त्रिवेणी पर्यटन र वाल्मीकि आश्रम

के.बि. मसाल

पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो। कुनै स्थानबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ। यसरी भ्रमण गर्दा संस्कृति, रीतिरिवाज, परम्परा, रहन सहन र जीवनशैलीको बारेमा अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नजिकको तीर्थ हेला भने जस्तै, हामी नेपाली आफ्नो धर्म, सस्कृति अनुसार धर्मको लागि भारतको विभिन्न प्रान्तमा भएका धार्मिक स्थलमा पुग्ने गर्दछौ । तर आफ्नो देश र प्रदेश भित्रका ऐतिहासिक मठ मन्दिर, नदी र धामको धार्मिक भ्रमण भने हामी गर्दैनौ । भारतका कयौ धार्मिक तीर्थस्थलहरु नेपाल कै हिमाल र पहाडबाट बगेका नदीहरु गंगा, भागिरथी, यमुना जस्ता नदीको किनारमा रहेका छन । विभिन्न नामका ती तीर्थस्थलमा नेपालीहरु पुग्ने गर्दछन । आफ्नो मनोकांक्षा पुरा भयो भनि आत्मा सन्तुष्टि लिने गर्दछन । तर तिनै नेपालीहरु आफ्नो देश भित्रका धार्मिक स्थलमा भ्रमण अवलोकन गर्ने वानी भने छैन ।

गण्डकी र वागमती प्रदेशको भू-बनोटमा रहेको हिमाल, हिमताल र झरनाहरुले काली, सेती, मादी, मर्स्याङदी, चेपे, बुढिगण्डकी र त्रिशुली मिलेर नारायणी नदी बन्दछ । चितवन र नवलपरासी जिल्लाको भारतीय सिमा त्रिवेणी पुगेपछि नारायणी नदी भारतीय भुमिमा बग्दछ । कालीनदीको उदगमस्थल दामोदर कुण्ड र मुक्तिनाथ, मनाङ जिल्लाको तिलिचो हिमतालबाट सुरु भएको मर्स्याङदी, गोरखा र लमजुङ जिल्लाको सिमामा रहेको दुध पोखरीबाट सुरु भएको चेपे, गोरखा र धादीङ जिल्लाको हिमशिखरबाट उत्पन्न भएको बुढिगंगा र रसुवा जिल्लामा पर्ने गोसाइकुण्डको पानीबाट सुरु हुने त्रिशुली नदीहरुको पानीलाई धार्मिकरुपले पवित्र मानिन्छ । यी नदी नै देवघाट हुँदै नवलपरासी जिल्लाको त्रिवेणी पुग्दछ । त्रिवेणीसम्म पुग्दा नारायणी नदीमा कयौ घाटहरु पर्दछन । धार्मिक आस्थाका कारण सबैघाट महत्वपूर्ण मानिएपनि त्रिवेणी धामलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

चितवन जिल्लाको माडी उपत्यका जसलाई रिउ उपत्यका पनि भन्ने गरिन्छ । यो उपत्यकाको अधिकांश भूभाग निकुञ्जमा पर्दछ । माडी उपत्यकाको उत्तरमा चुरे श्रृंखला र दक्षिणमा सोमेश्वर पर्वत पर्दछ । यही क्षेत्र बाटबाट बग्दै आउने सोना अर्थात स्वर्णभद्रा, पूर्णभद्रा अर्थात तमसा र नारायणी नदीको संगमस्थल हो त्रिवेणी धाम । नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगम स्थलको रुपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि विशेष गरी माघे औंशीमा स्नान गर्ने तीर्थयात्री लाखौको संख्यामा पुग्ने गर्दछन । यो स्थल अहिले मुलुकको नयाँ संरचना अनुसार गण्डकी प्रदेशमा पर्दछ । साविक त्रिवेणी सुस्ताको ६ र ७ अहिले विनयीमा मिलाएर विनयी त्रिवेणी गाउँपालिका भएको छ । यो गाउँपालिका त्रिवेणीदेखि माथीको पुरै महाभारतको बस्ति दाउन्ने देवीको धार्मिकस्थल समेत पर्दछ । भारतीय सिमा भएर गण्डकी प्रदेशले चिनको नाका कोरलासम्म जोडिएको पनि छ ।

पर्यटनका लागि त्रिवेणीमा आदिकवि वाल्मीकि आश्रम, गजेन्द्र र गोहीको युद्धमा भक्तवत्सल नारायणले गजेन्द्रलाई रक्षा गरेको गजेन्द्रमोक्ष धाम लगायतका अनेकौँ महत्वपूर्ण तीर्थास्थल रहेको छ । त्रिवेणी धाम नेपाल र भारतको सीमानामा पर्दछ । त्रिवेणीमा नेपाल र भारत दुबैतर्फका तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । त्रिवेणी धामलाई हरिहर क्षेत्र पनि भनिन्छ । यस स्थानमा स्वरर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगम रहेकाले यस स्थानलाई त्रिवेणी भनिएको हो । यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिने गरिन्छ । त्रिवेणी क्षेत्र त्रिकुट पर्वतको बिच भागमा रहेको छ। यी त्रिकुट पर्वत मध्ये एउटा पर्वत स्वर्णस्वरुप, अर्को पर्वत ताम्रस्वरुप र अर्को लोहृयस्वरुपको मानिन्छ । त्यसैले स्वर्णस्वरुप पर्वतको काखबाट बहने नदीलाई स्वर्णभद्रा, ताम्रस्वरुप पर्वतको काखबाट बहने नदीलाई पूर्णभद्रा वा तमसा र लोहृयस्वरुप पर्वतको काखबाट बहने नदीलाई कृष्ण गण्डकी अथवा नारायणी नदी मानिन्छ ।

त्रिवेणी धामको बारेमा वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि वर्णन गरेको पाइन्छ । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय छन् । यो स्थान प्राकृतिक रुपमा सुन्दर र धार्मिक रुपमा महत्वपूर्ण स्थल मानिन्छ । त्रिवेणीमा स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरु पनि हुने गर्दछ । तीर्थाटनका पर्यटकहरले त्रिवेणी धामको भ्रमण पछि नारायणी नदीको ढुङगाबाट चितवनको क्षेत्रमा प्रवेश गरेपछि राममायण कालिन ग्रन्थसंग मिल्ने वाल्मीकि आश्रममा पुग्न सकिन्छ । तीर्थाटनका लागि वाल्मीकि आश्रम त्रिवेणी क्षेत्रको महत्वपूर्ण स्थल हो । यो आश्रम त्रिवेणीबाट लगभग ४ किलोमिटर पूर्व दक्षिणतर्फ भारतको सीमा नजिकै चितवन जिल्लामा पर्दछ । नेपाली भन्दा बढी भारतीय पर्यटक तीर्थाटनका लागि वाल्मीकि आश्रम पुग्ने गर्दछन । त्रिवेणीबाट वाल्मीकि आश्रम पुग्ने नारायणी नदीमा पुल बनेको भएपनि निकुञ्जका कारण सडक बन्न नसक्दा अहिले पनि भारतीय भूमी भएर जानु पर्ने अथवा नारायणी नदीमा ढुङ्गाबाट तरेपछि जगंलको बाटो भएर वाल्मीकि आश्रम पुग्न सकिन्छ ।

पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थल वाल्मीकि आश्रम मानिन्छ । त्रेतायुगमा भगवान रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले वाल्मीकि आश्रममा ल्याएर छाडेका थिए । सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश गरेको स्थानका रुपमा पनि वाल्मीकि आश्रमलाई मानिन्छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तर ध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्रीहरु तीर्थाटनका पर्यटकहरुले देख्न सक्दछन । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।

वाल्मीकि आश्रममा पौराणिक राममायणसंग जोडिएको मिल्दा जुल्दा प्राचिन अवशेषहरु देख्न पाइन्छ । वाल्मिकी आश्रममा त्रेतायुगको कथा प्रशगं जोडिएको छ । रत्नाकरले ब्रहृमज्ञान प्राप्त गरेर महर्षि वाल्मीकि बनेका थिए । वाल्मिकी क्षेत्रसँग सीता र लव-कुशको प्रसग समेत जोडिएको छ । नारायणी नदीको काखमा चितवन निकुञ्ज भित्र रहेका वन्यजन्तु र ऐतिहासिक धार्मिक महत्वका कारण वाल्मीकि आश्रम आफैंमा रमणीय छ । वाल्मीकि आश्रम आसपासमा धेरै पौराणिक कुरा पाइन्छन् । अमृत कुवा, लवकुशले घोडा बाँधेको खम्बा छ । सीताले प्रयोग गरेको सिलौटो छ । त्यहाँ पुग्ने तीर्थाटनका पर्यटकहरुले सिलौटो पिसेको फोटो समेत खिच्ने गर्दछन । नजिकै वाल्मीकिको समाधिस्थल पनि छ । लवकुशको जन्मस्थल, शिक्षादीक्षा दिएको ठाउँ, उनीहरुले खेलेको स्थान र आकर्ष विष्णु चक्र पनि पर्यटकहरुले रुचिपूर्वक अवलोकन गर्दछन ।

साना सवारी साधन भएका पर्यटकहरुलाई वाल्मीकि आश्रम जान भारतको भूमिबाट जान सजिलो हुन्छ । त्रिवेणी क्षेत्रको दशगजाबाट १० किलो मिटर भारतीय भूमिको यात्रापछि वाल्मीकि आश्रम पुगिन्छ । भारतीय भूमीको बाटो जादा गण्डक ब्यारेजको पुल तर्नु पर्दछ । पुलपारि भारतको बिहार चम्पारन जिल्लाको भैसालोटन पर्दछ । भैसालोटनबाट वाल्मीकि आश्रम १० किलो मिटर उत्तर पूर्वमा पर्दछ । वाल्मिकी आश्रम स्थल भौगोलिक रुपमा चितवनको माडी नगरपालिका-१ मा राष्ट्रिय निकुञ्जभित्र चुरे पहाडको दक्षिण नेपाल-भारत सीमानामा पर्दछ । त्रिवेणी धाम पुग्दा भारतले निर्माण गरेको भैसालोटनको गण्डक नहरको पुल पनि हेर्न सकिन्छ । त्रिवेणीको एकै स्थानबाट धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको विषयमा अध्यन गर्न सकिन्छ । खोज अध्यनमा रुचि राख्ने पर्यटनहरुको लागि त्रिवेणीको यात्रा महत्वपूर्ण मानिन्छ । त्रिवेणीमा धार्मिक गतिविधि मात्र होइन गण्डक वाधले बनाएको तालले त्रिवेणी पुग्ने पर्यटकहरुलाई आनन्द दिलाउँछ । त्रिवेणीमा नारायणी नदीको स्नान, शिवालय मन्दिरको दर्शन र त्यहाँ रहेका अन्य देवी देवताको मन्दिरको दर्शन गर्नुको साथै गण्डक नहरले वनाएको नारायणी नदीको तालमा ढुङ्गाबाट अर्को आनन्द लिन सकिन्छ ।

वाल्मीकि आश्रम बाहेक त्रिवेणी पुग्दा हेर्नपर्ने अर्को तीर्थस्थल हो भारतको भैसालोटन तर्फो जटाशंङकर मन्दिर । जटाशङकर मन्दिरको तीर्थाटन गरेपछि नरदेवी र लवकुश घाट हुँदै नेपाल कै भूमीमा रहेको गढीमाई, शिवपुर, केउलानीमाई, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर हुँदै त्रिवेणीको सुरुमा तीर्थाटन गरेको शिवालयको मन्दिरमा पुगेपछि धार्मिक यात्रा समाप्त हुन्छ । त्रिवेणीधामका यी सबै स्थलहरु भ्रमण गर्दा १५ किलोमिटरको यात्रा गर्नु पर्दछ । त्यसैले यो यात्रालाई पन्चकोशी यात्रा पनि भनिन्छ। त्रिवेणीधाममा अन्य बेला भन्दा माघे संक्रान्तीको वेला यात्रुहरुको भिड हुने गर्दछ । चितवनको देवघाट र पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडीको तीर्थाटन गरेपछि त्रिवेणी जानु पर्दछ भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले माघे संक्रान्तीका बेला त्रिवेणीधाममा जाने तीर्थाटनका पर्यटकहरुको संख्या पनि धेरै हुन्छ।

आजभोली त्रिवेणी धार्मीक दृष्टिकोणले मात्र नभएर बुटवल, भैरहवा र भारतका विभिन्न स्थानबाट पिकनिकमा समेत विद्यार्थी एवं अन्य पेशाका मानिसहरु पुग्ने गर्दछन । पिकनिकमा जाने मानीसहरु त्रिवेणीका ताजा माच्छा अनि अन्य परिकार लिएर ढुङ्गाको सयरमा आनन्द लिदै खान रुचाउँछन । जसले गर्दा त्रिवेणी जाने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । नेपालका हिमनदीहरु मध्य नारायणी नदी ऐतिहासिक धार्मिक ग्रन्थसंग जोडिएको छ । नारायणी नदीमा मिसिने काली, सेती, मर्स्याङदी र त्रिशुली जस्ता नदीहरुको शीरमा धार्मीकस्थल हुनाले पनि यो नदी अन्य नदी भन्दा पवित्र मानिन्छ । कालीनदीको शीर दामोदरकुण्ड, मुक्तिनाथ र त्रिशुली नदीको उदगम स्थल गोर्साईकुण्ड मात्र होइन नारायणी नदीको सहायक नदी जती छन ती नदीहरुमा सयौ स्थानमा पवित्र घाट र शिवालयका मन्दिरहरु छन । देवघाट, गोसाइकुण्ड, मुक्तिनाथ जस्ता धार्मिकस्थल नेपालको मात्र नभएर छिमेकी मुलुकका हिन्दु एवं वौद्ध मार्गीहरुको आस्थाको केन्द्रविन्दु बनेको छ। नारायणी नदीको पानी भारतको भुमिमा पुगेपछि पनि पवित्र गंगाको नामले प्रख्यात छ । जसका कारण त्रिवेणीमा वर्षेनी लाखौको संख्यामा भारतीय नागरिकहरु पनि तीर्थाटनका लागि आउने गर्दछन ।

त्रिवेणी भ्रमण अवलोकन केवल तीर्थाटनका लागि मात्र नभएर राजनैतिक रुपले पनि उत्तिकै महत्व मानिन्छ । राजनैतिक प्रति चासो राख्ने पर्यटकहरुको लागि भारतले निर्माण गरेको गण्डक नहरको बाँधको बारेमा स्थलगत अध्यन गर्न सक्दछन् । २०१६ जेठ १३ गते बिपी कोइरालाको नेतृत्वमा नेपालको इतिहासमै पहिलोपटक जननिर्वाचित सरकार गठन भयो । सरकार बनेको एक महिना भित्रै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपाल भ्रमण गरे । त्यो बेला भारतको प्राथमिकता गण्डकमा बाँध बाँध्न नेपाललाई मनाउनु थियो । तर २०११ सालमा भएको असमान कोसी सम्झौताको नेपालभित्र व्यापक विरोध भएको थियो । त्यसैले गर्दा गण्डक सम्झौता गर्न नेपाल हच्किएको थियो । कोसी सम्झौता मातृकाप्रसाद कोइरालाका पालामा भएको हो । कोसी ब्यारेज उद्घाटन राजा महेन्द्रले गरेका थिए। नेहरुले नेपालमा रहँदा बिपी कोइराला सरकारलाई गण्डक बाँध निर्माणमा मनाउने प्रयास मात्र गरेनन् नेपाल सरकारले नमाने भारतले एकलौटी रुपमा भारतीय भूमिमा बाँध बनाउने चेतावनी र्सार्वजनिक रुपमै दिए ।

त्यति बेला भारतले गण्डक परियोजनालाई आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा राखि सकेको थियो। नेहरुले नेपाल भ्रमण गरेको करिब छ महिनापछि अर्थात २०१६ मंसिर १९ गते नेपाल-भारतबीच असमान र अन्यायपूर्ण गण्डक सम्झौतामा हस्ताक्षर भयो । त्यो बेला बिपी कोइरालाको जननिर्वाचित सरकारलाई सत्ताच्यूत गरेर राजा महेन्द्रले बागडोर सम्हालेका थिए। राजा महेन्द्र र नेहरुले गण्डक बाधको संयुक्त रुपमा उद्घाटन गरे । नेपाल-भारत सिमामा उक्त बाँध बाँधेर भारतको बिहार र उत्तर प्रदेशमा १८ लाख ५० हजार हेक्टर जमिन सिँचाइ गर्न दुइवटा ठूला नहर लगिएको छ । उत्तर प्रदेशमा पानी लैजाने नहर त १९ किलोमिटरसम्म नेपालको भू-भाग हुँदै जान्छ । यसको सट्टा नेपालमा जम्मा ४० हजार हेक्टर जमिन मात्र सिँचाइ हुने गरी दुइवटा साना नहर निर्माण गरिएको छ । नेपालतर्फ जाने नहरको मुख नारायणी नदीको सतहभन्दा केही माथि राखिएको छ । जसले गर्दा नेपालतर्फ जाने नहरमा सुख्खा याममा पानी नै चढ्दैन । गण्डक ब्यारेज भएको भूमि नेपालको भू-भागमा पर्दछ । त्यो जमिन दुइ सय वर्षसम्म भारतले भोगचलन गर्ने उल्लेख छ । गण्डक सम्झौतामा नारायणी र यसका सहायक नदीमा बग्ने पानीमा नेपालको हक कुन्ठित हुने गरी अन्यायपूर्ण प्रावधान पनि राखिएको छ । यो सम्झौतामा गण्डक आयोजनालाई चाहिने पानीको मात्रामा कमि आउने गरी नारायणीका सातै सहायक नदी बूढीगण्डकी, कालीगण्डकी, सेती, त्रिशूली, मर्स्याङदी, दरौंदी, मादीका मुहानसम्मै भविष्यमा कुनै पनि आयोजना निर्माण गर्न नपाइने उल्लेख छ ।

कसरी पुग्ने ?

अहिले त्रिवेणी-अरुङखोला नारायणी नदीको तिरै तिर मोटर मार्ग निर्माणाधिन अवस्थामा छ । यसको दुरी करिव २५ कि.मि. रहेको छ। यो मार्ग पुरा भयो भने नारायणघाट तिरबाट त्रिवेणी जानका लागि छोटो दुरी पर्दछ । वुटवलदेखि ४५ किलो मिटर र नारायणघाटदेखि ७० किलो मिटरको बिचमा पर्ने वर्दघाट बजारबाट त्रिवेणीधाम २८ किलो मिटरको दुरीमा पर्दछ । पश्चिम नेपालका मानिसहरु भैरहवा-परासी भएर पनि त्रिवेणी जान सकिन्छ । भैरहवा-परासी १७ कि.मि र परासी-चौपट्टा १४ कि.मि. यात्रा गरेपछि बर्दघाट त्रिवेणी पुग्ने सडक भेटिन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker