लघुकथा : सुखको खोजी
सुरेशकुमार पाण्डे

“ए चमेली ! तिमी कताबाट ?”
सिलाले अँगालो हाल्दै सोधी।
“खै के भनूँ यार ! आफ्नो जीवन यस्तै कोर्ट–कचहरीमै बित्ने भयो। बरु तिम्रो के छ हालचाल ?”
चमेलीले सिलाको अनुहार नियाल्दै सोधी। उनीहरूले सँगै कलेजको पढाइ पूरा गरेका थिए।
“मेरो त ठीकै छ। पहिले कहिल्यै नचिनेको घर–परिवारमा कस्तो होला भनेर डर लाग्थ्यो। अहिले त घरका सबैले धेरै माया गर्छन्। उहाँले पनि असाध्यै माया गर्नुहुन्छ। मागी विवाह गरेकी भए पनि यस्तो परिवार होला भनेर मैले कल्पनासमेत गरेकी थिइनँ,”
सिलाले आफ्नो बारेमा बताई।
“अनि आज किन कोर्टमा आएकी ?”
सिलाले फेरि प्रश्न गरी।
“वकिलले बोलाएका थिए। डिभोर्सको कागजमा सहीछाप गर्नका लागि आएकी हुँ। अहिले वकिलकै बाटो कुरिरहेकी छु,”
चमेलीले भनी।
“के ? परार साल त अनिलसँग डिभोर्स दिएको भनेकी थिइस् होइन र ?”
उसले आश्चर्य व्यक्त गर्दै सोधी।
“हो यार ! अनिलसँग डिभोर्स भएपछि फेरि टोपलालसँग विवाह गरेकी थिएँ। तर अनिलभन्दा पनि यो जँड्याहा, जुवाडे र ऐयास रहेछ भन्ने थाहा भएन। बरु अनिल रक्सी खाए पनि माया त गर्थ्यो, तर यसले त मारपिटसमेत गर्छ। त्यसैले यसलाई पनि डिभोर्स दिँदै छु,”
चमेली मलिन हुँदै आफ्नो पीडा सुनाउन थाली।
“मैले त उतिबेलै भनेकी थिएँ— विवाहजस्तो कुरा हतारमा गर्नु हुँदैन। विवाहपछि केही कमी–कमजोरी भयो भन्दैमा डिभोर्स पनि हतारमा गर्नु हुँदैन। तिमीले डिभोर्स दिएको अनिल त अहिले जाँड–रक्सी छाडेर समाजसेवामा लागेको छ। उसले दोस्रो विवाह पनि गरेको छैन। तिमीलाई अहिले पनि असाध्यै माया गर्दोरहेछ। केही दिनअघि भेट हुँदा तिम्रै कुरा गर्दै थियो,”
सिलाले विगत सम्झिँदै भनी।
“ठूलो पछुतो भयो। अब त के नै हुन सक्छ र ? सुखको खोजीमा हिँडेकी झन् ठूलो दुःखमा परेँ,”
चमेली भावुक हुँदै भनी।
“हतारको निर्णयले ल्याएको परिणाम हो, चमेली। चिन्ता नगर, कुनै न कुनै उपाय अवश्य निस्केला,”
सिलाले ढाडस दिँदै बिदा भई।
दाङ, घोराही–१८










