छिम्केश्वरीमा हिउँ खेल्न पुगे आन्तरिक पर्यटक

भञ्ज्याङ न्यूज

तनहुँको छिम्केश्वरी डाँडामा करिब ४३ वर्षपछि हिमपात भएसंगै हिउँ खेल्नका लागि आन्तरिक पर्यटक पुगेका छन् । बिहीबार साँझबाट परेको झरिसंगै शुक्रबार बिहानदेखी छिम्केश्वरी डाँडामा हिमपात भएको थियो । आँवुखैरेनी गाउँपालिकाको वडा नं.५ मा अवस्थित छिम्केश्वरी तनहुँ जिल्लाको अग्लो पहाड हो । समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाइमा फैलिएको यो पहाड प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसावले महत्वपूर्ण र रमणीय छ ।

गोरखाको मनकामना देवीकी दिदीको रुपमा पुजिने छिम्केश्वरी माईको मन्दिर रहेको यस ठाउँ प्राकृतिक हिसावले पनि निकै रमणीय र महत्वपूर्ण रहेको छ । हिउँपरेसंगै अहिले यहाँ युवायुवतीहरु हिउँ खेल्न पुग्न थालेका छन् ।

‘शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म हिउँ परेको थियो’, आँवुखैरेनी-५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले भने, ‘हिउँपरेसंगै अहिले छिम्कालेक निकै आकर्ष देखिएको छ। हिउँले सेताम्य देखिएको । करिब एक हजार भन्दा बढि युवायुवती हिउँखेल्नका लागि छिम्कालेख पुगेका छन् ।’

वडाध्यक्ष गुरुङका अनुसार छिम्केश्वरी डाँडामा करिब ४३ वर्षपछि हिमपात भएको र हिमपात भएको क्षेत्रमा मानवबस्ति छैन । उनले भने, ‘लामो समयपछि हिउँपर्दा छिम्केश्वरी डाँडाको दृष्य निकै मनमोहक देखिएको छ । अहिले हिउँखेल्नका लागि आन्तरिक पर्यटकहरु डाँडामा उक्लन थालेका छन् । छिम्केश्वरी मन्दिर भन्दा करिब तीन सय मिटर तलसम्म हिउँ परेको छ । वि.सं. २०३५ साल पछि शुक्रबार यति ठूलो मात्रमा हिमपात भएको हो।’

‘छिम्केश्वरी मन्दिर र बुढीदेवीमाई मन्दिर आसपास आज पनि हिउँ बाँकी छ, आज बिहानैदेखि पनि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका छन्’, स्थानीय शिक्षक सूर्यमान सिंह गुरुङले भने, ‘छिम्कालेकलाई अहिले हेर्दा यस्तो लाग्छ सेतो गुराँस फुलिरहेछ, मन यसैमा भुलिरहेछ, शनिबार बिहानसम्म हिउँ पर्दा भण्डै एक हजारको हाराहारीमा आन्तरिक पर्यटक छिम्केश्वरीमा हिउँ खेलेर रमाएका छन् ।’

करिब चार दशकपछि परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसारमा सहयोग पुगेको पर्यटन विज्ञ एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङ बताउँछन्। उनले भने, ‘चर्चामा आउन नसकेको छिम्केश्वरी हिउँपरेसंगै अहिले चर्चामा छ । हिउँका कारण पनि यो क्षेत्रको प्रचारप्रसारमा टेवा पुगेको छ । अका दिनमा यसलाई थप व्यवस्थित बनाई धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ढिलाई गर्न हुँदैन् ।’

छिम्केश्वरीमा यस अगाडी वि.सं. २०३५ सालमा हिमपात भएको थियो । त्यसयता यहाँ हल्का हिउँ परेपनि यति ठूलो मात्रमा नपरेको स्थानीय बताउँछन्। यस्तै, तनहुँको भानु नगरपालिका-१३ मा अवस्थित जिल्लाको दोश्रो अग्लो पहाड मिर्लुङकोटमा पनि पहिला हिउँपर्ने गरेपनि अहिले धेरै वर्षेखि हिउँ पर्न छाडेको स्थानीयहरु बताउँछन् ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका साथ नयाँ वर्षर फागुपूर्णिमाको दिन छिम्केश्वरीमा भक्तजनको भीड लाग्ने गरेको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब आधा घण्टा पदयात्रा मार्फ् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीमा भएको हिमपातसंगै अहिले आन्तरिक पर्यटकको आकर्ष गन्तव्यका रुपमा चर्चित छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker