हिमालपारिको मनाङ घुम्न जाने हो ?

के.बि. मसाल

पर्यटकहरुले यात्रामा जहिले पनि नयाँ, आफूले नदेखेको नौलो अनुभूति दिने, देख्दै आश्चर्य लाग्ने जस्ता कुराहरुमा आफ्नो गन्तब्य बनाउन चाहन्छन । पर्यटनमा यस्तो भनाइ पनि छ ! हिमाल नदेखेकालाई हिमाल र समुन्द्र नदेखेकालाई समुन्द्र देख्न मनमा कौतुहल हुन्छ । मुस्ताङ र मनाङलाई हिमालपारिको जिल्ला भनिन्छ । मनाङ पुगेपछि पर्यटकहरुलाई छुट्टै अनुभव हुन्छ । कतिपय पर्यटकहरुलाई म हिमालको बीचमा छु भन्ने अनुभूतिसमेत हुन्छ । मनाङको प्राकृतिक सुन्दरताप्रति स्वदेशी मात्र होइन वाहृय पर्यटक समेत आकर्षित हुन्छन । मनाङमा संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल, गुम्बा, माने, ताल तथा चाँदीझैं टल्कने हिमालहरुले सबै पर्यटकको मन तान्छ ।

पर्यटकहरु मनाङमा हिमाली क्षेत्रको मनोरम दृश्य अवलोकन गर्ने उद्देश्यका साथ अन्नपूर्ण पदमार्गको यात्रा गर्दछन । अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला पर्दछन । मनाङको यात्रामा धेरै वाहृय पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने इच्छा गर्दछन । मनाङ पुगेपछि धेरै पर्यटकले थोराङ पार गर्न विशेष रुचि राख्छन । थोराङ पार गरेपछि पर्यटकले प्रकृति देखेर खुशीका आँसु झार्छन । थोराङ भञ्ज्याङ चढन सफल भएकोमा साथीभाइसँग खुशी साटासाट गर्छन । थोराङ पार गर्ने पर्यटकहरु मुस्ताङको मुक्तिनाथ हुँदै म्याग्दी भएर पोखरा निस्कन्छन । मनाङको यात्रामा जाने कतिपय पर्यटकहरु लार्के पार गर्दै मनास्लु क्षेत्रमा पदयात्रा गर्न रुचि राख्दछन । मनास्लु क्षेत्रमा जाने पर्यटकहरु थोचेबाट दुधखोलाको तिरैतिर भिमथाङबाट लार्के पार गरेर गोरखाको सामागाउँ हुँदै आरुघाट निस्कन्छन ।

सुन्दा पनि अचम्म लाग्ने । मनाङको यात्राको क्रममा पर्यटकहरुले पानी छ, माछा छैन र धानखेती पनि नभएको आफ्नै आँखाले देख्दा अचम्म मान्छन । मनाङ जिल्लामा प्रशस्त पानी भएर पनि माछा र धानखेती हुँदैन । मर्स्याङदी नदीको सहायक खोलाहरुमा दूधखोला, नारखोला, फूखोला, थोराङ खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन । तर खोला छ, धेरै हिमाली काखमा ताल पनि छन तर मनाङ जिल्लामा माछा हुँदैन । नदी र खोला किनार र ताल जस्तो समस्थल जमिनमा पनि धानको खेती हुँदैन । मनाङमा अरु जिल्लामा जस्तै सबै जातजातिहरुको पनि बसोवास छैन । केवल गुरुङ र तिब्बती मूलका भोटे जातिहरुको मात्र बसोवास छ । मनाङमा जग्गा जमिन बेजिल्लाका नागरिकहरुलाई बिक्री गरिदैन । उपल्लो मनाङमा पर्यटकहरुले मिथेवा प्रथाको रुचिपूर्वक अध्ययन गर्दछन । मनाङ उपत्यकामा बस्ने मानिसहरुलाई नेस्याङपा पनि भनिन्छ । नेस्याङपाहरुमा अगुवाको रुपमा सामाजिक नेतृत्व गर्न मिथेवा प्रथा रहेको छ । मिथेवालाई गाउँको अगुवाको रुपमा मान्ने गरिन्छ । मिथेवा प्रथाले गाउँमा रीतिथिति बसाल्ने र मिथेवा प्रथाबाट बनेका नियम उल्लंघन गर्नेहरुलाई दण्ड, जरिवाना गरिन्छ ।

लमजुङको सदरमुकाम बेसीशहर मनाङ जाने मार्ग अर्थात अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मानिन्छ । बेसीशहरबाट शुरु हुने यात्रामा लमजुङ जिल्लाका रमणीय ठाउँहरुको अवलोकन गर्न पाइन्छ । मर्स्याङदी नदीको किनारै किनार मनाङको यात्रा हुन्छ । यात्रामा खुदी, भुलभुले, ङादी, बाउनडाँडा, स्याँगे, च्याम्चे जगत गाउँ हुँदै लमजुङ र मनाङको सिमानामा पर्ने मार्दीखोला पुगिन्छ । स्याँगेमा साहसिक पर्यटकहरुले जिपलाइन खेलको मज्जा पनि लिन सक्छन । यात्रामा च्याम्चेको बुड छहराले सबै पर्यटकहरुलाई आकर्षण गर्दछ । त्यसैगरी मोटर मार्गमा पर्ने अक्टोफोर्स झरनाले पनि मनाङ जाने पर्यटकहरु रमाउँछन । सदाबहार छङछङ झरिरहने झरनाले यात्रामा पर्यटकलाई नयाँ अनुभव दिन्छ । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनबाट जाने पर्यटक एक पटक यी झरनामा नहेरी जानै चाहँदैनन । भिर पहरादेखि छङछङ गर्दै झरेको झरनालाई पृष्ठभूमि बनाएर फोटो लिने, सेल्फी खिच्ने र टिकटक बनाउने पर्यटकहरुको भीड लाग्छ । बेसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने च्याम्चेको बुड झरना वर्षातका बेला निकै ठूलो देखिन्छ । झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौसम्म भुल्ने गर्दछन । झरनाको वारि सडक किनारमा च्याम्चे बजारमा होटल छन । पर्यटकहरुलाई होटल व्यवसायीले लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न फुर्सदै हुँदैन ।

मनाङको सीमा शुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । तर मोटर मार्ग भने घेराङ गाउँतिरबाट गएको छ । तालगाउँदेखि खोत्रो हुँदै धारापानी पुगिन्छ । धारापानी पुगेपछि पर्यटकहरुले आफ्नो गन्तब्यको निर्णय लिनुपर्दछ । तपाई मनाङको कुन-कुन ठाउँ र गाउँमा पुग्ने ? त्यही अनुसार यात्रा तय गर्दा सजिलो हुन्छ । तपाई उपल्लो मनाङ जाने हो भने धारापानीबाट बगरछाप, दानाक्यु, तिमाङ, थानचोक हुँदै कोतो पुगिन्छ । तर मोटरमार्ग भने यहाँ पनि मर्स्याङदीको किनार किनारै गएको छ । कोतोबाट तपाइँ यदि नार फू गाउँ हुँदै काङला पास भएर माथिल्लो मनाङ पुग्ने हो भने नारखोला खोलै पैदल यात्रा गर्नुपर्दछ । नार खोलाको बाटो यात्रा गर्दा पर्यटकहरुले फु गुम्बा, काङला पास, जुलुफरेष्ट, चुलुपिक, तिब्बती खम्पाहरुले बसोबास गरेका भवनका अवशेष समेत अवलोकन गर्न सक्छन । तर पर्यटक नार फु नगएर उपल्लो मनाङ जाने हो भने चामेतिर लाग्नर्ुपर्दछ । चामे मनाङ जिल्लाको सदरमुकाम हो । चामेमा प्राकृतिक तातोपानीको कुण्डमा पर्यटकहरुले नुहाउन सक्छन । पछिल्लो समय लमजुङ हिमालको फेदीमा रहेको कजिनसारा लेक पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ।

चामेबाट तलेखु, हुम्डे, भ्राताङ, स्वर्गद्वारी ढुकुर पोखरी हुँदै उपल्लो मनाङको पिसाङ पुगिन्छ । पिसाङबाट पैदयात्रा गर्ने पर्यटकहरुको लागि अपर पिसाङ, घ्यारु, ङावल हुँदै भ्राका निस्कन पनि सकिन्छ । हुम्डेमा विमानस्थल पनि छ । तर सञ्चालनमा भने छैन । पर्यटकहरुका लागि मनाङ गाउँमा मिलारेपा पार्क स्थापना गरी योगा सेन्टरसमेत निर्माण भएको छ । मनाङ भन्दा माथि तिलिचो ताल जाने मार्गतर्फ खाङसारसम्म मात्र सडक मार्ग रहेको छ । बेसीशहर-चामे ६५ कि.मि. र चामे-खाङसार २४ कि.मि. सडक मार्ग पर्दछ । तर पदमार्गमा रुचाउने पर्यटक भने पैदल यात्रा गर्दछन । उपल्लो मनाङमा पर्यटकहरुले खाङसार, घ्यारु, ङावल, टंकी, मनाङ, पिसाङ र भ्राका गाउँको संस्कृति र रीतिरिवाज पनि अध्ययन गर्दछन । मनाङमा पुग्ने पर्यटकहरु तिलिचो ताल हुँदै मुस्ताङको ठिनी गाउँ निस्कने नेसोकुन्ड पास, गंगापूर्ण ताल, आइस लेक, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा केभ पनि उपल्लो मनाङमा पर्यटकहरु पुग्न खोज्दछन ।

तिलिचो ताल, थोराङला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न आजभोलि वाहृय पर्यटक मात्रै नभएर आन्तरिक पर्यटक समेत पुग्ने गर्दछन । तिलिचो ताल मात्र नभई पर्यटकहरुले मनाङमा गंगापूर्ण ताल, द्रोण ताल र आइस लेक अर्थात हिम तालको पनि अवलोकन गर्न सक्छन । हिमालसँग रमाउने पर्यटकहरुले मनाङमा लमजुङ हिमाल, पिसाङ हिमाल, काङला हिमाल, अन्नपूर्ण हिमाल, गंगापूर्ण हिमाल, जुलु हिमाल अर्थात चुलु हिमाल, थोराङला हिमाललगायत पिसाङ पिक समेतको अवलोकन गर्न सक्छन । थोराङला पास गर्दा पर्यटकहरुले थोराङ फेदीमा ब्लु सिप अर्थात जंगली भेडा हेर्न सक्छन । मनाङमा हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन । हिमाल हेरेपछि दंग पर्छन । मनाङको लोभलाग्दो वातावरण, रहनसहन, हिमाली हावाको चिसोपनले पर्यटकहरु प्रकृतिमा हराउँछन । मनाङ पुग्ने पर्यटकहरुले जीवन र प्रकृतिलाई बुझ्छन र र्फकन्छन ।

पर्यटकहरुले उपल्लो मनाङ नपुगेर लार्के पार गरी मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले धारापानीबाट आफ्नो यात्राको बाटो परिवर्तन गर्नुपर्ने हुन्छ । धारापानी गाउँबाट तिल्चे गाउँ, भिमथाङ र गोरखाको लार्के पास जान धारापानीबाट मर्स्याङदी नदी तरेर उत्तरतर्फ लाग्नुपर्दछ । थोंचे गाउँ मनाङको पुरानो सदरमुकाम हो । २०२९ साल सम्ममा मनाङको सदरमुकाम थोचेमा थियो। सदरमुकाम चामेमा सरेपछि पनि तिब्बतको केरोङ, गोरखाको लार्के र भिमथाङ हुँदै नुन आउँदासम्म थोचेमा नुन ब्यापारीको चहलपहल हुने गर्दथ्यो । अन्नपूर्ण पदमार्गदेखि आएको मर्स्याङदी नदी र मनास्लु क्षेत्रबाट आएको दुधखोलाको दोभानमा थोंचे गाउँ पर्दछ । थोचेमाथि ताम्राङ गाउँ पर्दछ । पर्यटकहरुले ताम्राङ गाउँमा पुरानो गुम्बा र नाचे गाउँ र ताम्राङ जोड्ने ड्रोना खोलामा निर्माण भएको नेपालकै अग्लो पुलको समेत अवलोकन गर्न सक्छन ।

थोचेबाट मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले ऐतिहासिक नुन व्यापारिक केन्द्र तिल्चे गाउँ, गोवा गाउँ, भिमथाङ, पोकर ताल र ड्रोना ताल अवलोकन भ्रमण गर्ने रुचि राख्छन । तिब्बतबाट नून खरिद गरी तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्की लगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे गाउँ अहिले पर्यटकीय गाउँ बनेको छ । तिल्चे गाउँका मौलिक पुराना घरहरुमा होमस्टे सञ्चालन भएका छन । तिल्चे गाउँ मनाङको निकै पुरानो बस्ती पनि हो । तिल्चे गाउँ वरपर एक प्रकारको पहेलो फूल शिवकथ्रोन फुलिरहेको हुन्छ । प्रकृतिले सिंगारिदिएको तिल्चे गाउँ आफैंमा सुन्दर पनि छ । तिल्चेमा गाउँमा घले र गुरुङ जातिको बसोबास रहेको छ । तिल्चे गाउँ थोचेबाट एकघण्टाको पैदल यात्रामा पुगिन्छ । तिल्चे गाउँको काख भएर दुधखोला बगेको छ । गाउँमा सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन । पर्यटकहरुलाई गाउँको आमा समुहको घरमा राखेर सत्कार गर्दछन । गाउँमा कृष्णचरित्र, पच्यु, लामा, सेर्का लगायतका परम्परागत नृत्य प्रस्तुत गर्दै पर्यटकहरुलाई खुशी पार्दछन । तिल्चे गाउँबाट एक घण्टाको यात्रामा गोवा गाउँमा पुगिन्छ । तिल्चेबाट गोरखाको लार्के हुँदै तिब्बतको केरोङ नाका जाने पदमार्ग पनि हो । पर्यटकहरु तिल्चेबाट ताँचै हुँदै बगरछाप र ताम्राङ गुम्बा भएर नाचैं अनि धारापानी पनि निस्किन सक्छन।

भीमथाङ मनाङ र गोरखाको उत्तरी सिमानामा पर्दछ । भीमथाङलाई स्थानीय भाषामा प्योमाथाङ पनि भनिन्छ । जसको अर्थ हुन्छ बालुवाको मैदान । ३ हजार ८०० मिटरको उचाइमा रहेको भीमथाङमा तिल्चे बासीको मात्रै जग्गा रहेको छ । मनास्लु हेर्न र पदमार्गबाट हिमालको सुन्दरतामा रमाउने पर्यटक भीमथाङ पुगेपछि यात्रा सफल भएको सम्झन्छन । भीमथाङ हिमालले घेरिएको सानो सुन्दर उपत्यका हो । भीमथाङबाट जता हेरे पनि हिमाल देखिन्छ । भीमथाङले पर्यटकहरुको मनै लोभ्याउने गर्दछ । चारैतर्फ चाँदीजस्ता हिमाल बीचमा बसेको भीमथाङको वस्ती, प्रकृतिप्रेमी पर्यटकहरु रमाउँछन । पर्यटकहरु मनास्लु पदयात्रामा गोरखाको आरुघाट र मनाङको थोचेबाट तिल्चे हुँदै पनि जाने गर्दछन । पर्यटकहरु भीमथाङमा २-३ दिन बस्ने गर्दछन । यो समयमा पर्यटकरु पोँकर ताल, हरिया खर्क, दुधखोला लगायतको दृश्यावलोकर्न गर्दछन । प्राकृतिक छटाले भरिपूर्ण हिमालको काखमा रहेको भीमथाङमा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृंखलाहरुले पर्यटकहरु प्रकृतिसँग रमाउँछन ।

भीमथाङबाट डेढ घण्टाको पैदल यात्रामा पोंकर ताल पुग्न सकिन्छ । नेपालको नक्शा जस्तै देखिन पोंकर ताल ४ हजार १०० मिटरको उचाइमा पर्दछ । तालको उत्तरमा चियो र पश्चिममा हिमलुङ हिमाल रहेको छ । तालबाट मनास्लु हिमाल र्छलङ्ग देख्न सकिन्छ । पर्यटकहरु वरिपरिको चक्रीय पथमा हिडेर तालको सौन्दर्यसँग खुशी साटछन । पोकर ताल वुक्यानी फूलको बगैंचा पनि हो । भैरव पाती सुनपाती, बुकी धुपीका पात र फूलले पोंकर तालको सौन्दर्य शब्दमा वर्णन गर्न सकिन्न । मनास्लु पदमार्गमा भारत, जापान, बेलायत, इजरायल, चाइनिज, अमेरिकी पर्यटकहरु बढी पुग्ने गर्दछन । पोंकर तालमा फोटो खिच्न पाउँदा पर्यटक निकै खुशी हुने गर्दछन । तालको दृश्यावलोकनका लागि बिहान सूर्योदयको प्रकाश सिधैं तालमा पर्ने हुनाले प्रायः बिहानको समयमा पर्यटकहरु पुग्ने गर्दछन । तालको पानीलाई चिसो हावाले हल्लाइदिँदा पर्यटकहरु मोहित हुने गर्दछन । तालबाट मनास्लु, लार्के पिक, पुर्ति हिमाल, चियो, तिल्चे पिक, जरक्याल, हिमलुङ, रत्नचुली लगायतका आधा दर्जन हिमालका चुचुराहरु पर्यटकले देख्न सक्छन । ताल जानको लागि हिँडन नसक्ने पर्यटकहरुले भीमथाङबाट घोडा पनि चढन पाउँछन ।

मनाङ जाने बाटो

मनाङ गोरखाको सामागाउँ हुँदै लार्केबाट थोचे हुँदै पनि जान सकिन्छ । तर यो बाटो मनाङ पुग्नको लागि लामो मानिन्छ । कास्कीको सिक्लेस गाउँको जंगल हुँदै तिमाङ लेक हुँदै पनि मनाङ जान सकिन्छ । यो बाटो हिउँ परेको बेलामा जान सकिन्न । मुक्तिनाथ हुँदै थोराङपास भएर पनि मनाङ पुग्न सकिन्छ । यो मार्ग पनि वर्षा याममा मात्र यात्रा गर्न सकिन्छ । हिउ परेको बेलामा बाटो बन्द हुन्छ । तिव्बतबाट मनाङ प्रवेश गर्ने नार-फूबाट नाका रहेको छ । यो नाका चलनचल्तीको छैन । हिउ परेको बेलामा बन्द हुन्छ । सबैभन्दा सुगम बाटो भनेको लमजुङको बेशीसहर हुँदै मर्स्याङदीको तिरै-तिरको बाटो हो । लमजुङ-मनाङ मोटर मार्ग पनि मर्स्याङदीको तिरैतिरबाट बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker