नेपालमा पुस्तकालयको इतिहास
के.बि. मसाल

नेपालमा पुस्तकालयको इतिहास शिलालेख, ताम्रपत्र आदिमा लेखिएको अभिलेखबाट सुरु भएको छ। त्यो बेला त्यस किसिमका सामग्रीहरु मठ मन्दिरमा राखिन्थ्यो र सबैको लागि सार्वजनिक सूचना बन्ने गर्दथ्यो। विश्वको इतिहासमा ई.पू. ६२६ पहिले स्थापना गरेको निनेभ पुस्तकालयलाई विश्वको पहिलो पुस्तकालयको रुपमा लिने गरिन्छ । नेपालमा पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि गोरखा र नुवाकोट दरबारबाट जम्मा पारेका हस्तलिखित ग्रन्थ पूजाकोठामा जम्मा पारेर राखेका थिए। त्यहि सामग्रीलाई राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा वि.सं. १८६९ मा पुस्तकालय सम्बन्धी लालमोहर जारी भएपछि पुस्तकालयको सुरुवात भएको हो । २०६५ भदौ १५ गतेदेखि नेपालमा ऐतिहासिक स्मरण गर्दै पुस्तकालय दिवस मनाउन शुरु गरिएको हो । नेपालमा संस्थागत पूस्तकालय स्थापना भएको २१२ वर्ष भएको छ भने पुस्तकालय दिवस मनाउन सुरु गरिएको १७ वर्ष भएको छ ।
पुस्तकालय शब्द संस्कृत भाषाको पुस्तक र आलय शब्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ। यसलाई ग्रन्थालय पनि भनिन्छ । कुनै बेला ज्ञान र सूचना पुस्तकबाट मात्रै पाइने हुनाले पुस्तकालय भनिएको हो । तर अहिले सूचना केन्द्र पनि भन्न थालिएको छ। पछिल्लो समय पुस्तक प्रकाशनको इतिहाससंगै पुस्तक जम्मा पारेर पुस्तकालयको सुरुवात भएको पाइन्छ । नेपालमा पुस्तकालयको बिकासका क्रममा प्राचीनकाल, मध्यकालीन पुस्तकालय, मल्लकालीन, आधुनिककालीन पुस्तकालय, राणाकालीन र अहिलेको अवस्थालाई हेर्दा बिभिन्न कालखण्डमा पुस्तकालयको बिकासको क्रम थपिदै गएको पाइन्छ । तर पनि पुस्तकालयको इतिहास आदिम कालदेखि वर्तमानसम्मको स्थापना र विकासका बारेमा किटान गरेर भन्न मिल्ने प्रमाण छैन भन्दा पनि हुन्छ । तर पनि प्राचीन मठमन्दिर, गुम्बा, विहार र पाटीपौवामा प्राप्त शिलालेख, ताम्रपत्र, भुर्जपत्र, ताडपत्र, र जोपत्र, ठयास्फूलगायतका सामग्रीको अध्यनले के देखाउँछ भने प्राच्य वाङ्मय र ऐतिहासिक संस्कृतका वेद, ज्योतिष, धर्म, तन्त्र, दर्शन, शस्त्रकला, युद्धकलाको अध्यन भने हुन्छ ।
वीरशमशेरको शासनकालमा थापाथली दरबारको जैसीकोठामा भएका सबै पुस्तक लगायतका सामग्रीहरु दरबार हाइस्कुलमा सारिएको थियो । पछि त्यसैलाई दरबार लाइब्रेरीका नामले नामकरण गरियो । यो पुस्तकालयमा दरबार हाइस्कुलमा पढने छात्रछात्रा, गुरुलगायत सबैले अध्ययन गर्दथिए । पछि दरबार हाइस्कुलको जीर्णोद्वार गर्नुपर्ने भएकाले वि.सं. १९५७ मा पुस्तकालयलाई घण्टाघर नजिकको नयाँ भवनमा सारियो र घण्टाघर लाइब्रेरीका नामले सम्बोधन गर्न थालियो । देवशमशेरले प्रधानमन्त्री भएपछि गोरखापत्रको वर्ष १ अंक २ मा सूचना प्रकाशित गरी सो पुस्तकालय सबै सर्वसाधारणका लागि खुला गराएका थिए। वि.सं. १९६२ मा पुस्तकालयको नाम बदलेर वीर लाइब्रेरी सरकारी पुस्तकखाना राखियो र पुस्तकालयमा अध्ययन गर्न प्रधानमन्त्रीको स्वीकृति अनिवार्य गरियो । पछि फ्रान्सेली इतिहासकार सिल्वाँ लेबी आएर वीरशमशेरको विशेष अनुमतिमा प्राचीनतम पुस्तक र अभिलेखहरु अध्ययन गरेका थिए। वीरशमशेरले नै कलकत्ताबाट एसियाटिक सोसाइटीका प्रतिनिधि हरप्रसाद शास्त्रीलाई झिकाई अनुगमन अवलोकन गरी संस्कृतका विशेष पाण्डुलिपि र पुस्तकहरुको वृहत सूचीपत्र बनाउने काम गरेका थिए । वि.सं. १९८९ मा प्रधानमन्त्री भीमशमशेरले त्यहाँका पुस्तकहरुको संस्कृत फाँट र भोटे फाँट भनेर वर्गीकरण गरी सूचीपत्र बनाउने काम भयो। तिब्बती भाषाका पाण्डुलिपि र ग्रन्थहरुको वर्गीकरण गरी सूचीपत्र बनाउने काम भयो । यसलाई वि.सं. २००९ मा पुरातत्व विभाग अन्तर्गत राखियो । अनि घण्टाघरमा भएको वीर लाइब्रेरी सरकारी पुस्तकखानाको किताब जति रामशाह पथको राष्ट्रिय अभिलेखालयमा सारियो ।
राणाशासनको बेलामा व्यक्तिगत प्रयोजनका लागि भनेर स्थापित पुस्तकालयहरुको अत्यन्तै ठूलो महत्व रहेको पाइन्छ । चन्द्र शमशेरका छोरा केशर शमशेर १८९२–१९६४ ले वि.सं. १९६५ सन १९०८ बाट, राणा प्रधानमन्त्रीका राजगुरु हेमराज पाण्डेले सन् १९१० तिरबाट र सिंह शमसेर जबराले पनि पुस्तकहरुको संकलन गर्न थालेका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९५२ र १९६० मा केशर पुस्तकालयको अवलोकन गरेका थिए। सिंह शमशेरको पुस्तकालय पछि त्रि.वि. पुस्तकालयलाई हस्तान्तरण गरियो र हाल त्रि.वि. पुस्तकालय भित्र सिंह कलेक्सनको नाममा परिचित छ। वि.सं. १९६६ मा राममणि आदीले भंसारहिटी टंगाल ग्रैहीधारामा शान्ति निकेतन पुस्तकालयको स्थापना गरेका थिए ।
जनस्तरबाट वि.सं. १९८३/८४ तिर पाल्पामा पुस्तक पढने दलानको स्थापना र वि.सं. २००१/२००२ तिर सार्वजनिक पुस्तकालयको रुपमा धवल पुस्तकालयको स्थापना गरेको पाइन्छ । धवल पुस्तकालयमा तत्कालीन राजा महेन्द्र र महाकवि देवकोटाले समेत अवलोकन गरेका थिए । त्यसैगरी सन् १९४३ मा सर्वोच्च अदालतमा पुस्तकालयको स्थापना, सन् १९४६/४७ तिर विराटनगरमा आदर्श पुस्तकालय, बुटवलमा महाविर लाइब्रेरी, बन्दीपुरमा पद्य पुस्तकालय, धरानमा सामुदायिक विद्या भवन पुस्तकालय, सर्लाहीमा मनोहर मोहन पुस्तकालय, बाग्लुङमा विद्यामन्दिर पुस्तकाल, पोखराको महेन्द्र पुलमा सार्वजनिक पुस्तकालय स्थापना भएको थियो। स्थापना भएका पुस्तकालयहरुमा धेरैजसो जनस्तरबाट स्वतःस्फूर्त रुपमा स्थापना गरिएका थिए ।
वि.सं. २००७ सालको परिवर्तन पश्चात नेपालमा पुस्तकालयको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । सन् १९५१ मा भारतीय दूतावासको सहयोगमा नेपाल–भारत मैत्री पुस्तकालयको स्थापना र सन् १९५२ मा अमेरिका र बेलायती दूतावासको सहयोगमा मिसन पुस्तकालयहरुको स्थापना भए। गुरुजु पुस्तकालयलाई नेपाल सरकारले खरिद गरी नेपाल राष्ट्रिय पुस्तकालय वि.सं. २०१३ मा स्थापना, साहित्यिक कृतिको संरक्षणको लागि मदन पुरस्कार पुस्तकालय वि.सं. २०१३ मा स्थापना, शैक्षिक पुस्तकालयको रुपमा त्रि.वि. पुस्तकालय वि.सं. २०१६ मा लगायत अन्य थप दशवटा विश्वविद्यालयका पुस्तकालयहरु, सयौं कलेज र हजारौं स्कुलमा पुस्तकालयहरु स्थापना हुँदै गए । केशर सम्शेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. २०२६ देखि केशर पुस्तकालयको रुपमा संचालन हुँदै आएको छ । यो हाल शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत संचालन भैरहेको छ । राणाकालसम्म सरकारी तवरबाट बाहेक गैरसरकारी तवरबाट कसैले पुस्तकालय खोल्न पाइन्न थियो । जसका कारण सार्वजनिक पुस्तकालयहरु खुल्न सकेका थिएनन् । सरकारले खोलेको पुस्तकालयमा सबैको पहुच पुग्ने थिएन ।
त्यस समयमा पढ्न नपाएका नागरिकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत ४० र ५० जना युवकले पुस्तकालय खोल्ने प्रयास गरेका थिए । तर सबैलाई राणा सरकारले राजद्रोहको मुद्दा लगाई प्रतिव्यक्ति एकसय जरिवाना गराइएको थियो । जस्लाई लाइब्रेरी पर्वको नाममा लिने गरिएको छ । प्रजातन्त्रको स्थापनापछि दाङको घोराहीमा सर्वोदय पुस्तकालय, डोटी सिलगढीको गिता पुस्तकालय सहित केही पुस्तकालय खुल्दै गए। वि.सं. २०१३ सालमा राजगुरु हेमराज पाण्डेको व्यक्तिगत पुस्तकालय भारती भवनका पुस्तकहरु नेपाल सरकारले किनेर सिंहदरबारस्थित सिक्रि ढोकामा राखियो । त्यति बेलामा नेपाल सरकार र अमेरिकी सरकारको युएसआइडीबीच काठमाडौमा एउटा पुस्तकालय खोल्ने विषयमा सम्झौता भयो । फलस्वरुप २०१६ सालमा डा. ई.डब्लु इरिक्सनको नेतृत्वमा काठमाडौमा केन्द्रीय पुस्तकालय नाममा अत्याधुनिक पुस्तकालय स्थापना भयो ।
नेपालमा राष्ट्रिय पुस्तकालय, सार्वजनिक पुस्तकालय, शैक्षिक पुस्तकालय र विशेष पुस्तकालयहरु सञ्चालनमा छन । पछिल्लो समयमा रुम टु रिड नामक संस्थाले पनि नेपालमा पुस्तकालय खोलेर पुस्तकालयको विकासमा सहयोग गरेको छ । नेपालको धेरै जिल्लाका विद्यालयहरुलाई रिडले पुस्तकालय स्थापनाको लागि सहयोग दिदै आएको छ । नेपालमा कति वटा पुस्तकालयहरु छन अथवा चलिरहेका छन भन्ने यकिन तथ्याक पाउन गारो छ । रिडले ४ हजार ७४२ विद्यालय पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ। नेपालमा पुस्तकालय विद्यालयमा, महाविद्यालय वा क्याम्पस पुस्तकालय र विश्वविद्यालाय पुस्तकालयहरु रहेका छन । विशेष पुस्तकालयका रुपमा कृषि पुस्तकालय, वन विज्ञान पुस्तकालय, इन्जिनियरिङ पुस्तकालय, चिकित्सा विज्ञान पुस्तकालय, टेलिभिजन पुस्तकालय आदि बिशेष प्रयोजनका लागि खोलिएका पुस्तकालय छन । विद्यालय बाहेक रिडले सार्वजनीक पुस्तकालय स्थापना गर्नको लागि पनि धेरै जिल्लामा सहयोग पु¥याउदै आएको छ । रिडले नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालनमा सहयोग गरेको छ । रिडले सञ्चालन गरेका पुस्तकालयहरु समुदाय र दिगो विकाससँग जोडिएको छ ।
तर पछिल्लो समय पुस्तकालयमा पुगेर पढने संस्कृति हराउन थालेको छ । पुस्तक अध्ययनबाट ज्ञान र मनोरञ्जन दुबै प्राप्त गर्न सकिन्छ । पुस्तकले समाजको संस्कृति सभ्यता र व्यवहारको जानकारी दिन्छ । साहित्यक कृतिले मानव जीवनको यथार्थ बुझ्न सहयोग गर्छ । संसारको हरेक क्षेत्रमा रहेका मानिसहरुबारे जानकारी लिन पनि पुस्तक अध्ययनले सहयोग पु¥याउँछ । पुस्तकालय ज्ञान सामग्रीको एउटा अमूल्य नीधि हो । पुस्तकालय मानव सभ्यताको एउटा चित्र संग्रहपनि हो। पुस्तकालय बौद्धिक निर्माणको आधारशिला हो । सभ्यता तथा संस्कृतिको अमूल्य सम्पति हो । कुनैपनि देशको कला, संस्कृत, शिक्षा विकासको पौरख हो । आजभोली विशेषगरी ग्रामीण क्षेत्रमा सामुदायिक पुस्तकालयको छुट्टै महत्व हुन थालेको छ । दुर दराजका ग्रामीण क्षेत्रमा पनि पुस्तकालयले विभिन्न प्राविधिक ज्ञान प्राप्त गर्न समुदायमा पुस्तकालयले सहयोग गरेको छ । अर्को तर्फ पुस्तकालयमा पुगेर अध्यन गर्ने मानिसहरले सचेतना फैलाउने खालको ज्ञान तथा सीप प्रदान गर्न सक्ने भएका छन । कृषकहरुका लागि प्राविधिक तालिम, ज्ञान र सीपको विकास गर्न सकने भएका छन । पुस्तकालयको कितावबाट विपत व्यवस्थापन गर्न, जलवायु परिवर्तनले पार्ने प्रभावको जानकारी प्रदान गर्न, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्न, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई कसरी सुरक्षित तरिकाबाट विदेशजाने र विदेश गएर कसरी काम गर्ने भन्ने ज्ञान समेत लिन सकेका छन ।
विद्यालय र पुस्तकालय एक अर्काका पुरक हुन । विद्यालयले ज्ञानको गोरेटो कोर्ने काम गर्छ भने पुस्तकालयले ज्ञानको राजमार्ग वनाउने काम गर्दछ। विद्यालयमा पुस्तकालयको महत्व छुट्टै हुन्छ । गाउँका केही विद्यालयमा पुस्तकालय स्थापना भए पनि विद्यार्थीहरुले लाभ लिन सकेका छैनन्। धेरै बिद्यालयमा पुस्तकालयमा बस्ने कूर्चिको समेत अभाव छ । राज्यले पुस्तकालय स्थापना र प्रवर्धनका लागि केही गरेकै छैन भन्दा पनि हुन्छ । यसमा विद्यालयका शिक्षकहरुले सक्रिय भूमिका खेल्नुपर्छ। शिक्षकले चाहेमा के गर्न सक्दैनन् र तर उनीहरुमा निक्रियता देखिएको छ । विद्यालयमा आधुनिक उपकरण सहितको पुस्तकालय बनाउन नसकिएला तर थोरै पैसामा पनि पुस्तकालय बनाउन सकिन्छ । अहिलेको केही नयाँ पुस्ताहरुमा पुस्तक अध्ययनमा रुचि बढेको छ । उनीहरुले रोजेर आफुलाई मन पर्ने पुस्तक पढन चाहन्छन् । विद्यालयले बाल साहित्य, बालपत्रिका, सामान्य ज्ञान, विज्ञान, भूगोलसम्बन्धी किताब किन्न कति नै पैसा खर्च हुन्छ र आठ दश हजार रुपैयाका किताब किनेर एउटा दराजमा व्यवस्थित गरी राख्न र सबै बालबालिकालाई पढने मौका दिइयो भने पनि धेरैले पढन पाउछन । बिद्यालयमा ब्यवस्थित पुस्तकालय भयो भने इन्टरनेट, ई–लाइब्रेरी र टेलिसेन्टरको आवश्यकता नै पर्दैन । विद्यालयमा सरकारले बर्सेनी मसलन्द, प्रशासनिक खर्च, एसएसआरपी आदि शीर्षकमा पैसा दिइ रहेको छ । त्यसैबाट थोरै रकम पुस्तकालयका लागि खर्च गर्न सकिन्छ ।
सरकारले विगतमा एक गाउँ एक पुस्तकालय तथा एक विद्यालय एक पुस्तकालयको नीति अघि सारे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हरेक गाउँ र विद्यालयमा पुस्तकालय स्थापना हुने हो भने त्यसले पाठकको अध्ययनप्रतिको भोक मेटनुका साथै पठन संस्कृतिको विकास हुन्छ । सरकारले अघि सारेको नीतिअनुसार हरेक गाउँ र विद्यालयमा पुस्तकालय स्थापना गर्न समय लाग्छ होला ? तर, भएका पुस्तकालयलाई व्यवस्थित गर्दै नियमित सञ्चालन हुने वातावरण बनाउन सकिन्छ । यसका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनुपर्छ । सूचना प्रविधिबाट सतही सूचनामात्र थाहा पाइन्छ, गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय अपरिहार्य छ । सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पठनीय पुस्तक नपाइनु, पठन संस्कृति कम हुँदै जानुले पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन । पुस्तकालयले मानव जीवनमा ज्ञान, सीप अभिवृद्धि गरी सभ्य र शिक्षित समाज निर्माण गर्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नु आवश्यक छ । पुस्तकालयको महत्वलाई तीनै तहका सरकारले खासै प्राथमिकता नदिएको यथार्थ हो । सरकारले पुस्तकालयको महत्व बुझेर यसको विकास र विस्तारलाई उच्च प्राथमिकतामा नराखेसम्म एक दिन मनाइने दिवसले खासै अर्थ राख्दैन ।
पुस्तकालय दिवस केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक लगायत आम नागरिकहरुले आदरपूर्वक सम्झनेदिनका रुपमा स्थापित गराउनु पर्दछ । पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्दछौ । अध्यनले मानिसको जीवन परिबर्तन गर्न सहयोग गर्दछ । अध्यन बिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुँदैन । किताब बिनाको जीबनले ढुंगेयुगको स्मरण गराउँछ ।










