नयाँ वर्षमा मिछुर्लुङमा कौराहा प्रतियोगिता

तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता गरिने भएको छ । नयाँ वर्ष२०८१ को अवसरमा मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए ।
कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि सांगितक प्रस्तुति रहने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ७५ हजार, द्धितीयलाई ५० हजार, तृतीयलाई २५ हजार रुपैयाँ र सान्त्वना हुने दुइ समुहलाई १०/१० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
वि.सं १९८० साल तिर तनहुँको रिसिङबाट सुरु भएको कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।










