तनहुँका सरकारी कार्यालयहरुको वार्षिक प्रगति समिक्षा

दमौली । तनहुँका स्थानीय तह र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रम सुरु गरिएको छ। जिल्ला समन्वय समिति तनहुँले आर्थिक वर्ष २०८०/०८१ मा आइतबार जिल्लास्थित सबै पालिका, कार्यालय र निकायबाट सञ्चालित विकास निर्माण सम्बन्धी वार्षिक प्रगति समिक्षा कार्यक्रम आयोजना गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ को उपदफा १ को (ञ)मा जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुबाट सम्पादन भएका कार्यक्रमहरुको वार्षिक समिक्षा गर्नुपर्ने व्यवस्था भएबमोजिम उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले जनप्रतिनिधि र कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताले सहज रुपमा सेवा पाउनुपर्ने बताउँदै भण्डारीले कुनैपनि बहानामा सेवामा ढिलासुस्ती नगर्न आग्रह गरे ।
‘जनतालाई सन्तुष्टि हुने गरी सेवा प्रवाहमा ढिलाइ गर्नुहुँदैन । हाम्रो काम र कर्तव्य के हो भन्ने कुरा बुझेर जनताप्रति समर्पित हुनुपर्छ’, उनले भने, ‘प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्न सबै एकजुट हुुनुपर्नेमा जोड दिँदै तीन तहको सरकारबीच हातेमालो आवश्यक रहेको छ ।’
यस्तै, कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने बताए । कर्मचारी स्थायी सरकार भएकाले विकास निर्माणमा कर्मचारीको इमानदार हुनुपर्नेमा उनले जोड दिए ।
जिल्लास्थित सबै कार्यालयले एक वर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक र समस्याबारे छलफल गर्न समन्वय समितिले वार्षिक प्रगति समिक्षा कार्यक्रम आयोजना गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशका सांसदहरु, १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरु, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु सहभागी रहेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लास्थित सबै स्थानीय तह, प्रदेश सरकार मातहतका कार्यालय, संघीय सरकार मातहतका कार्यालयले एक वर्षमा गरेका प्रगति सार्वजनिक गरिने भएको छ ।










