“बिपदमा साथी”

बिष्णु पौडेल 'निरिस'

जहाँ भुइँ फुट्छ,
त्यहाँ केवल माटो च्यातिँदैन,
भत्किन्छ भविष्यको सपना
टुक्रिन्छ नसोचिएको वर्तमान
बाँकी रहन्छ
केवल चिसो र विवश आवाज
जुन भग्नावशेषको भित्रबाट
कर्कश धुनमा
“बचाउ!” भन्दै कराइरहेको हुन्छ
त्यही बेला,
एउटा बुटको छाप
चुपचाप टेको लगाउँछ
समयको निधारमा,
बिपदमा साथी बनेर
सशस्त्र प्रहरी बल, नेपाल ।

न नायक झैँ हाँस्छ,
न कुनै आकाशबाट
ओर्लेको देवदूत हो उ
शान्ती, सुरक्षा, प्रतिबद्धताको
मुलमन्त्र जप्दै
उसले भिजेको माटोमा
आशाको बीउ रोप्छ
बिपदको साथी
सशस्त्र प्रहरी बल, नेपाल ।

शान्तीको खातिर
उसले हातमा हतियार मात्र होइन
आँखामा संवेदना पनि बोकेको छ
पर्खाल चुँडिएको घरभित्र
घोप्टिएको जीवन
उज्यालोमा ल्याउने
उसको सास, उसका पाइला,
उसको रगत
सबै, उद्धारका कविता हुन् ।

जहाँ पहिरोले बाटो गिज्याउँछ,
त्यहाँ ऊ आफ्नो काँधमा बोक्छ
मान्छेको अस्तित्व
ऊ भत्किएको पुल होइन
पुल भएर उभिन्छ
मन र मनबीच
जीवन र मृत्युवीच ।

जब आकाशमा
चिच्याउने हेलिकप्टर देखिन्छ
तल उसले बनाएको
स्थायी शिविरमा
एकजना आमाले
पहिलोचोटि आफ्नो नानीलाई
सुरक्षित देखेर मुस्कान छर्छिन ।
त्यही मुस्कान
उसको पदक हो ।

ऊ राहत बोक्छ
तर केवल
चामल, पाल र औषधि होइन
ऊ बोक्छ आशा
भरोसा र सहारा ।
उसको ढाडमा
पीडित बालक निदाउँछ
सुत्केरी महिला निदाउँछिन
वृद्ध निदाउँछन
ढुक्कसग बलियो आड मानेर
उसको काखमा
ऊ थकाइ नमानी
अविरल बगिरहन्छ
भरोसा, प्रेम बोकेर
मनको खोलाबाट ।

घाइतेका लागि
ऊ डाक्टरभन्दा पहिले पुग्छ,
उपचारका औजार छैनन्
उसका हातमा,
तर उसले घाउ भन्दा अगाडि
डरमा मलम लगाउँछ ।
बिपदमा साथी
सशस्त्र प्रहरी बल, नेपाल ।

आगलागीको लप्कामा
जहाँ मान्छेहरू
भागिरहेका हुन्छन्
ऊ पसिरहेको हुन्छ
हातमा पानी मात्र होइन
साहसको सन्देश बोकेर ।

बिपदमा साथी
सशस्त्र प्रहरी बल, नेपाल
कसैको नाममा कविता लेखिँदैन
उ बिनाको विपद् इतिहासमा
ऊ केवल सुरक्षाकर्मी होइन,
ऊ एक प्रतीक हो
धैर्यको, दृढताको
र मौन बलिदानको ।

– बिष्णु पौडेल निरिस, स्याङ्जा ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker