने क्रम बढदै गएको छ। साथीभाईसगं होस अथवा पारिवारिक गाउँघरको मोह बढदै गएको छ । पर्यटकहरुका आ-आफ्नो सौख र रुची हुन्छन । नयाँ ठाउँ घुमफिर गरेर विविध पक्षको अवलोकन र अनुभवको आनन्द लिनु पनि मानवीय सौख र रुचिका महत्वपूर्ण पाटो हो । जुन सौख र रुची अहिले मानवीय स्वभावमा परिणत हुँदै समाजमा संस्कृतिकै रुपमा स्थापित भएको छ । गाउँघरमा फरक-फरक रीतिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा र आफ्नो सस्कृति अनुसारको चार्डपर्वहरु हुन्छन । ती सबै मौलिक प्रकृतिका हुन्छन र पर्यटकहरुलाई अध्यन अवलोकनको रुचि हुन्छ । गाउँको आफ्नै महत्व र विशेष पहिचान रहेको हुन्छ । पर्यटकहरुलाई हरेक गाउँघरले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछ ।
पर्यटकहरुले नयाँ ठाउ घुमफिर गर्न खोज्दछन् । नयाँ ठाउको महत्व छुट्टै हुन्छ। अर्को तर्फनदेखेको कुनै गाउँठाउँ कसैको लागि नयाँ बन्दछ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहर बजारका मानिसहरुलाई केहि दिनका लागि भएपनि हलो, कुटो, कोदालो समाएर गाउँघरमा रमाउने वातावरण हुन्छ । अर्कोतर्फ पर्यटकहरुलाई आफ्ना केटाकेटीहरुसँगै गाउँ र वस्तिमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै गाउँघरमा घुमफिर गर्दा छुट्टै वातावरण हुन्छ र रमाउछन् । गाउँमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषि संम्वन्धी कुराकानीले धेरै ज्ञान आदान प्रदान गर्न सक्दछन् । गाउँमा पुग्ने एक जना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडी भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही र नौनी उत्पादन गरेको देख्दा सबै केटाकेटीहरुलाई नौलो अनुभूति हुन्छ । शहर बजारमा किनेर खाएका तर त्यसको बोट कस्तो हुन्छ भन्ने थाहा नपाएका केटाकेटीहरुलाई सुन्तला, भोगटे, काफnm ऐसेलु लगायतको फलफुलको बोट कस्तो हुदो रहेछ भन्ने कुरा थाहा हुन्छ ।
पर्यटनका लागि गण्डकी प्रदेशको लमजुङमा पर्ने दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सगम हो । लमजुङको दुराडाँडा वरपर पुरानकोट, नेटा, चन्द्रेश्वर, सिन्दुरे र धुसेनी गाउँहरु पर्दछ । दुराडाँडा आदिवासी दुरा जातिको थातथलो हो । दुरा जातीहरु नेपालमा थोरै जनसख्या भएको आदिवासी जनजाति समुदाय मध्येमा पर्दछन्। नेपालको इतिहास निर्माणका क्रममा ऐतिहासिक भूमिका खेलेको दुरा जातिको संस्कृति, रहनसहन, ऐतिहासिक र पुरातात्विक स्थल दुराडाँडामा पर्दछ । आजभोली दुरा जातिको संस्कृति, मनोरम प्राकृतिक दृश्यावलोकनको लागि पर्यटकहरु दुराडाँडा पुग्दछन । दुरा जातीको इतिहास र सस्कृति अध्यन गर्न दुराडाँडा पुग्नै पर्दछ ।
दुराडाँडा दुरा जातिको बसोबास स्थल मात्र नभएर ऐतिहासिकता जोडिएको क्षेत्र पनि हो । तर दुराडाँडा क्षेत्रमा दुराहरुको मात्र बसोबास छैन । अन्य जातिको पनि बाक्लो गाउँहरु पर्दछ । पछिल्लो समय दुराडाँडाको इतिहास, र संस्कृतिलाई संरक्षण गर्दै पर्यटनको विकास गर्ने उद्देश्यले दुरा जातीहरुको सिन्दुरे, ठूलोस्वाँरा, दुरा गाउँ, तुर्लुङकोट र खजे दुरा गाउँमा पर्यटनका लागि होमस्टे सन्चालनमा गरेका छन । होमस्टेहरुमा स्थानीय उत्पादनबाट बनेको नेपाली खानाको स्वाद पाइन्छ । दुराडाडा क्षेत्रमा उत्पादन भएका धानको भात, तरकारी, दालका साथै अन्य परिकारहरु पनि स्थानीय उत्पादनबाटै बनाइन्छ । खाजा वा नास्ताको रुपमा सेल रोटी, तरकारी, भुटेको मकै, भटमासलगायत परिकार पर्यटकहरुलाई दिने गरिन्छ । लोकल कुखुराको मासु, कोदोको ढेंडो, जगली निहुरोको तरकारी, गुन्द्रुक र सिन्कीको आचारले पर्यटकहरुको मुख रसाउँछ। होमस्टेमा मौसम अनुसारका फलफूलहरु पर्यटकहरुलाई दिने गरिन्छ। गाई/भैंसीका दूध, मोही, घ्यू र स्थानीय उत्पादित महको स्वाद पनि लिन पाइन्छ । इच्छा हुनेको लागि निश्चित मात्रमा कोदोको लोकल रक्सी पनि चाख्न पाइन्छ ।
अल्पसख्यक आदिवासी दुरा समुदाय संस्कृतिका धनी छन् । अझै पनि आफ्नो मौलिक संस्कृतिलाई बचाएर राखेका छन् । दुरा जातिको सांस्कृतिक भूमिलाई नियाल्दा अनेकन रोचक परिदृश्य देखापर्छन् । गाउँ बार्ने, गुरुबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, गाउँका तन्नेरीले एकअर्काको सियो राख्ने अर्थात उपनाम राख्ने, लोबारे खाने, दशाग्रह हर्ेर्ने, गुहार, पर्म, झारा, तुर्लुङ्कोट मौलामा फूलपाती भित्राउने लगायतका चलन भेटिन्छन् । तर आजभोली कतिपय यस्ता प्रचलन लोप भइसकेका छन् र भएका प्रथा पनि लोप हुने क्रममा छन् ।
गाउँको होमस्टेमा आउने पाहुनालाई उनीहरु सांस्कृतिक कार्यक्रमहरु देखाएर मनोरञ्जन दिन्छन् । दुराडाँडाको पहिचानको रुपमा ठाडो भाका रहेको छ । दुराडाँडाकै गायक स्व. देउवहादुर दुराले प्रतिपादन गरेको ठाडो भाका राष्ट्रिय रुपमा पनि चर्चित छ। पछि त्यही भाकालाई पञ्चखेर गुरुङलगायतले फैलाएको हुन। ठाडो भाकाका र्सजक देउबहादुरको घरलाई अहिले सग्राहलयको रुपमा विकास गरिएको छ । अर्को तर्फ दुरा जातीले अन्य सांस्कृतिक अवयवहरुमा घाँटु, सोरठी, दोहोरी, झयाउरेलगायत रहेका छन् । बाह्रमासे र कुसुण्डा घाँटुलाई छोटो संस्करण बनाएर होमस्टेमा बस्ने पर्यटकहरुलाई देखाउने गरिन्छ । त्यस्तै पर्यटकहरुको चाहना भए सोरठी र झयाउरे पनि देखाउने गरिन्छ । यसको साथमा आमा समूहको नाचले पर्यटकहरुलाई समेत नचाउँछ ।
दुराडाँडामा पर्यटन र समुदायको विकासका लागि धेरै कामहरु भएका छन् । जुन बिकास हेरेर पर्यटकहरुले आनन्द लिन सक्छन् । त्यसमध्ये लमजुङकै पुरानो चियानपाटास्थित चन्द्रेश्वर उच्च माध्यमिक विद्यालय, हाँडी खोलाको बर्धान गाउँमा निर्माण गरिएको ठाडो भाकाका र्सजक देउबहादुर दुरा स्मृति सग्राहलय, नेटा गाउँको कानेश्वाँरामा रहेको हेसे होइतुङ बौद्ध गुम्बा, तुर्लुङ्कोटको समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली स्रोत केन्द्रमा दुराडाडा पुग्ने पर्यटकहरु पुगेकै हुन्छन । शाह वशको ऐतिहासिक पृष्ठभूमी खोज र अध्यनको लागि दुराडाडा पुग्नै पर्ने हुन्छ । नेपालको इतिहासमा दुरा जाति र दुराडाँडाको विशेष महत्व रहेको छ ।
बि.सं. १५५० मा कास्कीका राजा कुल मण्डन शाहसँग खजे दुराको नेतृत्वमा गएको समूहले कान्छा छोरा यशोब्रम्हा शाहलाई लमजुङको राजा बनाउन मागेर ल्याएका थिए। दुराडाडाको ऐतिहासिक सिन्दूरे ढुङ्गामा यशोब्रम्हा शाहलाई सिन्दूर जात्रा गरि राजा घोषणा गरिएको थियो । त्यसअघि पनि दुराहरुकै नेतृत्वमा कास्कीका राजा कुल मण्डन शाहसँग कालु शाहलाई राजा बनाउन मागेर ल्याएका थिए । तर लमजुङका तत्कालिन घले शासकहरुले उनको हत्या गरेपछि पुनः यशोब्रम्हालाई मागेर ल्याएका हुन् । दोस्रो पटक यशोब्रम्हा शाहलाई ल्याउदा भने विशेष सावधानीका साथ ल्याएका थिए। दुराडाडा जादा पर्यटकहरु ऐतिहासिक सिन्दूरे ढुङ्गामा पुग्दछन । यशोब्रम्हा शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको सिन्दुरे ढुङ्गा दुराडाँडा गाउँको ठूलोस्वाँरा र तर्ुलुङकोट गाउँको बीचमा पर्दछ । सिन्दूरे ढुङ्गालाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् । सिन्दूरे ढुङ्गा नजिक दुराडाँडाको चियानपाटामा इतिहाससँग जोडिएको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । पार्कमा खजे दुराको सालिक पनि राखिएको छ ।
दुराहरुको तत्कालीन शासकहरुसँग जोडिएको तुर्लुङकोट गाउँ भन्दा माथिको डाँडामा रहेका तीन वटा ऐतिहासिक गढीहरु रहेका छन । जस्लाई सिरान, बीच र पुछारको गढीको नाम दिइएको छ । तीन वटा गढीले दुरा जातिको वीरता र साहसको इतिहास बनेको छ । दुराडाडा पुग्ने पर्यटकहरु यी गढीमा पुगेकै हुन्छन । तुर्लुङकालिका मन्दिरको देवता यशोब्रम्हा शाहले भीर कोटबाट ल्याएर मानिन्छ । दुराडाँडामा अरु पनि स्थानीयको आस्थासँग जोडिएका धार्मिकस्थलहरु छन् । त्यसमध्ये नार्खु भगवानको थान पनि छ । नार्खु भनेको दुरा भाषामा शिवलाई भनिन्छ । दुराडाडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला, लमजुङ हिमाल, हिमालचुली, मनास्लु लगायतका हिमालहरुका र दक्षिणतर्फसुन्दर हरियाली महाभारत श्रृखंलाहरु अवलोकन गर्न सकिन्छ । दुराडाँडाको ठूलोस्वाँरा गाउँबाट करिब १५ मिनेटको उकालो चढेपछि पुगिने मनाङ डाँडा पर्यटनको लागि प्राकृतिक भ्युटावर हो । दुराडाँडाको सबैभन्दा अग्लो स्थान डढुवा डाँडा हो ।
आजभोली गाउँघरमा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा पर्यटनसँग जोडिएका हुन्छन । हामी घुमफिर गर्ने भन्नासाथ शहर वा कुनै चिनिएका गन्तव्यबारे मात्र सोच्दछौं । नाम चलेका ठाउँहरुको पर्यटकीय थलोबारे सोधीखोजी गर्न थाल्दछौ । तर घुमफिरको लागि कुनै पनि गाउँमा गएर आफ्नो घुमफिरलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । घुमफिर गर्नको लागि पहिले घुमफिर गर्न सक्ने समय र आर्थिक कुरामा पनि बिचार पुर्याउनु पर्दछ । गाउँघरको जनजीवन, रहनसहन, चालचलन आदिसँग साक्षात्कार गर्ने हो भने तपाईंसँग यस्ता थुप्रै विकल्प हुन्छन । गाउँघरको घुमफिर गर्नु हुन्छ भने तपाइँले घुमफिरको प्याकेज बनाउन पर्ने हुन्छ । कुन जिल्लाको कुन गाउँमा घुमफिर गर्ने ? प्राकृतिक सम्पदाको क्षेत्रमा रमाउने कि ? तीर्थाटन गर्ने की ? ताल तलैया अथवा जनजातिको लोक संस्कृतिमा रमाउने ? यी कुराको एकिन भयो भने घुमफिरको लागि सजिलो मात्र हुँदैन खर्चको समेत बचत हुन्छ । दुराडाडा जानु भयो भने दुरा जातीको संस्कृति मात्र होइन अन्य धेरै कुराको अध्यन गर्न पर्यटकहरुले पाउछन ।
पर्यटकले दुराडाँडामा खोजे जस्तो स्तरीय वा सुविधायुक्त होटल, रेस्टुराँ, लज नहोलान । तर, गाउँमा हार्दिकता पूर्वक स्वागत गर्ने होमस्टे पर्यटकहरुले भेटछन । ती घरमा पर्यटकहरु परिवारजस्तै भएर बस्न सक्दछन । रैथाने दुरा जातिसँग घुलमिल गरेर घुमफिरको फरक स्वाद पर्यटकहरुले लिन सक्दछन । घुमफिरमा गाउँघरमा भेटिने हरेक मानिसले पर्यटकसँग परिचित मुस्कान दिन्छन। गाउँमा नौलो अनुहार देख्ने बित्तिकै दुराडाडामा सोधी हाल्छन हजुर कहाँसम्म कहाबाट आउनु भयो- हाम्रो गाउँमा यहालाई स्वागत छ। त्यतिमात्र होइन, पर्यटकलाई आफ्नै घरमा निम्त्याउने गर्दछन । चियापानी टक्राउने छन । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन । बारीमा सुन्तला फलेको छ वा अम्बा, मकै पाकेको छ अथवा सिजन अनुसार काँक्रा, केरा जे छ तपाईंलाई चखाउँन खोज्दछन। आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुलोमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञ समेत हुन्छन । अहो ! यस्तो हार्दिकता शहर बजारमा कहाँ पाइन्छ – गाउँमा पुग्ने पर्यटकहरु गाउँघरको स्वागत सत्कारले खुशि हुन्छन ।
दुराडाडा वरपरको भौगोलिक बनावटले धेरै पर्यटकहरु लोभिन्छन। गाउँघरका उच्च डाँडाकाँडाबाट देखिने हिमश्रृंखला, विभिन्न पाखा, पखेरा, टाकुरा, हरिया जंगल झाडी, नागवेली आकारमा बग्दै गरेका खोला नाला, गाउँमा पुगेपछि पर्यटकहरुलाई गरिने आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजातिका भेषभूषा कलासंस्कृति यीनै कुराहरुले गाउँमा पर्यटकहरु जान रुचाउँछन । जब दुराडाँडामा पर्यटकहरु पुग्दछन् गाउँघरको प्रकृतिक सौर्न्दर्य र जैविक विविधतासंग रमाउँछन् । अर्को तर्फ ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले पर्यटकहरु आकर्षण हुन्छन । गाउँहरुमा प्राकृतिक सौर्न्दर्य पर्यटनसँग जोडिएको छ । ती प्राकृतिक श्रृंखलाहरुको दृश्यावलोकन गर्न पर्यटकहरुलाई सहज हुन्छ । पहाडी डाँडाकाँडा पर्यटकहरुका लागि आफैमा प्राकृतिक भ्युटावर बनेका छन। कुनै एक डाँडाको चुचुरोबाट हेर्दा दर्जनौ गाउँघरको अवलोकन गर्न सक्दछन् । त्यसै कारण धेरै पर्यटकहरुको रोजाई घुमफिरको लागि गाउँघर प्यारो हुने गर्दछ ।
अबको पर्यटन भनेको जति पूर्वाधारको विकास गर्न सकियो त्यतीनै पर्यटकको संख्या बढ्दै जाने हो । पर्यटन जस्तो अति सम्वेदन विषयलाई सस्तो प्रचारमात्र गरेर हुँदैन। पर्यटकहरुले घुमफिर गर्ने गाउँघरमा सुरक्षाको अनुभुति हुनु पर्दछ । गाउँघरमा कृषि क्षेत्रमा उत्पादन बढाउन पर्दछ । गाउँमा पुग्ने पर्यटकहरुलाई उत्पादित वस्तुहरु बिक्री गर्न सकियोस तब मात्र गाउँमा पनि पर्यटनको बिकास हुन्छ । पर्यटकहरुले आफु पुगेको गाउँठाउँबाट केही न केही चिनो स्वरुप बस्तुहरु घरमा लैजान चाहन्छन । पर्यटनको विकास गर्नको लागि स्थानीय बासिन्दाहरुमा कला र शिपको विकास हुन जरुरी छ । जुन शिपबाट उत्पादन भएका वस्तु पर्यटकहरुलाई किनुकिनु हुन सकोस र गाउँलेलाई आयआर्जन हुन सकोस, गाउँमा उत्पादन भएका बस्तुले गाउँठाउँलाई चिनाउन सकोस । उनिहरुले उत्पादन गरेका बस्तुहरु पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ गाउँमा पर्यटनको बिकास ।
होमस्टेको हब बन्दै लमजुङ
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्ट आजभोली देशैभरि ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सन्चालनमा आएका छन । लमजुङमा २०५७ सालमा घलेगाउँमा स्थानीय प्रेम घलेले होमस्टे सञ्चालनमा ल्याएका हुन । क्होलासोँथर गाउँपालिकाको घलेगाउँमा होमस्टे सुरु भएसँगै अहिले लमजुङमा घलेगाउँको सिको गर्दै पर्यटकहरुका लागि धेरै गाउँमा होमस्टे सन्चालनमा छन । गाउँशहर, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनासकोट, तार्कु, पुरानकोट, तुर्लुङकोट, पसगाउँ, इलमपोखरी, नाल्मा, छापा, म्रि्रा, भुस्मे, नरुवाल, पुमागाउँ, ताँजे, भलामचौर गाउँहरुमा सन्चालनमा छन भने कतिपय गाउँमा होमस्टे सञ्चालनका लागि तयारीमा छन ।
कसरी पुग्ने
काठमाडौँ, पोखरा र बेंशीसहरबाट दुराडाँडा सार्वजनिक बस सञ्चालनमा छ। आफ्नै निजी सवारीमा जानेहरुका लागि पृथ्वीराज मार्गको डुम्रेदेखि पाउँदी खोला-सुन्दर बजार हुँदै करिब १८८ किलोमिटरको दुरी ७ घण्टामा पुरा गरेर दुराडाँडा पुग्न सकिन्छ । पोखराबाट जानेले डुम्रे हुँदै गएपनि वा पोखराबाट सिधै बेगनास ताल, भोर्लेटार अर्थात मध्यपहाडी लोकमार्ग भएर पनि दुरडाँडा पुग्न सकिन्छ । अर्को बाटो गाउँसहर हुँदै बाख्रेजगत भञ्ज्याङ भएर जान पनि सकिन्छ ।