राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह

दमौली : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताउनुभयो ।

छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महसुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वर्षमा दुई/तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महसुस भएको छ । राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”

वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नुरहेको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ ।”

हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ । मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत शिक्षाले मात्रै समृद्धि सम्भव हुँदैन । शिक्षालाई रोजगारसँग जोड्नुपर्छ ।”

मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

भानु जन्मस्थल निरीक्षण

उपप्रधान सिंहले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदीरम्घाको निरीक्षण गर्नुभएको छ । मन्त्री सिंहले भानु नगरपालिका–४ चुँदीरम्घास्थित भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय भवन निरीक्षण गर्नुका साथै भानुभक्त आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो ।

मन्त्री सिंहले भानुजन्मस्थलमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वनगरप्रमुख उदयराज गौली, भानु जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

निरीक्षणपश्चात् मन्त्री सिंहले भानु जन्मस्थललाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्ने र त्यसमा सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्तको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker