हिमालपारिको मनाङ घुम्न जाने हो ?
के.बि. मसाल

पर्यटकहरुले यात्रामा जहिले पनि नयाँ, आफूले नदेखेको नौलो अनुभूति दिने, देख्दै आश्चर्य लाग्ने जस्ता कुराहरुमा आफ्नो गन्तब्य बनाउन चाहन्छन । पर्यटनमा यस्तो भनाइ पनि छ ! हिमाल नदेखेकालाई हिमाल र समुन्द्र नदेखेकालाई समुन्द्र देख्न मनमा कौतुहल हुन्छ । मुस्ताङ र मनाङलाई हिमालपारिको जिल्ला भनिन्छ । मनाङ पुगेपछि पर्यटकहरुलाई छुट्टै अनुभव हुन्छ । कतिपय पर्यटकहरुलाई म हिमालको बीचमा छु भन्ने अनुभूतिसमेत हुन्छ । मनाङको प्राकृतिक सुन्दरताप्रति स्वदेशी मात्र होइन वाहृय पर्यटक समेत आकर्षित हुन्छन । मनाङमा संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल, गुम्बा, माने, ताल तथा चाँदीझैं टल्कने हिमालहरुले सबै पर्यटकको मन तान्छ ।
पर्यटकहरु मनाङमा हिमाली क्षेत्रको मनोरम दृश्य अवलोकन गर्ने उद्देश्यका साथ अन्नपूर्ण पदमार्गको यात्रा गर्दछन । अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला पर्दछन । मनाङको यात्रामा धेरै वाहृय पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने इच्छा गर्दछन । मनाङ पुगेपछि धेरै पर्यटकले थोराङ पार गर्न विशेष रुचि राख्छन । थोराङ पार गरेपछि पर्यटकले प्रकृति देखेर खुशीका आँसु झार्छन । थोराङ भञ्ज्याङ चढन सफल भएकोमा साथीभाइसँग खुशी साटासाट गर्छन । थोराङ पार गर्ने पर्यटकहरु मुस्ताङको मुक्तिनाथ हुँदै म्याग्दी भएर पोखरा निस्कन्छन । मनाङको यात्रामा जाने कतिपय पर्यटकहरु लार्के पार गर्दै मनास्लु क्षेत्रमा पदयात्रा गर्न रुचि राख्दछन । मनास्लु क्षेत्रमा जाने पर्यटकहरु थोचेबाट दुधखोलाको तिरैतिर भिमथाङबाट लार्के पार गरेर गोरखाको सामागाउँ हुँदै आरुघाट निस्कन्छन ।
सुन्दा पनि अचम्म लाग्ने । मनाङको यात्राको क्रममा पर्यटकहरुले पानी छ, माछा छैन र धानखेती पनि नभएको आफ्नै आँखाले देख्दा अचम्म मान्छन । मनाङ जिल्लामा प्रशस्त पानी भएर पनि माछा र धानखेती हुँदैन । मर्स्याङदी नदीको सहायक खोलाहरुमा दूधखोला, नारखोला, फूखोला, थोराङ खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन । तर खोला छ, धेरै हिमाली काखमा ताल पनि छन तर मनाङ जिल्लामा माछा हुँदैन । नदी र खोला किनार र ताल जस्तो समस्थल जमिनमा पनि धानको खेती हुँदैन । मनाङमा अरु जिल्लामा जस्तै सबै जातजातिहरुको पनि बसोवास छैन । केवल गुरुङ र तिब्बती मूलका भोटे जातिहरुको मात्र बसोवास छ । मनाङमा जग्गा जमिन बेजिल्लाका नागरिकहरुलाई बिक्री गरिदैन । उपल्लो मनाङमा पर्यटकहरुले मिथेवा प्रथाको रुचिपूर्वक अध्ययन गर्दछन । मनाङ उपत्यकामा बस्ने मानिसहरुलाई नेस्याङपा पनि भनिन्छ । नेस्याङपाहरुमा अगुवाको रुपमा सामाजिक नेतृत्व गर्न मिथेवा प्रथा रहेको छ । मिथेवालाई गाउँको अगुवाको रुपमा मान्ने गरिन्छ । मिथेवा प्रथाले गाउँमा रीतिथिति बसाल्ने र मिथेवा प्रथाबाट बनेका नियम उल्लंघन गर्नेहरुलाई दण्ड, जरिवाना गरिन्छ ।
लमजुङको सदरमुकाम बेसीशहर मनाङ जाने मार्ग अर्थात अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मानिन्छ । बेसीशहरबाट शुरु हुने यात्रामा लमजुङ जिल्लाका रमणीय ठाउँहरुको अवलोकन गर्न पाइन्छ । मर्स्याङदी नदीको किनारै किनार मनाङको यात्रा हुन्छ । यात्रामा खुदी, भुलभुले, ङादी, बाउनडाँडा, स्याँगे, च्याम्चे जगत गाउँ हुँदै लमजुङ र मनाङको सिमानामा पर्ने मार्दीखोला पुगिन्छ । स्याँगेमा साहसिक पर्यटकहरुले जिपलाइन खेलको मज्जा पनि लिन सक्छन । यात्रामा च्याम्चेको बुड छहराले सबै पर्यटकहरुलाई आकर्षण गर्दछ । त्यसैगरी मोटर मार्गमा पर्ने अक्टोफोर्स झरनाले पनि मनाङ जाने पर्यटकहरु रमाउँछन । सदाबहार छङछङ झरिरहने झरनाले यात्रामा पर्यटकलाई नयाँ अनुभव दिन्छ । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनबाट जाने पर्यटक एक पटक यी झरनामा नहेरी जानै चाहँदैनन । भिर पहरादेखि छङछङ गर्दै झरेको झरनालाई पृष्ठभूमि बनाएर फोटो लिने, सेल्फी खिच्ने र टिकटक बनाउने पर्यटकहरुको भीड लाग्छ । बेसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने च्याम्चेको बुड झरना वर्षातका बेला निकै ठूलो देखिन्छ । झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौसम्म भुल्ने गर्दछन । झरनाको वारि सडक किनारमा च्याम्चे बजारमा होटल छन । पर्यटकहरुलाई होटल व्यवसायीले लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न फुर्सदै हुँदैन ।
मनाङको सीमा शुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । तर मोटर मार्ग भने घेराङ गाउँतिरबाट गएको छ । तालगाउँदेखि खोत्रो हुँदै धारापानी पुगिन्छ । धारापानी पुगेपछि पर्यटकहरुले आफ्नो गन्तब्यको निर्णय लिनुपर्दछ । तपाई मनाङको कुन-कुन ठाउँ र गाउँमा पुग्ने ? त्यही अनुसार यात्रा तय गर्दा सजिलो हुन्छ । तपाई उपल्लो मनाङ जाने हो भने धारापानीबाट बगरछाप, दानाक्यु, तिमाङ, थानचोक हुँदै कोतो पुगिन्छ । तर मोटरमार्ग भने यहाँ पनि मर्स्याङदीको किनार किनारै गएको छ । कोतोबाट तपाइँ यदि नार फू गाउँ हुँदै काङला पास भएर माथिल्लो मनाङ पुग्ने हो भने नारखोला खोलै पैदल यात्रा गर्नुपर्दछ । नार खोलाको बाटो यात्रा गर्दा पर्यटकहरुले फु गुम्बा, काङला पास, जुलुफरेष्ट, चुलुपिक, तिब्बती खम्पाहरुले बसोबास गरेका भवनका अवशेष समेत अवलोकन गर्न सक्छन । तर पर्यटक नार फु नगएर उपल्लो मनाङ जाने हो भने चामेतिर लाग्नर्ुपर्दछ । चामे मनाङ जिल्लाको सदरमुकाम हो । चामेमा प्राकृतिक तातोपानीको कुण्डमा पर्यटकहरुले नुहाउन सक्छन । पछिल्लो समय लमजुङ हिमालको फेदीमा रहेको कजिनसारा लेक पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ।
चामेबाट तलेखु, हुम्डे, भ्राताङ, स्वर्गद्वारी ढुकुर पोखरी हुँदै उपल्लो मनाङको पिसाङ पुगिन्छ । पिसाङबाट पैदयात्रा गर्ने पर्यटकहरुको लागि अपर पिसाङ, घ्यारु, ङावल हुँदै भ्राका निस्कन पनि सकिन्छ । हुम्डेमा विमानस्थल पनि छ । तर सञ्चालनमा भने छैन । पर्यटकहरुका लागि मनाङ गाउँमा मिलारेपा पार्क स्थापना गरी योगा सेन्टरसमेत निर्माण भएको छ । मनाङ भन्दा माथि तिलिचो ताल जाने मार्गतर्फ खाङसारसम्म मात्र सडक मार्ग रहेको छ । बेसीशहर-चामे ६५ कि.मि. र चामे-खाङसार २४ कि.मि. सडक मार्ग पर्दछ । तर पदमार्गमा रुचाउने पर्यटक भने पैदल यात्रा गर्दछन । उपल्लो मनाङमा पर्यटकहरुले खाङसार, घ्यारु, ङावल, टंकी, मनाङ, पिसाङ र भ्राका गाउँको संस्कृति र रीतिरिवाज पनि अध्ययन गर्दछन । मनाङमा पुग्ने पर्यटकहरु तिलिचो ताल हुँदै मुस्ताङको ठिनी गाउँ निस्कने नेसोकुन्ड पास, गंगापूर्ण ताल, आइस लेक, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा केभ पनि उपल्लो मनाङमा पर्यटकहरु पुग्न खोज्दछन ।
तिलिचो ताल, थोराङला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न आजभोलि वाहृय पर्यटक मात्रै नभएर आन्तरिक पर्यटक समेत पुग्ने गर्दछन । तिलिचो ताल मात्र नभई पर्यटकहरुले मनाङमा गंगापूर्ण ताल, द्रोण ताल र आइस लेक अर्थात हिम तालको पनि अवलोकन गर्न सक्छन । हिमालसँग रमाउने पर्यटकहरुले मनाङमा लमजुङ हिमाल, पिसाङ हिमाल, काङला हिमाल, अन्नपूर्ण हिमाल, गंगापूर्ण हिमाल, जुलु हिमाल अर्थात चुलु हिमाल, थोराङला हिमाललगायत पिसाङ पिक समेतको अवलोकन गर्न सक्छन । थोराङला पास गर्दा पर्यटकहरुले थोराङ फेदीमा ब्लु सिप अर्थात जंगली भेडा हेर्न सक्छन । मनाङमा हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन । हिमाल हेरेपछि दंग पर्छन । मनाङको लोभलाग्दो वातावरण, रहनसहन, हिमाली हावाको चिसोपनले पर्यटकहरु प्रकृतिमा हराउँछन । मनाङ पुग्ने पर्यटकहरुले जीवन र प्रकृतिलाई बुझ्छन र र्फकन्छन ।
पर्यटकहरुले उपल्लो मनाङ नपुगेर लार्के पार गरी मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले धारापानीबाट आफ्नो यात्राको बाटो परिवर्तन गर्नुपर्ने हुन्छ । धारापानी गाउँबाट तिल्चे गाउँ, भिमथाङ र गोरखाको लार्के पास जान धारापानीबाट मर्स्याङदी नदी तरेर उत्तरतर्फ लाग्नुपर्दछ । थोंचे गाउँ मनाङको पुरानो सदरमुकाम हो । २०२९ साल सम्ममा मनाङको सदरमुकाम थोचेमा थियो। सदरमुकाम चामेमा सरेपछि पनि तिब्बतको केरोङ, गोरखाको लार्के र भिमथाङ हुँदै नुन आउँदासम्म थोचेमा नुन ब्यापारीको चहलपहल हुने गर्दथ्यो । अन्नपूर्ण पदमार्गदेखि आएको मर्स्याङदी नदी र मनास्लु क्षेत्रबाट आएको दुधखोलाको दोभानमा थोंचे गाउँ पर्दछ । थोचेमाथि ताम्राङ गाउँ पर्दछ । पर्यटकहरुले ताम्राङ गाउँमा पुरानो गुम्बा र नाचे गाउँ र ताम्राङ जोड्ने ड्रोना खोलामा निर्माण भएको नेपालकै अग्लो पुलको समेत अवलोकन गर्न सक्छन ।
थोचेबाट मनास्लु पदयात्रा गर्ने पर्यटकहरुले ऐतिहासिक नुन व्यापारिक केन्द्र तिल्चे गाउँ, गोवा गाउँ, भिमथाङ, पोकर ताल र ड्रोना ताल अवलोकन भ्रमण गर्ने रुचि राख्छन । तिब्बतबाट नून खरिद गरी तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्की लगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे गाउँ अहिले पर्यटकीय गाउँ बनेको छ । तिल्चे गाउँका मौलिक पुराना घरहरुमा होमस्टे सञ्चालन भएका छन । तिल्चे गाउँ मनाङको निकै पुरानो बस्ती पनि हो । तिल्चे गाउँ वरपर एक प्रकारको पहेलो फूल शिवकथ्रोन फुलिरहेको हुन्छ । प्रकृतिले सिंगारिदिएको तिल्चे गाउँ आफैंमा सुन्दर पनि छ । तिल्चेमा गाउँमा घले र गुरुङ जातिको बसोबास रहेको छ । तिल्चे गाउँ थोचेबाट एकघण्टाको पैदल यात्रामा पुगिन्छ । तिल्चे गाउँको काख भएर दुधखोला बगेको छ । गाउँमा सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन । पर्यटकहरुलाई गाउँको आमा समुहको घरमा राखेर सत्कार गर्दछन । गाउँमा कृष्णचरित्र, पच्यु, लामा, सेर्का लगायतका परम्परागत नृत्य प्रस्तुत गर्दै पर्यटकहरुलाई खुशी पार्दछन । तिल्चे गाउँबाट एक घण्टाको यात्रामा गोवा गाउँमा पुगिन्छ । तिल्चेबाट गोरखाको लार्के हुँदै तिब्बतको केरोङ नाका जाने पदमार्ग पनि हो । पर्यटकहरु तिल्चेबाट ताँचै हुँदै बगरछाप र ताम्राङ गुम्बा भएर नाचैं अनि धारापानी पनि निस्किन सक्छन।
भीमथाङ मनाङ र गोरखाको उत्तरी सिमानामा पर्दछ । भीमथाङलाई स्थानीय भाषामा प्योमाथाङ पनि भनिन्छ । जसको अर्थ हुन्छ बालुवाको मैदान । ३ हजार ८०० मिटरको उचाइमा रहेको भीमथाङमा तिल्चे बासीको मात्रै जग्गा रहेको छ । मनास्लु हेर्न र पदमार्गबाट हिमालको सुन्दरतामा रमाउने पर्यटक भीमथाङ पुगेपछि यात्रा सफल भएको सम्झन्छन । भीमथाङ हिमालले घेरिएको सानो सुन्दर उपत्यका हो । भीमथाङबाट जता हेरे पनि हिमाल देखिन्छ । भीमथाङले पर्यटकहरुको मनै लोभ्याउने गर्दछ । चारैतर्फ चाँदीजस्ता हिमाल बीचमा बसेको भीमथाङको वस्ती, प्रकृतिप्रेमी पर्यटकहरु रमाउँछन । पर्यटकहरु मनास्लु पदयात्रामा गोरखाको आरुघाट र मनाङको थोचेबाट तिल्चे हुँदै पनि जाने गर्दछन । पर्यटकहरु भीमथाङमा २-३ दिन बस्ने गर्दछन । यो समयमा पर्यटकरु पोँकर ताल, हरिया खर्क, दुधखोला लगायतको दृश्यावलोकर्न गर्दछन । प्राकृतिक छटाले भरिपूर्ण हिमालको काखमा रहेको भीमथाङमा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृंखलाहरुले पर्यटकहरु प्रकृतिसँग रमाउँछन ।
भीमथाङबाट डेढ घण्टाको पैदल यात्रामा पोंकर ताल पुग्न सकिन्छ । नेपालको नक्शा जस्तै देखिन पोंकर ताल ४ हजार १०० मिटरको उचाइमा पर्दछ । तालको उत्तरमा चियो र पश्चिममा हिमलुङ हिमाल रहेको छ । तालबाट मनास्लु हिमाल र्छलङ्ग देख्न सकिन्छ । पर्यटकहरु वरिपरिको चक्रीय पथमा हिडेर तालको सौन्दर्यसँग खुशी साटछन । पोकर ताल वुक्यानी फूलको बगैंचा पनि हो । भैरव पाती सुनपाती, बुकी धुपीका पात र फूलले पोंकर तालको सौन्दर्य शब्दमा वर्णन गर्न सकिन्न । मनास्लु पदमार्गमा भारत, जापान, बेलायत, इजरायल, चाइनिज, अमेरिकी पर्यटकहरु बढी पुग्ने गर्दछन । पोंकर तालमा फोटो खिच्न पाउँदा पर्यटक निकै खुशी हुने गर्दछन । तालको दृश्यावलोकनका लागि बिहान सूर्योदयको प्रकाश सिधैं तालमा पर्ने हुनाले प्रायः बिहानको समयमा पर्यटकहरु पुग्ने गर्दछन । तालको पानीलाई चिसो हावाले हल्लाइदिँदा पर्यटकहरु मोहित हुने गर्दछन । तालबाट मनास्लु, लार्के पिक, पुर्ति हिमाल, चियो, तिल्चे पिक, जरक्याल, हिमलुङ, रत्नचुली लगायतका आधा दर्जन हिमालका चुचुराहरु पर्यटकले देख्न सक्छन । ताल जानको लागि हिँडन नसक्ने पर्यटकहरुले भीमथाङबाट घोडा पनि चढन पाउँछन ।
मनाङ जाने बाटो
मनाङ गोरखाको सामागाउँ हुँदै लार्केबाट थोचे हुँदै पनि जान सकिन्छ । तर यो बाटो मनाङ पुग्नको लागि लामो मानिन्छ । कास्कीको सिक्लेस गाउँको जंगल हुँदै तिमाङ लेक हुँदै पनि मनाङ जान सकिन्छ । यो बाटो हिउँ परेको बेलामा जान सकिन्न । मुक्तिनाथ हुँदै थोराङपास भएर पनि मनाङ पुग्न सकिन्छ । यो मार्ग पनि वर्षा याममा मात्र यात्रा गर्न सकिन्छ । हिउ परेको बेलामा बाटो बन्द हुन्छ । तिव्बतबाट मनाङ प्रवेश गर्ने नार-फूबाट नाका रहेको छ । यो नाका चलनचल्तीको छैन । हिउ परेको बेलामा बन्द हुन्छ । सबैभन्दा सुगम बाटो भनेको लमजुङको बेशीसहर हुँदै मर्स्याङदीको तिरै-तिरको बाटो हो । लमजुङ-मनाङ मोटर मार्ग पनि मर्स्याङदीको तिरैतिरबाट बनेको छ ।










