“भञ्ज्याङ” ४४ वर्षे यात्रामा !

आजबाट ‘भञ्ज्याङ’ले ४४ वर्षको यात्रा सुरु गरेको छ । नेपाली पत्रकारिता क्षेत्रमा संघर्षशिल यात्रा तय गर्दै आएको ‘भञ्ज्याङ’ले आफ्नो अलग पहिचान बनाएको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखरामा साप्ताहिक रुपमा प्रकाशन यात्रा सुरुवात गरेको भञ्ज्याङले वि.सं. २०५९ सालबाट दैनिकमा रुपान्तरण भई तनहुँको दमौलीबाट प्रकाशित हुँदै आएको छ । संघर्षशील इतिहास बनाउँदै, नेपाली समाजका महत्वपूर्ण पक्षहरूको प्रतिनिधित्व गरेको छ ‘भञ्ज्याङ’ले । पत्रिकाको इतिहास केवल छापिएको शब्दमा मात्र सीमित छैनन् । यो एउटा अविचल यात्रा हो, जसले नेपालका बिभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका समयलाई आत्मसात गर्दै आवाज बिहिनहरुको आवाजलाई उजागर गर्न निरन्तर लागिपरेको छ । विभिन्न उतारचढावका बीच यसले आफ्ना पाठकलाई निरन्तर समाचार र जानकारी प्रदान गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेको छ । यस यात्रामा भञ्ज्याङले केवल पत्रकारिता मात्र नगरी, सम्पूर्ण समाजमा एक जिम्मेवार र संवेदनशील दृष्टिकोणको विकास गरेको हामीले विश्वास गरेका छौं। भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित हुँदै आएको यस पत्रिका प्रविधिको विकाससँगै न्यू मिडियासंग पनि हातेमालो गर्दै अगाडि बढेको छ। लिथो, लेटरप्रेस हुँदै पोलि र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चार माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत गराएको छ । सत्य, तथ्यमा आधारित रहि भञ्ज्याङले अनवरत यात्रा गरिरहेको छ। प्रविधिको विकास र प्रयोगसंगै भञ्ज्याङको आफ्नो प्रकाशन देश दुनियाका शहरी तथा ग्रामीण क्षेत्रको कुनाकाप्चामा बसोवास गर्ने पाठकहरु माझ पु¥याउँदै आएको छ ।
भञ्ज्याङले पार गरेका ४३ वर्षे प्रकाशन यात्रा केवल एक पत्रिकाको यात्रा मात्र होइन, यो नेपाली समाजका समस्या र चुनौतीहरूको निरन्तर अन्वेषण हो। यो पत्रिकाले विकास र समृद्धिका लागि स्थानीय स्तरमा रोजगारी, बेरोजगारीको समस्या र सामाजिक समानताको लागि आवाज उठाएको छ । आजको विशेषाङ्कमा हामीले ‘अबको आवश्यकताः जीवनउपयोगि, प्रविधि र सीपयुक्त शिक्षा’ भन्ने विषयसंग जोडिएर समग्र तनहुँको शैक्षिक अवस्थालाई समेटेका छौ । मुलुक संघीय संरचनामा गएकाले, हरेक तहको सरकारसँग जनताको आशा र अपेक्षाको जिम्मेवारी आएको छ । भञ्ज्याङले यो जिम्मेवारीलाई बुझ्दै, युवाहरूको रोजगारी र समृद्धिका लागि प्रभावकारी कार्यक्रमहरूको वकालत गर्दै आएको छ । मुलुकमा नयाँ सम्भावना र अवसरहरूको सिर्जना गर्नका लागि स्थानीय सरकार र नागरिक समाजको साझेदारी अत्यन्त महत्वपूर्ण हुन्छ । तीब्रगतिमा बदलिरहेको संसारमा, केवल पुस्तकको ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त छैन । प्रविधिका परिवर्तन, विश्वव्यापीकरण र प्रतिस्पर्धाका कारण, शिक्षा प्रणालीमा केवल सैद्धान्तिक ज्ञानको सट्टा सीप र व्यवहारिक ज्ञानको महत्व बढ्दै गएको छ । आजको आवश्यकता जीवनउपयोगि, प्रविधि र सीपयुक्त शिक्षा हो, जसले विद्यार्थीलाई जीवनका विभिन्न क्षेत्रमा सक्षम र आत्मनिर्भर बनाउन मद्दत गर्दछ । विशेष गरी यस अंकमा हामीले तनहुँ र जिल्लाका दशवटै स्थानीय सरकारले शैक्षिक क्षेत्रको विकास र गुणस्तरीय शिक्षा प्रदानका लागि अवलम्बन गरेका गतिविधिलाई समेटेका छौ ।
यस अवसरमा, हामी सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता र शुभचिन्तकहरूमा हार्दिक आभार प्रकट गर्दछौं । भञ्ज्याङको भविष्यका लागि अझै सशक्त र प्रेरणादायक यात्रा तय गर्न यहाँहरुको थप साथ र सहकार्यको अपेक्षारत छौं । हरेक बर्ष पुरानो हुँदै जाने तर स्मरण योग्य हुनाले प्रत्येक नयाँ वर्ष जन्मिन्छ । यो अंक पनि आशा र समिक्षाका लागि पाठक माझ सुम्पिएका छौं । विगतमा जस्तै आगामि दिनमा पनि पाठक, विज्ञापनदाता, सकारात्मक आलोचक, शुभचिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं। नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि प्रदान गरोस्, मुलुकलाई समृद्धिको बाटो तर्फ उन्मुख गराउन सबै क्षेत्रबाट सकरात्मक पहल होस् । हाम्रो पनि शुभकामना ।