तनहुँ जलविद्युत आयोजनाको मादी नदीमा माछा संरक्षण योजना
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ जलविद्युत आयोजनाले मादी नदीमा माछा संरक्षण योजना सञ्चालन गर्ने भएको छ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा रहेका माछाका प्रजाति संरक्षणका लागि आयोजनाले यो योजना अगाडि ल्याएको हो ।
ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सीमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण माछाको आवातजावत प्रभावित भई माछालाई क्षतिपुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला र शहर प्रजातिका माछाको जीवन जोखिमा परेका छन् । यसको क्षतिपूर्ति स्वरुप मादी नदीतर्फो प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजनाले जनाएको छ ।
नेपालका रैथाने असला र शहर प्रजातिका माछालाई लोपोन्मुख तथा संकटापन्न माछाको प्रजातिका रुपमा लिइन्छ । योजना मुख्य रुपमा सेती र मादी नदीको संगमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन गरिने भएको छ ।
योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिका तनहुँको व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखहरु, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड, बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ ।
मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरुको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था बमोजिम समिति गठन गरिएको छ । जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्था बमोजिम माछा संरक्षण योजना व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याइने भएको छ ।
माछा संरक्षण समन्वय समितिका संयोजक एवं व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षमा बसेको बैठकले असारदेखि भदौ महिनासम्म माछाको प्रजनन् समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाइने भएको छ ।
बैठकबाट मादी नदीमा माछा संरक्षण सम्बन्धी सचेतना कार्यक्रम स्थानीय सञ्चारमाध्यम सूचना प्रकाशन तथा प्रशारण, र्सार्वजनिक ठाउँहरुमा सन्देशमूलक बोर्डहरु राखेर सचेत गराइने भएको छ ।
माछा संरक्षण योजनामा व्यास नगरपालिका ३, ४, ५, ६, ७ र १० नम्बर वडा, मध्य नेपाल नगरपालिकाको ४, ५, ६, ७ र ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ र ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ र १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानि समावेश गरिने भएको छ ।










