चितवनको इतिहास र पर्यटनको विकास

के.बि. मसाल

चितवन नौलो नाम त होइन । तराइबाट चाहे राजधानी जादा होस अथवा पूर्व पश्चिमका जिल्लामा यात्रा गर्दा चितवनको भूमीलाई सबैले कुल्चीयकै हुन्छम । नेपालको नक्सामा मध्य भागमा पर्ने चितवन लगभग समकोण त्रिभूज आकारमा रहको छ । पूर्व तथा दक्षिणतर्फ फराकिलो, पश्चिम र उत्तरतर्फ सागुरिएको चितवनलाई भित्री मधेश र राप्ती उपत्यका पनि भन्ने गरिन्छ । चितवनमा अहिले भरतपुर महानगरपालिका, कालिका, खैरहनी, माडी, रत्ननगर र राप्ती नगरपालिका पर्दछ भने इच्छाकामना गाउँपालिका पर्दछ ।

चितवनको आधुनिक विकासको इतिहास खासै लामो छैन । कुनै समय सेन बंशले शासन गरेको चितवनमा मुस्लिम आक्रमणबाट बच्न मानिसहरु पहाडी क्षेत्रमा बसोवास भयो । तत्कालीन राजाहरुले शत्रुहरुबाट बच्न गढी र टाकुरा रोजे पछि चितवनको समथर क्षेत्र जंगलले ढाकिन थाल्यो । अर्को तर्फ त्यो ससमयमा जंगली जनावरको डर र अत्यधिक गर्मीले औलो लगायत रोगका कारण मानव बसोबास कम थियो । तर पनि चितवनको मैदानी भागमा थारु जातीहरुले बसोवास गर्दै आएका थिए ।

पहाडी क्षेत्रमा चेपाङ जातिको बसोवास थियो । त्यसैले चितवनमा थारु र चेपाङजाती आदीबासी हुन । इतिहास पल्टाउँदा चितवनको भौतिक विकास सात दशक भन्दा लामो छैन । घनघोर जंगल कसरी सुबिधा सम्पन्न अहिलेको आधुनिक शहरमा परिणत भयो भन्ने कुरा नयाँ पुस्ताका लागि कथा बन्न सक्दछ । अहिलेको नारायणगढ बजार त्यो समयमा पहाडी जिल्लाबाट भारतीय बजार अर्थात ठोरीमा नुन तेल र घरायसी समान किन्न जाने बाटो पर्दथ्यो । भारतको नरकटिया बजार अर्थात ठोरीदेखि नारायणगढसम्म केही माल वाहक लडिया अर्थात गाडा पनि चल्दथे । वनको बाटोमा त्यो समय थारु जातीहरु जंगली जनावर भगाउन रातभर गीत गाउँदै गाडा हाँक्ने गर्दथे ।

चितवनको इतिहास खोज्दै जाने हो भने उपरदाङगढी पुग्नै पर्दछ । तर चितवनको पुरानो सदरमुकाम उपरदाङगढीको बारेमा भने खासै चर्चा भएको पाइन्न । उपरदाङगढी अहिले इच्छाकामना गाउँपालिका-७ मा पर्दछ । साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दहखानी गाउँ विकास समितिहरुलाई समेटेर अहिले इच्छाकामना गाउँपालिका भएको छ । उपरदाङगढीमा २५५ वर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहबाट निर्माण गरिएको गढी चितवनको सबैभन्दा ऐतिहासीक स्थल हो । यो गढीमा चितवनको पुरानो सदरमुकाम थियो । वि.सं. २०१६ सालसम्म सरकारी सबै अया र अदालत उपरदाङगढीमा रहेका थिए ।

ऐतिहासिक यो किल्ला चितवनको उत्तरी पहाडी भूगोलमा पर्दछ । उपरदाङगढीको प्रवेशद्वार तीन फुट चौडाइ र छ फुट उचाई रहेको छ भने गढी भित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट रहेको छ । गढीमा लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पडकाउने उद्देश्यले ९ वटा खुल्ला झयालहरु बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ । यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । प्रवेशद्वारको उत्तरी मोहडामा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।

चितवनको इतिहास मात्र होइन पर्यटकहरुले उपरदाङगढीमा खोज अनुसन्धान गर्न सक्दछन । बाह्रै महिना शितलताको अनुभव हुने उपरदाङगढी वातावरणीय हिसावले पनि रमणीय छ । आकाश सफा भएका बेला मनास्लु, गणेश हिमाल लगायतका हिमश्रृंखलाहरु उपरदाङगढीबाट देख्न सकिन्छ । उपरदाङगढी अर्थात इच्छाकामना गाउँपालिकाले अहिले पर्यटनको बिकासका लागि सडकको पूर्वाधार समेत निर्माण गरेको छ । पृथ्वीराजमार्गको फिस्लिङ देखि शक्तिखोरसम्म पर्यटकहरु साना सवारी साधनबाट यात्रा गर्न सक्दछन । फिस्लिङबाट चण्डीभञ्ज्याङ, तोलाङ, बाँसपुर, ओरलाङ, मायाटार, तेर्से, उपरदाङगढी हुँदै ४८ किलो मिटर सडक मार्गको यात्रामा शक्तिखोर पुगिन्छ ।

सडकले छुने यी सबै बस्तिहरु चितवनको पहाडी क्षेत्रहरु हुन । उपरदाङगढीबाट चितवनको भूगोल र्छलङ्ग देखिन्छ । यो गढी रणनीतिक हिसावले पनि महत्वपूर्ण रहेको छ । उपरदाङगढी चेपाङ, मगर र गुरुङहरुको पातलो बस्तिले घेरिएको छ । यी जातजातीहरुको आफ्नै मौलिक परम्परा, सँस्कृति र रितिरिवाज छन् । आजभोली गढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होमस्टेको सुविधा छ । होमस्टेमा तीनै जातिहरुको कला सँस्कृति अध्यन गर्न सकिन्छ । पर्यटकहरुको लागि पैदल मार्ग अर्थात ट्रेकिङ रुट बनाइएको छ । कतिपय पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ, सिराइचुली, जयन्दला, गढी हुँदै शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् ।

राणाहरुको पालादेखि राजा महाराजाहरुले शिकार खेल्ने चितवनको जंगल मानव बस्तिको लागि वि.स. २०१२ सालमा राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसालेका हुन । ०१८ साल भन्दा पहिले नेपाल ३५ जिल्लामा विभाजन थियो । त्यस समयमा चितवन र मकवानपुर एउटै जिल्ला थियो । जसको प्रशासनिक केन्द्र चिसापानीगढीमा राखिएको थियो । चिसापानीगढी अहिले मकवानपुर जिल्लामा पर्दछ । चितवनको समथर उर्वर भूमिलाई मानव बस्ति बसाल्ने र खाद्यान्न उत्पादन गर्ने उद्देश्यले तत्कालीन राजा महेन्द्रले राप्तीदुन उपत्यका विकास समिति गठन गरेका थिए ।

त्यो बेला महामारीका रुपमा फैलिएको औलो अमेरिककाको सहयोगमा उन्मूलन गरिएको थियो। यो सहयोगलाई नेपाल भित्रिएको पहिलो र सबैभन्दा ठूलो विदेशी सहयोग मानिन्छ । राप्तीदुन उपत्यकाको वृहत गुरुयोजना तयार पारी चितवनमा बस्ति बसाउन सुरु गरेपछि थारु जातीको मात्रै बसोबास रहेको चितवनमा पहाडी मुलका मानिसहरु बसाइ सरेर आउनेहरुको संख्या थपिन थाल्यो । २०१२ सालमा डोको बोकेर नयाँ सपना लिएर चितवन झर्ने मानिसहरुको सपना कति जनाको पुग्यो ? अथवा कतिले जीवनको अन्त्यनै चितवनको जंगलमा गर्नुपर्‍यो ! त्यसको तथ्याङ्क को संग होला र ? जंगल फडानी गर्न लगाउने राजा महेन्द्रको मृत्यु पनि नारायणगढ नजिकै दियालो बंगलामा नै २०२८ सालमा भयो ।

राजा महेन्द्र कुटिल थिए । अरुको कुरा सुन्दथे आफ्नो विचार लागु गर्थे । चितवनको जंगल फडानी गरेर बस्ती बसाल्नु पनि त्यसैको कारण हो । महेन्द्रलाई बाबुले दिएको प्रजातन्त्र मनपरेको थिएन । कुनै कारणबाट दिएको प्रजातन्त्र खोसेर राज्यसत्ता आफ्नै हातमा लिएर राजकाज गर्ने उनको इच्छा थियो । दरवारमा त्यतिबेला प्रायः धवलागिरी, गण्डकी, लुम्विनी र वागमती अञ्चलको सरोफेरोमा बस्ने मानिसहरु हावी हुने गर्दथे । उनिहरुले राजालाई सत्ता हत्याउनका लागि योजना पेश गरे । जुन योजनामा थियो चितवनको जंगल फडानी गरी दरवार विरोधी गतिबिधि सञ्चालन गर्ने र गर्न सक्ने मानिसहरुलाई जमिन बाढ्ने ।

पूर्व योजना अनुसार प्रत्येक जिल्लाबाट मानिसहरु बोलाएर चितवनमा बस्ति बसाल्न सुरु भयो । त्यस पछि २०१७ सालमा महेन्द्रले कु गरी सत्ता हत्याएका हुन । चितवन फडानी हुँदा त्यहाँका राम्रा काठ विदेश पुगे । दर्ुलभ वन्यजन्तुहरु मारिए । ति जनावरका हाड, छाला, खाग जस्ता वहुमुल्य बस्तु बिक्रि भए । मुलुकको प्राकृतिक सम्पदाको विनास भयो । तर पनि चितवन फडानीले मुलुकमा विकासको सुरुवात भयो । महेन्द्रबाट नै पूर्व पश्चिम राजमार्गको शिलन्यास २०२२ सालमा गैंडाकोटमा भयो । जुन सडक भारत, वृटिस, अमेरिका लगायत विदेशिको आर्थिक सहयोगमा मेचीदेखि महाकालीसम्म १०५० किमिको सडक निर्माण हुन सक्यो ।

चितवन हाल नेपालका सतहत्तरै जिल्लाका मानिसहरु बसोबास गर्दछन । जुन कारणले चितवन विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको विविधतामा एकता भएको जिल्लाको रुपमा चिनिन्छ । यिनै विविधताको कारणले गर्दा नै आन्तरिक एवं बाहृय पर्यटनको हिसाबले समेत चितवन अग्रस्थानमा रहेको छ । चितवन जिल्लाको अध्यन भ्रमण गर्नका लागि पर्यटकहरुले प्याकेज कार्यक्रम नै बनाउँदा राम्रो हुन्छ । किन भने चितवनको भूगोल नै त्यस किसिमको छ । चितवनमा घुम्न कहाँ कहाँ पुग्ने ? पहाडी भूगोलमा जाने की ? माडी उपत्यकामा जाने अथवा भरतपुर वरपर र निकुञ्जमा जाने ?

यी कुराको निधो गरी यात्राको समय र खर्चको जोहो गरी चितवन घुम्न जाँदा राम्रो हुन्छ । चितवनमा सौराहा, मेघौलीको टाइगर टप, राष्ट्रिय निकुञ्ज, नारायणी र त्रिशुलीमा गरिने जलविहार बाहृय पर्यटनका लागि आकर्षणको रुपमा रहेका छन् भने देवघाट, त्रिवेणी, वाल्मिकी आश्रम, गोद्धाक, विक्रम बाबा, वागेश्वरी, चित्रसारी जस्ता धार्मिक स्थलहरु तीर्थाटन पर्यटकहरुको रोजाइमा पर्ने गर्दछ । चितवनमा अहिले सहरीकरणको क्रम बढदो छ । आजभोली चितवन नारायणघाट मात्र होइन टाँडी, पर्सा, खैरहनी, पर्साढाप, मुग्लिन, चनौली, रामपुर, मंगलपुर, जगतपुर, गीतानगर, शिवनगर, भण्डारा, कुरिनटार, वसन्तपुर, बरुवा बजार, पटिहानी, पार्वतीपुर, शारदानगर, मेघौली आदि ठाउँहरुमा बजार भएको छ ।

चितवन उपत्यका भौतिक एवं पर्यटनको लागि सुन्दर, समुन्नत र आकर्षक उपत्यका मानिन्छ । चितवन उपत्यका भित्र विचमा राष्ट्रिय निकुञ्जले सिमा दिएर दक्षिण पट्टी माडी उपत्यका बनेको छ । भरतपुरको चौबिसकोटीदेखि ४० कि.मी.दक्षिणमा माडी उपत्यका पर्दछ । माडी उपत्यका चितवन जाने पर्यटकहरुले पुग्नै पर्ने हुन्छ । माडी उपत्यका भित्र पर्ने गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी सबैलाई मिललाएर अहिले नगरपालिका भएको छ । माडी प्राकृतिक हिसाबले पनि अत्यन्त सुन्दर, रमणीय ठाउँ हो । माडी उपत्यकाको रेवा नदी माडी क्षेत्रको दक्षिण पुर्बबाट उदगम भै राष्ट्रिय निकुन्जसंग जोडिएर पश्चिम तर्फ नागबेली आकारमा बगेको छ ।

माडी उपत्यकालाई रिउ उपत्यका पनि भन्ने गरिन्छ । माडी उपत्यका भित्र तीर्थाटन पर्यटकहरका लागि सोमेश्वर कालीका मन्दिर, वैकुण्ठ ताल, पर्शुराम कुण्ड, पाचपाण्डब वनबास बसेको क्षेत्र र विक्रम बाबाको मन्दिर रहेको छ । जसले गर्दा आजभोली आन्तरिक एव वाहृय पर्यटकहरु पुग्ने गर्दछन । द्वन्द्व कालको अत्यन्त हृदय विदारक बाँदरमुढे घटनाको स्मारक पनि माडी पुगेपछि पर्यटकहरुले अवलोकन गर्न सक्दछन । अर्को तर्फमाडी पुगेपछि पर्यटकहरुले समय निकाल्न सके ठोरी समेत पुग्न सकिन्छ । माडी देखि ठोरी ३५ किलो मिटर पर्दछ । माडी उपत्यकामा पर्यटकहरुलाई बस्न खान कुनै समस्या पर्दैन । माडीमा बोटे, थारु र मगर जातीहरुले होमस्टे सञ्चालनमा ल्याएका छन ।

चितवनको पर्यटन भन्ना साथ धेरैको बुझाइ राष्ट्रिय निकुञ्ज भन्ने हुन्छ । हुन पनि हो निकुञ्जमा वाहृय पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटकहरुको पनि घुइचो लाग्ने गर्दछ । राष्ट्रिय निकुञ्ज भित्र पाइन एक सिंगे गैंडा, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालु लगायतका जंगली जनावर हेर्नकै लागि पर्यटकहरु निकुञ्जमा हात्तीमा सफारी गर्दै घुम्ने गर्दछन । निकुञ्ज भित्र रहेको घडियाल गोही प्रजनन केन्द्र र विभिन्न किसीमका किराफटेगंरा, चराचुरुगीं हेर्न समेत हजारौ स्वदेशी तथा वाहृय पर्यटकहरु निकुञ्जमा पुग्दछन । निकुञ्जमा पाइने यीनै दुर्लभ वन्यजन्तु र जैविक विविधताले चितवनमा पर्यटकहरु घुम्न मन पराउछन ।

विश्व सम्पदा सुचीमा समेत सुचिकृत निकुञ्ज भित्र रहेका ठूला घांसे मैदान, सिमसार क्षेत्र ताल र चराहरुको चिरविर आवाजले पर्यटकहरुलाई आकर्षण गर्दछ । त्यसमा पनि हात्तीमाथी चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्ज भित्रका जंगली जनावर हेर्न पर्यटकहरुलाई रमाइलो हुन्छ । चितवनमा वाहृय पर्यटकहरुको आगमन भने मेघौलीमा होटल टाइगर टप्स सन्चालन भए देखि मात्र सुरुवात भएको हो । तर अहिले मेघौलीको टाइगर टप्स होटल बन्द भएको पनि ११ वर्षभन्दा बढी भएको छ । २०६९ सालमा सर्वोच्च अदालतको आदेशबाट टाइगर टप्ससँगै निकुञ्जभित्रका आइल्यान्ड जंगल लज, टेम्पल टार्इगर्स लज, सफारी नारायणी, चितवन जंगल लज, मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्ड लाइफ क्याम्प पनि बन्द भएका छन ।

विश्वसम्पदा सूचीमा सूचीकृत निकुञ्ज र राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु हो । मेघौली भरतपुरको चौबीसबोठीदेखि २५ किलोमिटर पश्चिम दक्षिणमा पर्दछ । मेघौलीमा जंगल सफारी, डुंगा सफारी, होमस्टेको बसोबाससँगै नारायणी र राप्तीको संगमस्थल गोलाघाटबाट देखिने सूर्यास्तका लागि समेत परिचित छ । मेघौली क्षेत्र पर्यटकहरुलाई गैंडा, बाघलगायत वन्यजन्तु र चराचुरुंगी सजिलै अवलोकन गर्न सकिने स्थानमा पर्दछ ।

मेघौली पुगेपछि पर्यटकहरुले दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जगंल वाक र जीप सफारीमा रमाउन पाउछन । अको तर्फ चरा अध्ययन, अवलोकनकर्ता खर मयुर हेर्नका लागि पनि मेघौली पर्यटकहरुको रोजाइमा पर्दछ । मेघौली क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेल र थारु घरबास अर्थात होमस्टे सञ्चालनमा छन । थारु होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त सग्रहालय बनेको छ ।

पर्यटकहरुलाई होमस्टेमा मौलिक वेषभूषासहित फूल र टीका लिएर थारु युवतीले पर्यटकलाई स्वागत गर्दछन । स्वागत सत्कारले पर्यटकहरु खुशि हुन्छन । होमस्टेमा पर्यटकहरुले हाँसको मासु, चिचर, घोगी, माछा, निउरो, नुन खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद लिन पाउछन भने साँझमा देखाइने लठ्ठी नाच अर्थात स्टिक डान्स, झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्यले पर्यटकहरु दंग पर्दछन ।

चितवनमा मेघौली मात्र होइन धेरै पर्यटकहरु पटिहानीमा पनि पुग्दछन । पटिहानी क्षेत्रमा अम्ब्रेला स्ट्रीट, कमल पोखरी, स्टोन पार्क पर्दछ। निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानीमा आरामदायी रिसोर्ट तथा होटलहरु समेत छन् । थारु परिकारको स्वाद लिंदै राप्ती नदीपारि देखिने वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरु रमाउँछन । चितवन पुगेपछि बीसहजारी ताल पुगेन भने पर्यटकहरुको भ्रमण अधुरो मानिन्छ । बीसहजारी ताल प्राकृतिक विविधताले भरिपूर्ण छ ।

बीसहजारी ताल जंगलको बिचमा पर्दछ । पर्यटकहरुले तालमा वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न सक्दछन । आजभोली नारायणगढको नारायणी नदी किनार मर्निङ र इभिनिङ वाक, मात्र नभै पर्यटकहरुका लागि नयाँ गन्तव्य बनेको छ । अहिले नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा परिवर्तन गर्न पूर्वाधारहरु निर्माण भएको छ । पर्यटनका लागि नदी किनारमा बुद्धको अग्लो प्रतिमा, सरस्वतीको मूर्ति, चौतारी जस्ता संरचना निर्माण भएका छन् ।

पर्यटकहरुले नारायणी नदीमा जलयात्रा गरेर मनोरञ्जन लिन पनि सक्दछन । देवघाटदेखि त्रिवेणीधामसम्म तीर्थाटनका पर्यटकहरु जलयात्रामा जाने गर्दछन । चितवनको यात्रामा देवघाट पुग्नै पर्ने हुन्छ । त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाट पवित्र धार्मिक स्थल मानिन्छ । यो बाहेक पर्यटकहरु नारायणगढ-मुग्लीन सडक मार्गको जलविरे झरना, चौकीडाँडा, कसरामा गोही प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र, विक्रमबाबा मन्दिर, आँपटारीमा दियालो बंगला, भरतपुरको गणेश मन्दिर, राइनो ताल र धनगडा मन्दिरमा पनि पुग्न सक्दछन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker