व्यासको सहयोगमा तनहुँका पत्रकारको स्वास्थ्य बीमा

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका पत्रकारको स्वास्थ्य बीमा गराएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा शाखाले जिल्लास्थित ३४ जना पत्रकारको स्वास्थ्य बीमा गराएको हो । त्यसमध्ये १८ जनाको नयाँ दर्ता गरिएको छ भने १६ जनाको नवीकरण गरिएको शाखाले जनाएको छ ।
शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकार महासंघको संस्थागत विकास र पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि नगरपालिका सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख न्यौपानेले कानुनी शासनमा खबरदारी गर्ने प्रमुख जिम्मेवारी पत्रकारहरुको रहेको बताउँदै समाजलाई सही मार्ग देखाउने काममा लाग्न आग्रह गरे। जहाँ सुशासन र विधिको शासन हुन्छ त्यहाँ त्यही ढङ्गबाट स्वतन्त्र प्रेसको विकास हुन सक्ने बताउँदै न्यौपानेले भने, “हामीले गरेका राम्रा कामको प्रचारप्रसार गर्दै गलत गरे सुधार्न कलम चलाउनुहोस् ।”
स्वतन्त्र, निष्पक्ष भएर कलम चलाउन आग्रह गर्दै न्यौपानेले जिल्लामा सञ्चारमाध्यममा आएको प्रगति सकारात्मक रहेको र यसमा चुनौति पनि थपिएको बताए । यहाँका सञ्चारमाध्यमलाई नगरपालिकाले विगत वर्षदेखि नै लोककल्याणकारी रुपमा विज्ञापन उपलब्ध गराउँदै आएको, पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने पत्रकारलाई आर्थिक सहयोग गरेको स्मरण गरे ।
शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले, महासंघका पूर्व अध्यक्ष ओमकार आचार्य, निवर्तमान अध्यक्ष उज्जल पौडेल, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश कमिटी सचिव एसवि नेपाली, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले स्वास्थ्य बीमा कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरे ।










